कृजलको अलराउन्ड प्रदर्शनमा अपीले एलआरआईलाई सजिलै हरायो

काठमाडौँ । जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न खेलमा अपी स्कुलले सफलता हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा अपी स्कुलले एलआरआई स्कुललाई ५७ रनले हराएको हो ।
पहिले ब्याटिङ गरेको अपी स्कुलले निर्धारित २० मध्ये १८.२ ओभरमै अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । सामान्य लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको एलआरआईले भने ११.१ ओभरमै अलआउट हुनुअघि ६४ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको अपी स्कुलका लागि ओपनर कृजल प्रसाईले सर्वाधिक ३१ रनको योगदान गरे । उनले २५ बलमा चार चौका पनि हिर्काए । अर्का ओपनर विशाल बढाले पनि २४ रन बनाए । उनले ३१ बलमा एक चौका प्रहार गरे । मध्यक्रमका ब्याट्सम्यान आयुष महतराले पनि टोलीका खातामा २० रन थपे । उनले केवल १४ बलमा तीन चौका पनि प्रहार गरे । उर्वर श्रेष्ठले पनि अविजित ११ रन बनाए । अपी स्कुलले अतिरिक्त रुपमा पनि २२ रन पायो ।
एलआरआई स्कुलका बलर शुभ रेग्मीले तीन तथा निश्चल रोका र सुधिर मल्लले दुई–दुई विकेट लिए । अनुप सिंहले पनि एक विकेट हात पारे । जवाफी ब्याटिङ गरेको एलआरआई स्कुलका लागि ओपनर अभी थपलियाले ३० रन बनाए । उनले २० बलमा पाँच चौका पनि प्रहार गरे ।
एलआरआईका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एलआरआईले अतिरिक्त रुपमा १६ रन पाएको थियो । अपीका बलर कृजल प्रसाई एक्लैले ६ विकेट लिए । उनले तीन ओभरमा केवल १६ रन खर्चिए । युगान्त कार्की पनि चार विकेट लिए । उनले ३.१ ओभरमा केवल आठ रन खर्चिए ।
काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको यो दोस्रो संस्करण हो । नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको दोस्रो संस्करण वैशाख २९ गतेसम्म चल्नेछ । यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको छ । यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ ।
गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बनेको थियो । अघिल्लो संस्करणको फाइनलमा सैनिक महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहेको छ ।
प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । विजेता र उपविजेतालाई प्रदान गरिने बाहेक अन्य सबै व्यक्तिगत पुरस्कार टेक्सास इन्टरनेसनल कलेजले प्रायोजन गरेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ड्रोन आक्रमणमा एक जनाको मृत्यु, चार पाकिस्तानी सैनिक घाइते
-
राजावादीहरुद्वारा संयुक्त जनआन्दोलनको घोषणा, तस्बिरमा हेर्नुहोस्
-
राजावादीले गर्यो जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा
-
‘एनआरएनए कन्क्लेभ’ आयोजना हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
-
जग्गा प्राप्ति प्रक्रियामै अल्झियो उजिरसिंह प्रादेशिक रङ्गशाला
-
पन्ध्र पुस्तकालयलाई गण्डकी प्रदेश सरकारको अनुदान