सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी

शुक्रबार, ०५ वैशाख २०८२, १० : १७
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किङ्सको सामना गर्दै छ । खेल बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार, राति १९:४५ बजे सुरु हुनेछ । 

आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो सातौँ खेल खेल्न लागेका हुन् । यो सिजन यी दुई टोली पहिलो पटक आपसमा भिड्न लागेका हुन् । यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् । 

रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बेंगलुरुले हालसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । 

बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो । 

पञ्जाब कङ्सले पनि हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलसम्म पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।

दुवै टोली पाँचौँ जितको खोजीमा

आईपीएलको जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स दुवै टोली पाँचौँ जितको खोजीमा रहेका छन् । यी दुवै टोलीले हालसम्म ६–६ खेल खेलिसकेका छन् । दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा स्थान बनाउन सङ्घर्षरत देखिन्छन् ।

rcb

बेंगलुरुले यसअघि खेलिएको ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । बेंगलुरु आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । पञ्जाबले पनि अघिल्ला ६ मध्ये चार खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ । पञ्जाब आठ अंकसहित चौथो स्थानमा छ ।

हेड टु हेडमा एक खेलको अन्तर

रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबिच हालसम्म आईपीएलमा कुल ३३ खेल खेलिएको छ । त्यसमध्ये १७ खेलमा पञ्जाबले बेंगलुरुलाई पराजित गरेको छ । १६ खेलमा भने बेंगलुरुले पञ्जाबलाई हराएको छ । 

pbks

बेंगलुरुको घरेलु मैदानमा हालसम्म यी दुई टोलीबिच कुल १३ खेल खेलिएको छ । त्यसमध्ये आठ खेलमा बेंगलुरु र पाँच खेलमा पञ्जाब विजयी भएका छन् । अघिल्लो सिजनको पनि यी दुई टोलीबिच एम. चिन्नास्वामी स्टेडियममा भिडन्त भएको थियो । 

उक्त खेलमा बेंगलुरु चार विकेटले विजयी भएको थियो । यो स्टेडियममा पञ्जाबले पछिल्ला आठ खेलमा जित हात पार्न सकेको छैन । पञ्जाबले यो स्टेडियममा पछिल्लो पटक सन् २०१७ मा जित हात पारेको थियो ।

बेंगलुरुको सर्वाधिक रन विराटको नाममा

cirat

जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले टोलीका लागि ६ खेलमा कुल दुई सय ४८ रन बनाइसकेका छन् । उनले मुम्बई इन्डियन्सविरुद्ध ६७ रन बनाएका थिए ।

त्यसअघि विराटले कोलकाता नाइट राइडर्सविरुद्ध पनि ५९ रन बनाएका थिए । राजस्थान रोयल्सविरुद्ध पनि उनले ६२ रनको पाली खेलेका थिए । बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले ६ खेलमा नौ विकेट लिइसकेका छन् । 

लयमा छन् पञ्जाबमा कप्तान श्रेयष

आईपीएलको जारी संस्करणमा पञ्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान श्रेयष ऐयर हुन् । कप्तान श्रेयषले टोलीका लागि हालसम्म ६ खेलमा कुल दुई सय ५० रन बनाएका छन् । उनले गुजरात टाइटन्सविरुद्ध ४२ बलमा अविजित ९७ रन बनाएका थिए ।

sresh

श्रेयसले हालसम्म तीनवटा अर्धशतक पनि बनाइसकेका छन् । यो सूचिमा दोस्रो स्थानमा रहेका प्रियांश आर्याले ६ खेलमा कुल दुई सय १६ रन बनाएका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने अर्शदीप सिंह हुन् । उनले ६ खेलमा कुल आठ विकेट लिएका छन् । 

ब्याट्सम्यानलाई साथ दिन पिच

पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच शुक्रबारको खेल हुने एम. चिन्नास्वामी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । त्यसैले यो स्टेडियममा ब्याट्सम्यानले उल्लेख्य सँख्यामा रन बनाउने गरेका छन् । 

यो स्टेडियमको पिचले स्पिन बलरलाई पनि केही हदसम्म सहयोग पु¥याउने गरेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९७ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ४१ खेलमा जित हात पारेका छन् । यो स्टेडियममा जवाफी ब्याटिङ गर्ने टोलीले ५२ खेल जितेका छन् । 

चार खेल भने अनिर्णित रुपमा सकिएको छ । त्यसैले टस जित्ने टोलीले पहिले बलिङको निर्णय लिन सक्छन् । यो स्टेडियममा बनेको उच्च स्कोर तीन विकेट गुमाएर दुई सय ८७ रन हो । यो स्कोर अघिल्लो सिजन सनराइजर्स हैदराबादले बेंगलुरुविरुद्ध बनाएको थियो । 

वर्षाले खेल बिथोल्ने सम्भावना

रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्सबिच खेल हुने दिन शुक्रबार बेंगलुरुमा वर्षाको सम्भावना रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर बेंगलुरुको आकाश बादलले ढाकेको हुनेछ । दिउँसोतिर केही समय घाम लाग्न सक्छ । तापक्रम २२ देखि ३२ डिग्री सेल्सियसको बिचमा रहनेछ । 

सम्भावित टोली 

पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रियांश आर्या, प्रभसिमरन सिंह (विकेटकिपर), नेहल बाधेरा, शशांक सिंह, ग्लेन म्याक्सवेल, जस इङ्लिस, जेभियर बार्टलेट, मार्को यान्सन, युजवेन्द्र चहल, अर्शदीप सिंह र हरप्रित बरार । 

रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पाडिकल, लियाम लिभिङ्स्टोन, जितेश शर्मा (विकेटकिपर), क्रुणाल पाण्ड्या, टिम डेभिड, भुवनेश्वर कुमार, जस हेजलउड, यश दयाल र सुयश शर्मा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप