ढल्केबरको ढुङ्गो र अन्तरेहरू

समाचार सारांश
- २०६३ माघमा ढल्केबरमा मधेसी आन्दोलनकारी र नागरिक टोलीबीचको जम्काभेटको घटनाको वर्णन छ।
- आन्दोलनकारीको ढुङ्गा प्रहारबाट बचेको अनुभव र त्यसपछिको यात्रामा व्यक्त विचारहरू समेटिएका छन्।
- लेखमा मधेसी नेता र काठमाडौंका सद्भाव र्यालीको आलोचना गर्दै अन्तरे प्रवृत्तिको चित्रण गरिएको छ।
१५ माघ २०६३ । गोधूलि साँझपछिको बेला । ज्ञानशास्त्रका डाक्टर देवेन्द्रराज पाण्डे हाम्रो नागरिक यात्राको जोखिमपूर्ण अग्ररेखामा उभिएका थिए । रिजर्भ गरिएको माइक्रो भ्यान नागरिक आन्दोलनको हाम्रो सानो टोलीलाई बोकेर लहानबाट ढल्केबरतिर भद्र गतिमा गुडिरहेको थियो । प्रत्येक आठ–दस किलोमिटरको दूरीमा बिच सडकमा मधेसी आन्दोलनकारीका अढाइ–तीन सयका समूहसँग के होला, कसो होलाको मनोदशामा हाम्रो जम्काभेट भइरह्यो । उत्पीडनग्रस्त आन्तरिक उपनिवेशमा जातीय अस्मिता, सामाजिक न्याय र सांस्कृतिक पहिचानको उदात्त ध्वजा बोकेर आँधीमय वेगमा उठेको मधेसी आन्दोलनका यी सजग र संयमित बन्धुहरूले कतै करतल ध्वनिले, कतै हातको इसाराले ‘जाओ, जाओ’को सन्देश दिँदै हामीलाई स्वागतमय बिदाइ गरे । जब ढल्केबर पुगियो, एउटा दुष्ट ढुङ्गो उद्दण्ड वेगमा बत्तिँदै हाम्रा थकित ज्यानहरूमाथि दागा धर्न आइलाग्यो ।
बहुआयामिक अर्थ लाग्ने ढल्केबरका ढुङ्गाको कथा बडो रोमाञ्चक छ । म यहाँ त्यसका केही केस्रा केलाएर त्यो कथाको एक किस्ता कहन्छु ।
सडकमाझ उल्टो दिशाबाट प्रवाहमय नदीझैँ आन्दोलनकारीको गतिमान समूह बेत्तोडले बग्दै हामीतिर आयो । आसन्न अनिष्टको कल्पना गर्दै बिताउने पो हुन् कि भनेर हाम्रो टोली सतर्क भयो । उसो त हुलचालको हुरीमा पर्न लागेको एकबारको जुनीलाई सम्झेर हाम्रो टोली किञ्चित् झस्क्यो पनि । भीडमा आन्दोलनकारीहरू परैबाट चिनिने गरी दुई थरी थिए । एक थरी हत्तपत्त हाम्रो गाडीलाई घेरा हालेर सम्भावित प्रहारबाट हामीलाई जोगाउन र सुरक्षित निकास दिन आतुर मुद्रामा अघि सरे । काला पट्टीले नाकमुख छोपेर परिचय लुकाएका अर्का थरी हातहातमा लाठा र ढुङ्गा बोकेर उन्मादी हुँकार प्रकट गर्दै बिच्केका अरिङ्गालझैँ हामीमाथि खनिन आइलागे ।
एक युवकले उत्ताउलिएर उफ्रिँदै हाम्रो भ्यान अगाडिको सिसामा बजार्न हेमानको लट्ठी उजायो । भिन्न मतको अर्को युवकले त्यो लट्ठी बिचैमा समातेर त्यसको प्रहारलाई निस्तेज तुल्याइदियो । हामीलाई जोगाउन यत्नशील युवाहरू यिनीहरू मधेसी आन्दोलनका शुभचिन्तक हुन् भनेर उपद्रवीलाई सम्झाउन ठुलो स्वरमा हाम्रो चिनारी दिँदै थिए । यत्तिकैमा भ्यानपछाडिको सिसामा भयकारी आवाज निकाल्दै आधा किलोको एउटा ढुङ्गो ड्याङ्ग बज्रियो । एउटा सूक्ष्म कण समेत शेष नरहने गरी सिसा सतचूर्ण भयो । सडकमा विकराल कालको चलखेल देखेर हाम्रो टोली स्तब्ध भयो । अनिश्चय, चिन्ता र भयले गाँजेको मेरो चित्तमा तत्क्षण अकल्पनीय आशङ्काका उत्ताल तरङ्गहरू उठे । अब पलभरमै हाम्रो भ्यानमा आगो झोसिनेछ र टोलीका हामी सबै कुटीकुटी, कुल्चीकुल्ची, चिमोटीचिमोटी एकै थलोमा मारिनेछौँ । ज्या है, एकबारको जुनी ढल्केबरमै सकिने भो ! तरे बिरल संयोगले हामीलाई बचायो । न्यायमार्गी, विवेकवान् र संयमित युवाहरूले आफ्नो गोलोमा घुसेका उद्दण्डहरूलाई छेकेर, घँचेटेर र थर्काएर वशीभूत गरे । अनि तिनले व्यग्र आतुरतासाथ बाटो खोल्दै हाम्रो भ्यान अगाडि कुदाएर मृत्युको मुखबाट हामीलाई उद्धार गरिदिए ।
गाडीका सारथी गुरुजी युवावयका सञ्जीव सिंह थिए । ज्यानै जान सक्ने त्यत्रो उत्पात् आइलाग्दा पनि ती युवक रतिभर विचलित भएनन् । शान्त र सन्तुलित हातले अघिजस्तै भद्र गतिमा तिनले गाडी अगाडि हुइँक्याए । म गाडीको अघिल्लो सिटमा झ्यालमा बसेको थिएँ । पाण्डेजी थिए, गुरुजी र मेरो बिचमा । ठुलै संजोगले टरेको दुर्घटनाको आघातले उनलाई निकै मर्माहत तुल्याएको मैले छनक पाएँ ।
यत्रो घुमाइमा केही भएको थिएन । संग्रौलाजी, आखिरमा यो क्या अप्रिय घटना घट्यो ! पाण्डेजीको स्वर खिन्नताको गहिरो दहबाट उठेको थियो ।
डाक्टरसाप्, यो घटना एकदमै अनपेक्षित त होइन नि । आखिर आगो टेकेरै भए पनि मधेसी आन्दोलनको नाडी छाम्ने त हाम्रो सङ्कल्पै थियो, होइन र ?
अरु त अरु, मधेसीजनका भोटको भर्याङ चढेर सिंहदरबारको राजसी भोजनालयमा पसेका र चालु आन्दोलनमा नायकको अभिनय गर्दै काठमाडौँमा बसेका कतिपय मधेसी नेताहरूले पनि हामीलाई यस्तै सल्लाह दिए । मुलुकका सकल अन्तरेहरूमध्ये यी महानतम अन्तरेहरू हुन् !
तैपनि... ।
वास बस्नलाई निकटवर्ती बर्दिवास पुग्न भनेर हाम्रो गाडी तीव्र गतिमा गुड्दो छ । गाडीभित्र एक थान क्रूर मृत्युबाट जोगिएर नाफाको जिन्दगी बाँचिरहेका हामी यात्रुहरूमाझ सघन मौनता व्याप्त छ । अशान्त मनोदशा किञ्चित् शान्त भएपछि हामीमाझ पत्थर प्रहारको परिणतिको चर्चा सुरु भयो ।मलाई घिच्चुकमा ढुङ्गाको हल्का स्पर्श प्राप्त भयो, पत्रकार महासङ्घका सभापति विष्णु निष्ठुरीले विनोदी भावमा भने— केही छैन, मेरा टाउकाको लेआउट सहीसलामत छ । तिनको बोलीमा अत्यास, भय, क्रोध वा उत्तेजना केही ध्वनित भएको थिएन । त्यो देखेर मलाई लाग्यो, यी निष्ठुरी ज्यानमारा शाही कुशासनसँग जुधेर अनेकौँ मृत्युहरूलाई परास्त गरी मृत्युको भयदेखि माथि उठेका महान् जीव रहेछन् ।
सम्झेँ, निष्ठुर ढुङ्गालाई निष्ठुरीका टाउकाको लेआउट कुच्याउन नदिन धन्न हाम्रो ब्यानरले ठुलो काम गर्यो । ब्यानर गाडीपछाडि सिसामाथि टाँगिएको थियो । त्यसले ढुङ्गाको वेगमाथि कमसे कम हल्का ब्रेक लगाएर निष्ठुरीलाई पुनर्जीवन प्रदान गर्यो । नत्र अनुहार लुकाएर प्रतिगामी कोणबाट हानिएको त्यो ढुङ्गाले के नतिजा पैदा गथ्र्यो, त्यसको कल्पनासम्म मेरा लागि भयावह छ ।
विचारतरङ्गको वायुयानमा सवार भई मेरो मन उडेर काठमाडौँ पुग्यो । दिउँसो काठमाडौँमा राजधानीका सुकोमल देह भएका धूपदीपवादी सज्जनहरूको पहलमा सद्भाव र्याली भएको सुनेका थियौँ । उसो त मधेस झर्नुअघि हाम्रो नागरिक आन्दोलनले पनि सद्भाव भेला नगरेको होइन । तर हामीले जब यसबारे आन्दोलनकारी मधेसीहरूको प्रतिक्रिया सुन्यौँ, हाम्रा शिर लाज र ग्लानिले लत्रिए । केको सद्भाव भेला र र्याली ? तिनले हामीमाथि यसरी कटाक्ष गरे । हामीले कहाँ दुर्भाव पैmलाएका छौँ र काठमाडौँमा सद्भावको नौटङ्की रच्नुपर्यो ? तिनको प्रतिक्रिया क्रोधाग्निले धपधपी बलेको थियो । राजधानीका सद्भावसभा र र्यालीलाई तिनले आफ्नो अपमान र आफ्नो आन्दोलनको विरुपीकरणका रूपमा हेरेका रहेछन् ।
घुम्दै, फिर्दै मुखर स्वभावका पाण्डेजीको बोल्ने पालो आयो । सोधे— होइन, यी सद्भाव र्यालीवालाले यसपाला लोकतान्त्रिक गणतन्त्र चाहियो पनि भने कि !
गाडीभित्र हठात् समवेत हाँसोको लहर उठ्यो । त्यो हाँसो हरि रोका र श्याम श्रेष्ठ, दिव्य झा र अनुभव अजित, विष्णु निष्ठुरी र भाष्कर गौतम, विनु र रुपकको व्यङ्ग्यभावको सुन्दर सङ्गम थियो ।
केकोे भन्थे नि ? प्रत्युत्तरमा पाण्डेजीलाई मैले भनेँ, दरबारसँग आन्द्रो गाँसिएको तिनको परम प्रिय वर्गस्वार्थले तिनलाई यसो भन्न के दिन्थ्यो नाइँ ?
गाडीभित्र अर्को राउन्ड उन्मुक्त हाँसो छताछुल्ल भयो ।
हाम्रो यात्रु टोलीको केन्द्रीय पात्र छुकछुके मति भएको ननस्टप बोलिरहने खलाँसी केटो थियो । विष्णु निष्ठुरीले ठट्टैठट्टामा उसको नाउँ अन्तरे राखिदिएका थिए । यो अन्तरे यात्राभरि एकसाथ हाम्रो हैरानीको पनि र हाँसोको पनि कारक बनिरह्यो । गाडी रोकेर सु गर्न ओल्र्यो, ऊ सुइत्त कतै गायब हुन्छ । सडकमा ढुङ्गाको रास वा रुखको अवरोध पन्छाउन थाल्यो, ऊ ओरको सिन्को पर सार्दैन । ऊ त दम्भयुक्त सानले पारस मुद्रामा उभिएर यसो गर, उसो गर भन्दै अरुलाई अरनखटन गर्छ । घरी विनासूचना ऊ कतै अलप हुन्छ र हामीलाई उसलाई खोज्नको दास्ती हुन्छ । घरी ऊ केके अनर्गल कुरा झिकेर सुन्नेहरूलाई महाबोर गर्छ । उसलाई न हतार छ, न त उसमा जिम्मेवारीबोध नै छ । जब गुरुजी सञ्जीव सिंह उसलाई सम्झाउन खोज्छन्, ऊ उल्टै उनलाई ओठे जवाफ फर्काउँछ । अन्तरेको चुलबुले चाल र बेसोमत आचरण देखेर आजित भएका विष्णु निष्ठुरी टिप्पणी गर्छन्, यो राम्ररी फिनिसिङ नभईकन जन्मेको अन्तरे हो ।
त्यो सानो अन्तरे एउटा प्रवृत्तिको प्रारूप हो र त्यो एउटा प्रतीक हो । ऊ हाम्रा धेरैजसो राजनीतिक नेताहरूको प्रवृत्तिको प्रतिविम्ब पनि हो । जीवन हिँड्ने बाटो छेकेर ऊ ठिङ्ग उभिन्छ । ऊ न हिँड्छ, न हिँड्न मन गर्नेहरूलाई बाटो छाडिदिन्छ । लाग्छ, अन्तरेलाई झैँ हाम्रा अधिकतर नेताहरूलाई कतै जानु र कतै पुग्नुको हतार छैन । उसमा झैँ यिनमा पनि न इख छ, न त पूर्व अनुभवबाट सिक्ने चेत र चातुर्य नै छ । उसमा झैँ यिनमा पनि न यथेष्ट संवेदनशीलता छ, न त दायित्वबोध नै छ । सानो अन्तरेझैँ विवेक र विचारको फिनिसिङ नभई राष्ट्रिय राजनीतिको केन्द्रमा अवतरित हुन पुगेका यी ठूला अन्तरेहरू कसैका कुरा सुन्दैनन्, कसैलाई गन्दैनन् । राजनीतिमा जब काम बिग्रिसक्छ, तब मात्र यी लम्पट निद्राबाट झल्याँस्स हुन्छन् ।
रौतहटस्थित आफ्नो पैतृक घरको धुरीबाट धुवाँ पुतपुताएको देखेपछि माधवकुमार नेपाललाई बल्ल मधेसीका पीरमर्काको अलिकता याद आयो । जब आफ्नै घरमा आगो झोँसिने खतरा पैदा भयो, तब मात्र रामवरण यादव र विमलेन्द्र निधिलाई जनकपुर ओर्लिन तातो लाग्यो । त्यसअघि हाम्रो सानो अन्तरेझैँ यी र यस महलका सबैजसो भोजनानुरागी र सुकलामार्गी नेताहरू मधेसमा भइरहेको उत्पातका कथा चैनले सुन्दै काठमाडौँमा मग्नसँग दिन काटिरहेका थिए । मधेसी र जनजाति, महिला र दलित, कर्णाली र महाकालीका सत्तापीडित नागरिकका स्वतन्त्रता र समृद्धिका चिरसपनालाई जानाजान अन्तरिम संविधानबाट पाखा पार्दा यिनलाई मधेसी, जनजाति र अरुहरूले भोलि नै यसरी आगो बाल्लान् भन्ने पूर्वाभास वा फिक्री केही पनि थिएन । यी त मानौँ पारसपिता राजा ज्ञानेन्द्रझैँ कसैका कुरा नसुनी, कसैलाई रौँबराबर नगनी आफ्नो निहित स्वार्थको परम्परागत झुत्रे यात्रामा वृद्ध बयलझैँ लुरुलुरु हिँडिरहेका थिए । यो अन्तरे प्रवृत्ति राजावादी सामन्ती संस्कृतिको जड हो । इतिहासले थोपरेको यो एउटा त्यस्तो अवरोध हो, जसलाई तह लगाउन हाम्रा छिप्पट अन्तरेहरूका दिमागमा जागेका मधेसीहरूले झैँ घरीघरी चेतनाको आगो झोसिरहनु जरुरी छ ।
अकर्मण्य र अल्छी चरित्रका अन्तरेहरू सामाजिक समस्याको धड्कन छाम्न र तिनको निराकरण खोज्न आफू त अघि सर्दैनन् नै, अघि सर्न खोज्नेहरूलाई किञ्चित् हौसला पनि दिँदैनन् । तिनले त बरु जोखिम उठाएर अग्रसर हुन खोज्नेहरूको उत्साहमा उल्टै ठण्डा पानी पो खन्याइदिन्छन् । यो मधेस जानुअघि हाम्रो नागरिक टोलीले आर्जन गरेको कटु अनुभव हो । मधेस नजाओ, ज्यान जाला भनेर हामीलाई भयभीत तुल्याउने अन्तरेहरू थुप्रै थिए । अरु त अरु, मधेसीजनका भोटको भर्याङ चढेर सिंहदरबारको राजसी भोजनालयमा पसेका र चालु आन्दोलनमा नायकको अभिनय गर्दै काठमाडौँमा बसेका कतिपय मधेसी नेताहरूले पनि हामीलाई यस्तै सल्लाह दिए । मुलुकका सकल अन्तरेहरूमध्ये यी महानतम अन्तरेहरू हुन् !
सके ढल्केबरका ढुङ्गाको निर्मम कथा सुनेर कतिपय अन्तरेहरूले हामीतिर फर्केर काखी बजाउँदै खुच्चिङ भन्लान् । तर यसमा हामीलाई कुनै खेद छैन । राजधानीमा थरीथरीका अन्तरेहरू भाते निद्रामा मस्त सुतिरहँदा कमसेकम हामी नागरिक आन्दोलनका यात्रीहरू उठेर सकिनसकी कतै पुग्न भनेर हिँडिरहेका थियौँ । एकबारको यो अमूल्य जीवन ढल्केबरका ढुङ्गाले टाउकाको लेआउट बिगार्ला कि भन्ने डरले केवल सुतिरहनलाई होइन ।
विगतबाट साभार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला