मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने

महेन्द्रनगर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी बजेटमा मधेस प्रदेशमा नयाँ रङ्गशाला निर्माण तथा पुराना संरचना मर्मतका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट सङ्घको समन्वयमा आजदेखि जनकपुरधामको रजौलमा रहेको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको तेस्रो जनकपुरधाम मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए ।
मन्त्री चौधरीले मधेस प्रदेशमा आयोजना हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधारका निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर आगामी बजेट विनियोजन गर्ने बताएका हुन् ।
उनले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तरराष्ट्रिय रङ्गशाला निर्माणमा मन्त्रालयले गुठी संस्थानसँग सम्झौता गराउन पहल गरिरहेको जानकारी गराए । खेलकुदको विकासमा स्थानीय तहको अहम् भूमिका रहने उल्लेख गर्दै जनकपुरधाम उपमहानगरपालिकाले निरन्तर मेयर कपको आयोजना गरेर खेल तथा खेलाडीको मनोबल बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले प्रशंसा गरे ।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले जनकपुरधाममा रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि वैधानिक प्रक्रिया अगाडी बढाइसकेकाले चाँडै रंगशाला निर्माणको बाटो खुला हुने बताए ।
उनले मधेस प्रदेशकै आठ जिल्लामा रङ्गशाला निर्माण गर्ने पक्षमा प्रदेश सरकार रहेको बताए । पुराना अधुरा खेलकुदको आयोजना निर्माण सम्पन्न गर्नुपर्ने दायित्व प्रदेश सरकारकै भएको उनको धारणा छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालाको निर्माण प्रक्रिया अगाडि बढिसकेको र चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष पद्म खडकाले नेपाली खेलकुदको विकासका लागि तीनै तहका सरकारको सहयोग र साथ आवश्यक भएको बताए ।
आजदेखि जेठ २ गतेसम्म सञ्चालन हुने तेस्रो जनकपुरधाम मेयर कप प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका अतिरिक्त भारतको बिहारका मुजफ्फरपुर, पुरनीया, उत्तर प्रदेशका लखनाऊ र दिल्लीका ४ टिम गरेर कूल १२ टिमको सहभागिता रहेको छ ।
टी–२० क्रिकेट प्रतियोगितामा विजेता टिमलाई रु दुई लाख नगद र ट्रफी, उपविजेतालाई रु एक लाख २५ हजार नगद र ट्रफी, प्रत्येक दिनका म्यान अफ दि म्याच हुने खेलाडीलाई केएफसिको रु पाँच हजारको गिफ्टका साथै रु तीन हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा वेष्ट व्याट्स म्यानलाई रु १० हजार, वेष्ट बलरलाई रु १० हजार, म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १५ हजार नगद र ट्रफीसहित पुरस्कृत गरिने जिल्ला क्रिकेट सङ्घका सचिव अशिष झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव