शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान विरोधी गतिविधि स्वीकार्य छैन– गृहमन्त्री

शुक्रबार, ०५ वैशाख २०८२, १२ : २१
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भने,‘ पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधान विरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य हुँदैन ।’ 

ठुलो बलिदानी पूर्ण सङ्घर्षबाट अहिलेको संविधान प्राप्त भएको उल्लेख गर्दै उनले यसको रक्षाका लागि प्रत्येक ठाउँबाट तयार हुनुपर्ने बताए । अहिलेको संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उल्लेख गर्दै लेखकले भने, ‘यहाँ सात दशकको अन्तरालमा सात वटा संविधान बनेको छ, पटक पटक संविधान बन्नु राम्रो होइन ।’

संविधान विरोधी गतिविधिका माध्यमबाट हत्या हिंसालाई प्रश्रय दिने र संविधान फाल्छु भन्ने अराजक गतिविधि गरिए कारबाही गरिने चेतावनी दिएका छन् । 

वर्तमान संविधान निर्माणको १० वर्षे समयावधिको आवश्यक समीक्षा सहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताको आधारमा संशोधन गर्न सकिने लेखकको भनाइ छ । 

सुरक्षा गोष्ठीमा प्रदेश अन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपत्कालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । 

गण्डकी प्रदेशमा आपत्कालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपत्कालीन गोदाम घरले सङ्कटको समयमा तत्काल प्रभावकारी बन्दाेबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप