आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

डिजिटल कर्णाली कन्क्लेभ : डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

बुधबार, १० वैशाख २०८२, १२ : ३४
बुधबार, १० वैशाख २०८२

सुर्खेत । मंगलबारलेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने ‘डिजिटल कर्णाली कन्क्लेभ २०२५’ कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा सुरू भएको हो ।

‘इम्पावारिङ द फ्युचर : इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद हुँदैछन् । कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट वक्ताको रुपमा सहभागी भएका छन् ।

२ दिनसम्म सञ्चालन हुने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा वृहत छलफल हुनेछ । कार्यक्रमा प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री कँडेलले पर्याप्त बिजुली, इन्टरनेट तथा पूर्वाधारको अभावमा चाहेर पनि डिजिटल प्रविधिको क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।

‘हामीले स्वीकार्नै पर्छ कर्णालीको लागि डिजिटलीकरणको यात्रा अवश्य सहज छैन । पर्याप्त बिजुली, इन्टरनेट तथा पूर्वाधारको अभावमा हामीले चाहेर पनि यस क्षेत्रमा अपेक्षित उपलब्धीहरु हासिल गर्न सकेका छैनौँ,’ उनले भने, ‘तर हाम्रो जस्तो भौगोलिक बनावट भएको प्रदेशमा डिजिटल प्रविधिको महत्त्व अन्यत्र भन्दा बढी छ ।’

डिजिटल कर्णाली कन्क्लेभले क्षेत्रगत रूपमा डिजिटलाइजेशनका विषयमा हुने विज्ञहरुसहितको बहस, छलफल तथा प्रस्तुतिले प्रदेश सरकारलाई सूचना प्रविधिको क्षेत्रमा आगामी मार्ग कोर्न मद्दत गर्ने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही कर्णालीमा गुणस्तरीय इन्टरनेट र विद्युत सेवा नहुँदा समस्या भोग्नु परिरहेको बताए ।
त्यसैगरी कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवन  बहादुर शाहीले डिजिटल प्रविधिले डिजिटल कर्णाली कन्क्लेभले डिजिटल कर्णाली बनाउन झक्झकाइ रहेको बताउँदै डिजिटलाइजको क्षेत्रमा कर्णालीलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

यसैगरी प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली जस्तो विकट ठाउँमा सूचना प्रविधिको महत्त्व धेरै भएको बताए । ‘सुरूवाती समयमा कर्णाली प्रदेशलाई डिजिटल बनाउने बताउँदा हासाँको रूपमा लिइएको थियो,’ उनले सुरूवाती दिन सम्झिए, ‘त्यसपछि हामीले डिजिटल पूर्वाधारलाई प्राथमिकता दिएर कामहरू अगाडि बढाएका थियौँ । अहिले विस्तारै गती लिँदैछन् ।’

यस्तै कार्यक्रममा स्वागत मन्तव्य दिँदै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले प्रविधिले मितव्यिता, पारदर्शीता र जवाफदेहीता ल्याउने भन्दै कामहरूलाई समयमै प्रभावकारी ढंगबाट पूरा गर्ने एकमात्र हतियार भनेको डिजिटल प्रविधि भएको बताए ।
त्यसैगरी आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले डिजिटल कर्णाली कन्क्लेभ एउटा अभियान भएको जानकारी दिदै प्रदेश सरकारले डिजिटल पूर्वाधार, नीति निर्माण र डिजिटल गभर्नेन्समा काम गरेमा बाँकी काम निजी क्षेत्रले गर्न सक्ने बताए ।

कार्यक्रममा कर्णालीको लागि विकास गरिएका डिजिटल सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति समेत गरिएको छ । २ दिने डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, फिनटेक, डिजिटल नेतृत्व र नीति, जनशक्ति, कृषि, पर्यटन, डिजिटल हेल्थ, स्टार्टअप, उद्यमशीलता लगायतका विषयमा वृहत बहस र छलफल हुनेछ ।

कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ५०० बढीको सहभागीता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप