शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

माहिरा खानसहित कयौँ पाकिस्तानी कलाकार र उनीहरुका खाता भारतमा प्रतिबन्धित

बिहीबार, १८ वैशाख २०८२, १२ : १२
बिहीबार, १८ वैशाख २०८२

नयाँ दिल्ली । पछिल्लो समयमा भारतमा पाकिस्तानी ड्रामा निकै लोकप्रिय छन् । कयौँ भारतीयहरूले पाकिस्तानी नाटकहरू हेर्न मन त पराउँछन् नै सामाजिक सञ्जालमा पनि पाकिस्तानी कलाकारहरूलाई पछ्याउने गरेका छन् । तर, ती फ्यानहरूका लागि नराम्रो खबर आएको छ । 

अबदेखि कुनै पनि भारतीय प्रयोगकर्ताले पाकिस्तानी सेलिब्रेटीको सामाजिक सञ्जाल खाता हेर्न सक्ने छैनन् । बुधबार भारतमा सबै पाकिस्तानी कलाकारहरूको खाता निलम्बित गरिएको छ । पाकिस्तानी सेलिब्रेटीहरूको खाता भारतबाट हेर्दा ‘त्यो खाता भारतमा अवस्थित छैन । कानुनी अनुरोधका कारण यी सामग्रीहरू प्रतिबन्धित गरिँदै छन्’ भन्ने म्यासेज देखिन्छ । 

भारतमा प्रतिबन्धित पाकिस्तानी सेलिब्रेटीमा माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, आयजा खान, सजल अली, इकरा अजिज, सनम सईद समावेश छन् । माहिरा खान, अली जफर, सजल अलीले समेत बलिउडमा काम गरिसकेका छन् । सजल अलीले फिल्म मममा श्रीदेवीकी छोरीको भूमिका निभाएकी थिइन् । अचम्मको कुरा चाहिँ के छ भने कयौँ पाकिस्तानी टिभी कलाकारहरूलाई प्रतिबन्ध लगाइएको भए पनि, पाकिस्तानका सबैभन्दा लोकप्रिय अभिनेता फवाद खानको खाता चाहिँ अझै पनि भारतमा खुलिरहेको छ । 

पछिल्लो समय फवाद खान अबीर गुलालबाट बलिउडमा कमब्याकको तयारीमा थिए । तर फिल्मको टिजर जारी भएदेखि नै यो फिल्म विवादमा घेरिएको थियो । पहलगाम हमलापछि फिल्म भारतमा रिलिज नहुने भएको छ । फवाद खान बाहेक, सनम तेरी कसम स्टार मावरा होकने, हिन्दी मिडियम पाकिस्तानी अभिनेत्री सबा कमर, युमना जैदी, महविश हयात, अभिनेता वहाज अली र उर्वा होकानेको खाता पनि बन्द गरिएको छैन ।

गृह मन्त्रालयको आदेशमा कयौँ पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा ब्लक गरिएको छ । यसमा एआरवाई डिजिटल र हम टिभीका युट्युब च्यानलहरू पनि समावेश छन् । यी भारतीय प्रयोगकर्ताका लागि पाकिस्तानी कार्यक्रमहरूको स्रोत थिए । गृह मन्त्रालयको सिफारिसमा भारत सरकारले १६ वटा पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ । 

सरकारी स्रोतहरूका अनुसार यी च्यानलहरूमाथि भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने, साम्प्रदायिक र भ्रामक समाचार फैलाएको आरोप लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप