सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !

शुक्रबार, २६ वैशाख २०८२, १९ : ००
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । नेकपा एमालेभित्र गुटगत प्रतिशोध मौलाउँदै गएको पाइएको छ । गुटगत प्रतिशोध मौलाउँदा पार्टी संगठन र भ्रातृ संगठनमा झडपका शृङ्खला बढ्न थालेको छ । प्रतिशोध झाङ्गिदै जाँदा पार्टी अनुशासन उल्लङ्घन र कारबाहीका शृङ्खलासमेत बढिरहेका छन् ।

हालै धनुषा जिल्ला अधिवेशन र युवा संघ पर्वतको अधिवेशनमा भएका झडपका साथै नेताहरूमाथि भएको कारबाही प्रकरणले समेत एमालेमा गुटगत प्रवृत्ति मौलाएको पुष्टि गर्ने नेता–कार्यकर्ताहरू स्वीकार गर्छन् ।

‘गुटगत प्रवृत्ति देखिनु राम्रो होइन, पछिल्ला केही घटना हेर्दा गुटगत प्रतिशोध हो कि भन्ने देखिन्छ’, एमालेका एक पदाधिकारीले भने, ‘केन्द्रमा गुट नभए पनि तल्ला तहमा नेताको नाममा गुटगत गतिविधि रोकिएका छैनन् । यो चिन्ताको विषय हो ।’

  • धनुषामा महासेठ र अरगरियाको द्वन्द्व

नेकपा एमाले धनुषाको आठौँ जिल्ला अधिवेशन अन्तर्गत मतदानको मिति गत वैशाख २३ गते तोकिएको थियो । सहमतिमा नेतृत्व चयन हुने नदेखिएपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न उम्मेदवारी दर्ता भएर मतदान सुरु हुनैलाग्दा एकअर्का पक्षबिचको विवाद झडपमा परिणत भयो । सोही झडपका कारण निर्वाचन प्रक्रिया नै स्थगित हुन पुग्यो । स्थगित भएको मतदान कहिले हुने भन्ने अझै निश्चित छैन ।

धनुषामा एमाले नेता–कार्यकर्ताबिच भएको झडपमा दुई नेतासहित पाँच जना घाइते छन् । घाइते हुनेमा भोला यादव पक्षका सत्यनारायण महासेठ र महेश दास छन् । उनीहरू दुवै जनाको टाउको फुटेको छ । सोही घटनामा एमालेका निवर्तमान धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले समेत कुटाइ खाएका छन् ।

जिल्ला अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर भोला यादव र लक्ष्मीनारायण यादव पक्षबिच विवाद चल्दा कुर्सी हानाहान, तोडफोड र कुटाकुट हुन पुगेको थियो । निर्वाचन समितिमाथि केही नेता–कार्यकर्ताले कुर्सी प्रहार गरेका थिए ।

भोला यादव एमाले केन्द्रीय सचिव रघुवीर महासेठ समूहबाट र लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकर अरगरिया पक्षबाट अध्यक्षका प्रत्यासी बनेका थिए । वैशाख २० देखि सुरु अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो । निर्वाचन समितिले पार्टी नियमविपरीत उम्मेदवारको अन्तिम नामावली थपघट गरेको आरोप लगाउँदै लक्ष्मीनारायण यादव पक्ष विरोधमा उत्रिएपछि झडप हुँदै मतदान नै स्थगित हुन पुगेको हो ।

केन्द्रीय सदस्यसमेत रहेका उमाशंकर अरगरियाले स्थगित निर्वाचन प्रक्रिया केन्द्रको निर्देशन नआएसम्म सुरु नहुने बताए । अरगरिया र महासेठ एमाले अध्यक्ष केपी ओली समूहकै नेता भनेर चिनिन्छन् । तर, धनुषामा महासेठले गुण्डागर्दी शैलीले पार्टी सञ्चालन गर्न खोजेपछि अरगरिया पक्ष चिढिन पुग्दै अलग समूह निर्माणमा लागेको धनुषाका एमाले कार्यकर्ता बताउँछन् ।

‘धनुषामा महासेठको दादागिरी भएकाले अरगरिया समूह अलग गुट निर्माण गर्न बाध्य भयो’, एमाले धनुषाका एक नेता भन्छन्, ‘झडप हुनुमा त्यही गुटगत राजनीतिक प्रतिशोधबाहेक अरु केही होइन ।’

  • पर्वतमा तिमिल्सिना र गिरी युद्ध

धनुषामा मात्र होइन, पर्वत एमालेमा पनि गुटगत प्रभाव प्रस्ट देखिन्छ । गुटगत प्रभावका कारण युवा संघको अधिवेशनमा दुई समूहबिच झडप हुँदा नेताकै टाउको फुटेको छ ।

पर्वतमा बुधबार युवा संघको अधिवेशन हुँदै थियो तर अधिवेशन गर्ने र नगर्ने भन्ने पक्षबिच विवाद चर्किंदा झडप भएपछि गण्डकी प्रदेश सदस्य एवं युवा संघका नेता अर्जुन पौडेलको टाउको फुट्यो । पर्वतमा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिना र पूर्वमन्त्री पदम गिरी समूहको दुई गुट छ । ती दुवै गुटले अर्को समूहलाई सहजै नस्वीकार्ने अवस्था छ ।

झडपमा गिरी समूहका सदस्यले राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिमिल्सिना समूहका पौडेलको टाउको फुटाएको तिमिल्सिना समूहका नेता–कार्यकर्ता बताउँछन् ।

स्रोतका अनुसार बुधबारको अधिवेशन तिमिल्सिना पक्षले केही समय सार्नुपर्ने भनेको थियो भने गिरी पक्ष सार्न नहुने पक्षमा उभियो । जसका कारण झडप हुन पुगेको थियो । झडपपछि युवा संघको अधिवेशन अनिश्चित बनेको छ ।

त्यही विवादका बिच गिरी पक्षले युवा संघको अध्यक्ष विनोद थापालाई बेवास्ता गर्दै उपाध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा अधिवेशन उद्घाटन गरेको थियो । एकपक्षीय ढंगले अधिवेशन थालेको भन्दै तिमिल्सिना पक्ष आक्रोशित बनेको हो । युवा संघको विवाद जिल्लामा मात्र नभएर प्रदेश पार्टी कमिटीसम्म पुगेको छ । जसले गण्डकी प्रदेश र पर्वत जिल्ला कमिटीबिच नै टसल सुरु भएको नेता–कार्यकर्ता बताउँछन् ।

गण्डकी एमालेमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेता खगराज अधिकारीको समूह छ । राष्ट्रिय सभाका पूर्वअध्यक्ष तिम्सिना उपमहासचिव गुरुङको पक्षमा छन् भने पूर्वमन्त्री पदम गिरीचाहिँ अधिकारीको समूहका नेता भनेर चिनिन्छन् । सोही गुटको बाछिटा पर्वत युवा संघमा देखिएको कार्यकर्ता बताउँछन् ।

  • ताप्लेजुङ र अछाममा कारबाही

पर्वत र धनुषामा गुटगत विवाद चर्किएर तोडफोड र कुटाकुट भइरहेका वेला कोशी प्रदेशमा भने एमालेले दुई नेतालाई कारबाहीको डण्डा चलाएको छ ।

कोशीका पूर्वमन्त्री तथा ताप्लेजुङका पूर्वजिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र प्रदेश सदस्य मणि पोमुलाई एमालेले कारबाही गरेको हो ।

कोशी प्रदेश कमिटीको मंगलबार बसेको बैठकले दुवै नेतालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । दुवै नेतामाथि युवा संघको जिल्ला अधिवेशनमा हातपात र तोडफोड गरेको आरोप छ ।

वैशाख १८ गते ताप्लेजुङमा भएको युवा संघको अधिवेशनमा दुई पक्षबिच विवाद भएको थियो । सो घटनामा पोमु प्रत्यक्ष संलग्न रहेको र साम्सोहाङले निर्देशन दिएको आरोप छ । अधिवेशनमा संस्थापन पक्षले एकलौटी कमिटी गठन गरेको विरोधमा साम्सोहाङ र पोमुलगायतले पत्रकार सम्मेलन गरेरै विरोध गरेका थिए ।

‘ताप्लेजुङ कमिटीले दिएको राय सुझावको आधारमा दुई जनालाई निलम्बन गरेका छौँ । थप बुझ्न समिति पनि बनाएका छौँ,’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा भन्छन्, ‘जसमा पूर्वजिल्ला अध्यक्ष तथा पूर्वप्रदेश सांसद समेत रहेका एमालेका प्रदेश सल्लाहकार बलबहादुर साम्सोहाङ र प्रदेशको पर्यटन विभागको सचिव मणिशंकर पोमुख रहनुभएको छ ।’

युवा सङ्घको जिल्ला अधिवेशनबाट संस्थापन पक्षले मानिक तुम्बाहाम्फेलाई अध्यक्ष घोषणा गरेको थियो । केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा गत बिहीबार उदघाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो ।

संघको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीका लागि नाम सूची तयार गरेर अध्यक्ष मण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोज्दा विवाद भएको थियो । विवादमा अधिवेशनस्थलका टेबल, कुर्सी र माइकसमेत तोडफोड गरिएको थियो । ताप्लेजुङ एमाले सचिव योगेश भट्टराईको गृह जिल्ला हो ।

  • सुदूरपश्चिममा उस्तै छ हालत

कोशीअघि सुदूरपश्चिम एमालेमा पनि कारबाही प्रकरण चलेको थियो । त्यहाँ भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै प्रदेश लेखा कमिटी सदस्य बालगिरी कुँवरलाई एमालेले निष्कासन गरेको थियो ।

त्यसअघि एमाले अछामले पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न रहेको भन्दै ६ जनामाथि कारबाही गरेको थियो । अछाममा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश बहादुर शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, शंकर भुल, रतन रावल तथा साफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई पार्टी कमिटीको पदीय जिम्मेवारीबाट एमालेले मुक्त गरेको थियो ।

  • केन्द्रमा पाण्डे र तिम्सिनाको कारबाही कायमै

गत पुसमा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट मुक्त गरेको थियो । व्यवसायी मिनबहादुर गुरुङले पार्टी कार्यालय भवन बनाउन जग्गा दिएको विषयलाई विरोध गरेपछि एमाले सचिवालय बैठकले नेताद्वय पाण्डे र तिम्सिनालाई कारबाही गरेको हो । उनीहरूको कारबाही गत साता नै फुकुवा गर्ने प्रस्ताव एमाले केन्द्रीय सचिवालय बैठकमा पुगे पनि निर्णय हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप