क्यानडामा मतगणना जारी, मार्क कार्नीको लिबरल पार्टीले जित्ने संकेत

ओटावा । क्यानडामा भएको आम निर्वाचनमा त्यहाँको लिबरल पार्टीले बहुमत पाउने संकेत देखिएको सरकारी टिभी च्यानल सीबीसी न्यूजले उल्लेख गरेको छ । ३४३ सिट भएको संसदमा पार्टीले पूर्ण बहुमत पाउने कि नपाउने भन्ने कुरा स्पष्ट चाहिँ नभएको बताइएको छ ।
नतिजासँगै लिबरल पार्टीको मुख्यालयमा समर्थकहरूमाझ धेरै उत्साह छ । ‘यो क्यानडाको इतिहासमा सबैभन्दा ठुलो पुनरागमन हो, क्यानडालाई आवश्यक परेको बेला कार्नी अगाडि आउनु निकै महत्त्वपूर्ण कुरा हो,’ सीबीसीको रुझानपछि पार्टीका एक समर्थकले भने ।
सीबीसीका अनुसार मार्क कार्नीको पार्टीले पूर्ण बहुमत नपाए पनि क्यानडामा सरकार बनाउन पर्याप्त सिट जित्न सक्छ । क्यानडाको राजनीतिमा लिबरल पार्टी विगत केही महिनादेखि धेरै दबाबमा छ ।
जस्टिन ट्रुडोले बीचैमा राजीनामा दिनुपर्यो भने केही महिना अघिसम्म लगभग समाप्त भएको ठानिएको पार्टी अब चौथो पटक सत्तामा आउने सम्भावना छ । लिबरल पार्टीको जितमा डोनाल्ड ट्रम्पको नीतिले पनि भूमिका खेलेको बीबीसीका संवाददाता एन्थनी जर्करको विश्लेषण छ ।