सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने

आइतबार, २१ वैशाख २०८२, २२ : ००
आइतबार, २१ वैशाख २०८२

आज २०८२ वैशाख २१ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने, रविको बन्दी प्रत्यक्षीकरण रिट सच्चियो, एनआरएनए ‘एकता महाधिवेशन’ : श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन, कुलमानले नाफा देखाएको प्राधिकरण कसरी पुग्यो नोक्सानमा ?, रेशमलाई जेल पठाउन वैशाख १६ देखि नै भएको थियो चलखेल लगायत छन् ।

१. सिंहदरबारमा ओली–प्रचण्ड भेट
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच सिंहदबारमा भेटवार्ता भएको छ । 

२. कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने 
नेपाली कांग्रेसले पटक–पटक समय दिँदा पनि महाधिवेशन गर्न नसक्ने चार भ्रातृसंस्था भङ्ग गर्ने भएको छ । महाधिवेशन गर्न सक्ने कुनै पनि आधार नदेखिएका चार भ्रातृसंस्थालाई अब बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट भङ्ग गर्ने औपचारिक निधो हुने जनाइएको छ ।

३. रविको बन्दी प्रत्यक्षीकरण रिट सच्चियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट निवेदन सच्याउन दायर अर्को निवेदनमा सर्वोच्च अदालतले माग बमोजिम हुने आदेश गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले लामिछानेले माग गरेबमोजिम विपक्षी राख्न आदेश गरेको हो ।

४. एनआरएनए ‘एकता महाधिवेशन’ : श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
डा शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट कांग्रेस निकट महेश श्रेष्ठ अध्यक्ष चयन भएका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासमेतको दबाबमा कांग्रेस निकट श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।

५. कुलमानले नाफा देखाएको प्राधिकरण कसरी पुग्यो नोक्सानमा ?
शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी ग¥यो । प्राधिकरणको नाफा, वित्तीय अवस्था, विद्युतको लोड भारलगायत सम्बन्धमा आम जनमानसमा देखिएको अन्योल चिर्न भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यस्तो श्वेतपत्र जारी गरेका हुन् ।

उक्त श्वेतपत्रअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ । यसअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड नाफामा रहेको उल्लेख गरिएको थियो ।

६. रेशमलाई जेल पठाउन वैशाख १६ देखि नै भएको थियो चलखेल
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेख्ने महिमान सिंह विष्ट अहिले हिरासतमा छन् । वैशाख १७ मा उनले पत्र लेखेर रेशमलाई कैदमा राख्न भनेका थिए । उक्त पत्र अनधिकृत रुपमा लेखिएको सर्वोच्च अदालतले प्रस्ट पार्नासाथ सोही दिन उनी पक्राउ परे । विष्टले त्यसको अघिल्लो दिन अर्थात् वैशाख १६ देखि नै रेशमलाई थुनामा पठाउने उद्देश्यले चलखले गरेको तथ्य प्रकाशमा आएको छ ।

७. श्रीमती मार्न दिएको ‘सुपारी’ आफैँलाई ‘ब्याक फायर’
धादिङको गजुरी गाउँपालिका–२ बस्ने ६० वर्षीय चूडामणि कँडेलले आफ्नै श्रीमतीलाई मार्न ‘सुपारी’ दिएकाहरूबाट ज्यान गुमाएका छन् । हत्यामा संलग्नहरू पक्राउ परेसँग यस्तो रहस्य खुलेको हो ।

८. एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले गरे पार्टी एकताको प्रस्ताव
विभिन्न १७ वटा विषयका १३८ बुँदे मागपत्र बुझाउन कोशी प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेका एकीकृत समाजवादीका नेताहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पार्टी एकता गर्ने प्रस्ताव गरेका छन् । नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले औपचारिक कार्यक्रम समापनपछि अनौपचारिक छलफलका क्रममा दुई गौरवशाली पार्टी मिलाएर एउटै गौरवशाली पार्टी बनाउने प्रस्ताव गरेका हुन् ।

९. प्रहरी सम्बन्धी विधेयकमा प्रहरीकै आपत्ति 
नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकृत गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । दफावार छलफल हुनु अघि नै प्रहरी हेडक्वाटरले विधेयकबारे असन्तुष्टि जनाइसको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

१०. विद्यार्थीसँग परीक्षा फारमको रकम उठाउने अनेरास्ववियुका नेताविरुद्ध उजुरी
बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका एक नेताले विद्यार्थीको परीक्षा फारमको रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । बुटवल बहुमुखी क्याम्पस बीए चौथो वर्षमा अध्ययनरत विवेक कुँवरले १२ जनाभन्दा धेरै विद्यार्थीसँग रकम लिएर पनि परीक्षा फारम नभरिदिएपछि इलाका प्रहरी कार्यालयमा ठाडो उजुरी परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप