बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

सिंहदबारपछि बानेश्वरमा ओली–प्रचण्डको तस्बिर चर्चा

सोमबार, २२ वैशाख २०८२, १६ : १०
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । आफू नेतृत्वको सरकार ढालेर कांग्रेससँगको सहकार्यमा एमाले अध्यक्ष केपी शर्मा ओली गत असार ३० गते प्रधानमन्त्री बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीप्रति अनुदार देखिँदै आएका छन् ।

कांग्रेस–एमालेको सहमतिपछि प्रचण्डले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिहरू ओली र उनको नेतृत्वमा बनेको सरकारको कटाक्ष नगरेको विरलै मात्र देख्न र सुन्न पाइन्छ ।

ओली नेतृत्वको सरकार बनेको १० महिना बित्नै लाग्दा सत्ता साझेदार दल नेपाली कांग्रेसको एक समूहले सरकारकै आलोचना गरिरहेको छ । सरकारले समेत अपेक्षित रूपमा सुशासन कायम र जनतालाई डेलिभरी बढाउन नसकेको अवस्थामा ओली भने गठबन्धन र वर्तमान सरकार सहमति अनुसार नै अघि बढ्ने बारम्बार दोहोर्‍याउने गर्छन् ।

कुलमान घिसिङ बर्खास्तदेखि राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियासम्ममा आइपुग्दा एमाले र कांग्रेसको एक पक्षबिच सार्वजनिक रूपमै घोचपेच प्रकट भइरहेका छन् । यही सेरोफेरोमा प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोग गठनमा सहमति जुटाउन भन्दै विपक्षी दलका नेता प्रचण्डसँगको संवादलाई बाक्लो बनाउने प्रयत्न गर्दै आएका छन् । 

सोही प्रयत्न अनुसार ओलीले वैशाख १८ गते देउवा र प्रचण्डलाई सिंहदरबारमा छलफलका लागि बोलाएका थिए । तर प्रचण्ड उक्त दिन सिंहदरबार नै गएनन् । तर वैशाख २१ गते प्रचण्ड टीआरसीकै विषयमा छलफल गर्न सिंहदरबार पुगे । प्रचण्डका विश्वासपात्र समेत भनेर चिनिएका उपमहासचिव वर्षमान पुनलाई सँगै लिएर प्रचण्ड सिंहदरबार पुगेका थिए । वर्षमान कम्युनिस्ट एकताको पक्षमा उभिँदै आएका नेता हुन् । 

टीआरसीको छलफलमा पुनको सहभागिता अनि सिंहदरबारमा नेताहरूको कुर्सी व्यवस्थापनको तस्बिर सार्वजनिक भएपछि राजनीतिक वृत्तमा त्यसले अर्को तरंग र आशंका पैदा गरिदियो । सार्वजनिक तस्बिरमा सिंहदरबारमा भएको ओली प्रचण्डबिचको छलफलमा ओली आफ्नो (प्रधानमन्त्री)को कुर्सीमा नबसेर अर्के कुर्सीमा बसेका छन् ।

ओली प्रचण्डको उक्त तस्बिरको चर्चा सेलाउन नपाउँदै सोमबार प्रतिनिधि सभा बैठकमा फेरि दुई नेता (ओली र प्रचण्ड) को अर्को तस्बिर कैदपछि सार्वजनिक भयो ।

जुन तस्बिरमा ओली र प्रचण्ड एकअर्का नजिक भएर हाउभाउसहित केही कुराकानी गरेको देख्न सकिन्छ ।

जतिवेला संसदमा प्रधानमन्त्री ओली सरकारको नीति तथा कार्यक्रम छलफलका लागि टेबुल गर्न ड्यासमा जाने क्रममा थिए । सोही बेला उनी केहीबेर प्रचण्ड नजिक गएर भलाकुसारी समेत गर्न भ्याए । त्यतिमात्रै होइन ओलीले प्रचण्डसँग मुस्कुराउँदै हात समेत मिलाए । दुईजनाबीचको यो भलाकुसारीको तस्बिर तत्काल ओलीकै सचिवालयले सार्वजनिक गर्‍यो । जसलाई कतिपयले ओली र प्रचण्डबिचको सम्बन्ध सुधारका रूपमा समेत बुझ्ने मौका मिल्यो ।

ओली र प्रचण्डका यी तस्बिरलाई केही एमाले नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमा राखेर टिप्पणी नगर्ने कुरै भएन । एमाले केन्द्रीय सदस्य समेत रहेका विष्णु रिजालले सोमबार संसदमा ओली प्रचण्ड भलाकुसारी गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै भनेका छन्, ‘मन परेको एउटा तस्बिर । सत्तापक्ष–प्रतिपक्ष लोकतन्त्रको सामान्य र अस्थायी विषय हो । हामी सबै लोकतन्त्रको एउटै डुङ्गामा छौँ ।’

अर्थात् रिजालले सत्तापक्ष र प्रतिपक्ष लोकतन्त्रमा सामान्य र अस्थायी विषय हुने तर लोकतन्त्रको एउटै डुङ्गामा रहेकाले डुंगा जोगाउने सबैको दायित्व भएकोको र त्यसमा ओली प्रचण्डबिच विमति नरहेको सन्देश प्रवाह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप