शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन

आर्थिक वर्ष २०८०/०८१ मा चिकित्सा शिक्षाका एक हजार ५२१ सिटमा विद्यार्थी भर्ना भएनन्

बुधबार, ३१ वैशाख २०८२, १५ : २६
बुधबार, ३१ वैशाख २०८२

सारांश

  • आ.व. २०८०/०८१ मा चिकित्सा शिक्षाका १५२१ सिट खाली रहे। महालेखापरीक्षकको प्रतिवेदनले यो तथ्याङ्क सार्वजनिक गरेको छ।
  • राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार प्रवेश परीक्षाबाट छनोट भएका विद्यार्थी भर्ना गर्नुपर्ने व्यवस्था छ।
  • स्नातक तहमा ७,६०६ सिटमध्ये ६,३४२ जना भर्ना भए, भने स्नातकोत्तर तहमा १,७२४ सिटमध्ये १,४६७ जना भर्ना भए।
  • प्रतिवेदनले सिट खाली हुनुको कारण पत्ता लगाई सुधार गर्न सुझाव दिएको छ।

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा चिकित्सा शिक्षाका एक हजार ५२१ सिटमा विद्यार्थी हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनले यस आर्थिक वर्षमा मेडिकल शिक्षाका लागि छुट्याइएकामध्ये उक्त सिटमा विद्यार्थी भर्ना हुन नसकेका देखाएको हो । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ मा चिकित्सा शिक्षा आयोगले प्रत्येक वर्ष शिक्षण संस्थाको लागि सिट सङ्ख्या तोकेर प्रवेश परीक्षाबाट छनोट भएका विद्यार्थीलाई म्याचिङ प्रणाली अनुरूप भर्ना गर्नुपर्ने व्यवस्था छ । 

आर्थिक वर्ष २०८०/०८१ मा स्नातक तहतर्फ मेडिकल र प्यारा मेडिकलसमेत १५ कार्यक्रमका लागि सात हजार ६०६ सिट तोकिएको थियो । त्यसका लागि ५२ हजार ७८१ विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । जसमा २३ हजार २८६ (४४.१२ प्रतिशत) उत्तीर्ण भएकाका थिए । ती मध्ये ६ हजार ३४२ (२७.२३ प्रतिशत) ले भर्ना पाएका थिए । 

त्यस्तै स्नातकोत्तर तहतर्फ ११ कार्यक्रममा एक हजार ७२४ सिटको लागि ९ हजार ६०२ विद्यार्थी प्रवेश परीक्षा दिएका थिए । ती मध्ये चार हजार ४५२ उत्तीर्ण भएका थिए । ती मध्ये एक हजार ४६७ (३२.९५ प्रतिशत) जनाले भर्ना पाएका थिए । 

प्रवेश परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या उल्लेख्य भए पनि आयोगले निर्धारण गरेको सिटमध्ये स्नातक तहमा एक हजार २६४ र स्नातकोत्तर तहमा २५७ सिटमा विद्यार्थी भर्ना नभएको प्रतिवेदनमा उल्लेख छ । 

विभिन्न कार्यक्रमको लागि निर्धारित सिटमा विद्यार्थी भर्ना न्यून हुनाको कारण पहिचान गरी यसमा सुधार गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप