शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
बलरको गल्ती नभए पनि ‘नो बल’

आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई यसकारण फेरि ब्याटिङ गर्न बोलाइयो

शुक्रबार, ०५ वैशाख २०८२, १० : ४५
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच खेल भएको थियो । उक्त खेलमा मुम्बईले हैदराबादलाई चार विकेटले पराजित गर्‍यो ।

मुम्बईको घरेलु मैदान वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा एउटा रमाइलो घटना भएको थियो । उक्त घटनाले समर्थकहरू पनि आश्चर्यमा परेका थिए । त्यो घटनापछि सनराइजर्स हैदराबादको खुसी क्षणभरमै निराशामा बदलिन पुग्यो । 

आउट भएर पेभेलियन फर्कँदै गरेका मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान रायन रिकल्टनलाई ब्याटिङ गर्न पुनः मैदानमा बोलाइएपछि धेरै समर्थक आश्चर्यमा परेका थिए । जबकि मैदानमा रहेका अम्पायरले समेत सुरुमा उनलाई आउट नै दिएका थिए । 

रिकल्टन आउट भएपछि हैदराबादका कप्तान प्याट कमिन्ससँगै अन्य खेलाडीहरु पनि खुसी साटासाट गर्न व्यस्त थिए । तर, केही समयपछि फोर्थ अम्पायरले रिकल्टन आउट नभएको जानकारी दियो । त्यसपछि रिकल्टनलाई पुनः ब्याटिङका लागि बोलाइएको थियो । 

रिकल्टन हैदराबादका बलर जिशन अन्सारीको बलमा प्याट कमिन्सद्वारा क्याच आउट भएका थिए । त्यसपछि हैदराबादका खेलाडी खुसी साटासाट गर्न व्यस्त भए । रिकल्टन पनि आउट भएपछि पेभेलियनतर्फ अगाडि बढे ।

फिल्ड अम्पायरले पनि रिकल्टन आउट भएकै सम्झिएका थिए । तर, अचानक परिस्थिति बदलियो । चौथो अम्पायरले रिकल्टन आउट नभएको जानकारी फिल्ड अम्पायरलाई दिए । त्यतिबेला उनी २१ रनमा खेल्दै थिए । जिशन अन्सारीले फालेको उक्त बललाई ‘नो बल’ घोषित गरियो ।

जबकि, जिशन अन्सारीले फालेको बल ‘नो बल’ थिएन । खासमा गल्ती भने हैदराबादका विकेटकिपर हेनरिक क्लासनको थियो । जिशन अन्सारीले फालेको बललाई रिकल्टनको ब्याटले छुनुअघि नै विकेटकिपर क्लासनले आफ्नो हात विकेटभन्दा अगाडि लगेका थिए । त्यसैले फोर्थ अम्पायरले त्यो बललाई ‘नो बल’ घोषित गरेका थिए । 

अन्तर्राष्ट्रिय क्रिकेटको नियमअनुसार, विकेट किपरले त्यस्तो गर्न पाउँदैनन् । बलरले फालेको बललाई ब्याट्सम्यानले खेल्नुअघि नै विकेट किपरले विकेटभन्दा अगाडि हात लैजान पाउँदैनन् । विकेट किपरले यस्तो गल्ती गरेमा ‘नो बल’ घोषित गरिन्छ । 

तर, फिल्डमा रहेका अम्पायरको आँखा पनि हैदराबादका विकेटकिपरको गल्तीमा पुगेको थिएन । न त मुम्बईका ब्याट्सम्यान रिकेल्टनले नै यसतर्फ ध्यान दिएका थिए । उक्त खेलमा विकेटकिपर ब्याट्सम्यान रिकेल्टनले केवल २३ बलमा पाँच चौकाको मद्दतले ३१ रन बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?