सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप

मङ्गलबार, ०९ वैशाख २०८२, १३ : ३५
मङ्गलबार, ०९ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण रोचक मोडमा छ । सहभागी टोलीहरु प्ले–अफ चरणमा स्थान बनाउन सँघर्षरत छन् । केही बलिया टोली प्रारम्भिक चरणबाटै घर फर्कने सम्भावना बढ्दो छ । 

यसैबिच, आईपीएलको जारी संस्करणमा म्याच फिक्सिङ (खेल मिलेमतो) को विषय पनि गम्भीर रुपमा उठ्न थालेको छ । पछिल्लो समय प्रतियोगितामा सहभागी टोलीमध्ये एक राजस्थान रोयल्समाथि पनि खेल मिलेमतोको आरोप लागेको छ । 

लखनउ सुपर जायन्ट्सविरुद्धको खेलमा मिलेमतो गरेको आरोप राजस्थानमाथि लागेको हो । उक्त खेल अप्रिल १९ तारिखमा जयपुरमा खेलिएको थियो । त्यो खेलमा लखनउले राजस्थानमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको थियो । 

टस जिती पहिले ब्याटिङ गरेको लखनउले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थानले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ७८ रनमात्र बनाउन सकेको थियो । 

उक्त खेलमा राजस्थानलाई जितका लागि अन्तिम ओभरमा केवल नौ रन चाहिएको थियो । अन्तिम ओभर बलिङ गर्न लखनउका बलर आवेश खान आएका थिए । आवेश खानले फालेको अन्तिम ओभरमा राजस्थानले ६ रनमात्र बनाउन सकेको थियो । 

आईपीएलको जारी संस्करणमा राजस्थानको टोली लगातार दुईपटक जितको अत्यन्तै नजिक पुगेर पनि पराजित भएको छ । यसअघि दिल्ली क्यापिटल्सविरुद्धको खेलमा पनि राजस्थानको टोली सुपर ओभरमा पराजित भएको थियो । 

राजस्थान क्रिकेट संघका पदाधिकारी जयदीप बिहानीले राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप लगाएका हुन् । जारी आईपीएलमा राजस्थान रोयल्सको टोली सन्जु सामसनको कप्तानीमा रहेको छ । तर, लखनउविरुद्धको खेलमा सन्जु सामसन सहभागी थिएनन् । 

सन्जु सामसन घाइते भएकाले त्यो खेलमा रियान परागले टोलीको कप्तानी गरेका थिए । जयदीप बिहानीले राजस्यान रोयल्समाथि खेल मिलेमतो प्रकरण छानबिन अगाडि बढाइनु पर्ने माग पनि गरेका छन् । 

यसअघि, पनि जारी आईपीएलमा खेल मिलेमतोको चर्चा चलेको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि जारी आईपीएलमा मिलेमतोको प्रयास भइरहेको जनाएको थियो । बीसीसीआईले आईपीएलमा सहभागी १० वटै टोलीलाई मिलेमतोको सम्भावित खतराबाट टाढा रहन निर्देशन दिएको थियो । 

बीसीसीलाईले सहभागी टोलीका मालिक, खेलाडी, प्रशिक्षक र सहयोगी कर्मचारीहरुलाई खेल मिलेमतोबाट टाढा रहन चेतावनी दिएको थियो । बीसीसीआईले जारी आईपीएलमा खेलको कमेन्ट्री  गरिरहेका अधिकारीहरुलाई पनि यस्तो निर्देशन जारी गरेको छ । 

एक चर्चित व्यवसायी अहिले खेल मिलेमतो गराउन सक्रिय भएर लागेको दाबी बीसीसीआईले गरेको थियो । आईपीएलमा खेल मिलेमतोको आशंका बढेपछि भ्रष्टाचार निरोधक सुरक्षा इकाई पनि सक्रिय भएर अनुशन्धानमा जुटेका छन् । खेल मिलेमतो गराउन हैदराबादका एक चर्चित व्यवसायी सक्रिय रहेको बीसीसीआईको दाबी छ । 

ती व्यवसायीको पहिचान भने खोलिएको छैन । उनको सम्बन्ध चर्चित सट्टेबाजहरुसँग रहेको बताइएको छ । बीसीसीआईका अनुसार, ती व्यवसायीले खेलको नतिजा प्रभावित पार्न खेलाडी र उनीहरुको परिवारसँग सम्बन्ध बढाउने प्रयास गरिरहेका छन् । 

ती व्यवसायीले आफू कट्टर समर्थक भएको बताउँदै आईपीएलमा सहभागी पदाधिकारी र खेलाडीहरुसँग सम्बन्ध बढाउने प्रयास गरिरहेका छन् । उनलाई टोलीका खेलाडी र पदाधिकारीहरु बस्ने होटलमा पनि धेरैपटक देखिएको बताइएको छ । 

नाम सार्वजनिक नगरिएका ती व्यवसायीले आईपीएलमा आबद्ध पदाधिकारी, खेलाडी र कर्मचारीहरुको परिवारलाई महंगा उपहारहरु दिएर सम्बन्ध बढाउने प्रयास पनि गरिरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप