मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक

हालैको सन्दर्भ हो, धनुषाबाट काठमाडौँ आएर बसोबास गर्ने एकजना मैथिलले सत्यनारायण भगवान्को पुजनोत्सवको आयोजना गरेका थिए । पूजामा काठमाडौँ उपत्यकाका थुप्रै मैथिल आमन्त्रित थिए । पूजालाई भव्यताको आवरण पहिर्याउन कुनै पनि कसर बाँकी राखिएको थिएन । भव्य भोजको व्यवस्थासहित आमन्त्रितमध्येका ब्राह्मणलाई धोती, कुर्ता र पाग (मिथिला क्षेत्रमा प्रचलित टोपी) दिई बिदाइ गरिएको थियो । त्यसै गरी पूजामा उपस्थित महिलालाई चुरा, सिन्दुर, टीका, काइँयो आदि प्रदान गरिएको थियो । यति मात्र होइन भोजपछि आमन्त्रितलाई गन्तव्यसम्म फर्कन गाडीको पनि व्यवस्था गरिएको थियो । यो सबै नियालेर हेरिरहेका दुईजना आमन्त्रित कुरा गरिरहेका थिए— सामान्य सत्यनारायण भगवान्को पूजामा यत्रो तामझाम ? हामीले कसरी यस्तो पूजा गर्नु ? पूजा त गरौँला रे तर यत्रो खर्च त कसरी गर्न सकिन्छ ?
काठमाडौँमा मात्र होइन मैथिल समुदायका मानिस अहिलेको विश्वमा जहाँ–जहाँ बसोबास गरिरहेका छन्, सबै ठाउँमा यस्तो दृश्य सामान्य बन्न पुगेको छ । मैथिल समुदायमा भगवान् सत्यनारायणको पूजाको प्रचलन व्यापक छ । यो पूजा अत्यन्त सामान्य तरिकाले सम्पन्न गर्न सकिने विधान छ । सत्यनारायण पूजाविधिमा कृत्रिम भव्यता र आडम्बरलाई एक प्रकारले निषेध नै गर्ने प्रयत्न गरिएको छ, तर यो भावनाविपरीत पूजालाई भव्य बनाउने नाममा प्रतिस्पर्धाले स्थान पाइरहेको छ । परिणाम, पूजाको मौलिक भावमाथि अतिक्रमण भइरहेको छ । एक किसिमले आस्था र विश्वास पराजित भइरहेको छ । समाजले समयमै खबरदारी गर्न नसक्दा सिङ्गो सामाजिक मूल्य–मान्यता नै प्रभावित हुने वा हुन सक्ने अवस्थाको सिर्जना भएको छ ।
यो त भयो सामान्य सत्यनारायण पूजाको अवस्था । यो त उदाहरण हो । मैथिल समुदायका विविध संस्कारमा आयोजना गरिने प्रत्येकजसो पर्व र आध्यात्मिक महत्त्वको अनुष्ठानको अवस्था यस्तै छ । मिहीन ढंगले विश्लेषण गर्ने हो भने मिथिलामा पारम्परिक रूपमा प्रचलित चाडपर्व वैज्ञानिक महत्त्वका छन् । सबैजसो पर्व, प्रथा र प्रचलन वैज्ञानिक आधारमा अडिएका छन् । यस्तै यी चाडपर्वले सामाजिक सद््भाव र एकताको भाव प्रवर्द्धन गर्छन् । समाज निर्माणको सन्देश प्रवाहित गर्न यी चाडपर्व र अनुष्ठानको विशेष महत्त्व छ । महापर्व छठ होस् वा दशमी; दीपावली, भ्रातृद्वितीया (भाइटीका) होस् कि चौठचन्द्र (चौरचन); जितिया, घडी पर्व होस् वा अनन्त चतुर्दशी; जुडशीतल सिरुवा, जनकपुरमा प्रत्येक पूर्णिमाका दिन आयोजित हुने मेला होस् वा होली, नागपञ्चमी, वटसावित्री वा मधुश्रावणी पर्व होस्— यी सबैको विश्लेषण गर्ने हो भने सबैमा विज्ञानको उपस्थिति पाइन्छ ।
मिथिलाका पर्व र आध्यात्मिक अनुष्ठानहरू यति महत्त्वपूर्ण हुँदाहुँदै पनि पछिल्ला दिनमा क्रमशः यिनले आफ्नो मौलिकता गुमाउँदै गएको भान हुन्छ । आडम्बर, प्रतिस्पर्धा, तडकभडक आदिले अनपेक्षित महत्त्व पाउँदा यी पर्वलाई विकृति र विसंगतिले घेर्दै गएको पाउन सकिन्छ । मिथिलाको संस्कृतिमा जुवातास र मद्यपान एक किसिमले वर्जित मानिन्छ, तर पछिल्ला दिनमा मिथिलामा आयोजित हुने अनेक उत्सवमा जुवातास र मद्यपानको निर्बाध प्रयोग हुने गरेको पाउन सकिन्छ ।
सत्यनारायण भगवान्को पूजामा यत्रो तामझाम ? हामीले कसरी यस्तो पूजा गर्नु ? पूजा त गरौँला रे तर यत्रो खर्च त कसरी गर्न सकिन्छ ?
छठ पर्वलाई मिथिलामा महापर्व पनि भनिन्छ । मिथिला समुदायका सबैले मान्ने भएकाले यस पर्वलाई मिथिलाको सबैभन्दा ठुलो पर्व पनि भन्ने गरिएको छ । यो पर्वको मूलतः दुईवटा सन्देश महत्त्वपूर्ण छन्— पहिलो, सामाजिक सद्भाव । समाजमा सबै समान छन्, कोही सानो र ठुलो छैन । दोस्रो, पर्यावरणको संरक्षणबारे सचेतना जागृति । पछिल्लो समयमा यी दुवै सन्देशमा ग्रहण लाग्ने अवस्था विकसित भइरहेको छ । छठ घाट रुङ्न रात बिताउने नाममा जुवातासको प्रयोग सामान्य भइसकेको छ । छठकै सन्दर्भमा भन्ने हो भने घाटको सजावटका नाममा ठुलो रकम खर्च गरेर तडकभडक स्वीकार गर्ने नयाँ परम्पराको विकास भइरहेको छ । यसले जहाँ एकातिर प्रतिस्पर्धाको भाव विकसित भई पर्वमा पनि हुने र नहुनेबिचको दूरी स्पष्ट देखिने अवस्था उत्पन्न भएको छ भने अर्कोतिर पर्वको मौलिकता र मूल सन्देशमाथि नै प्रश्नचिह्न तेर्सिने अवस्था सिर्जिएको छ ।
यस्तै, मिथिला समाजमा दसैँ र दीपावली (दिवाली, सुकराति) पनि बडो महत्त्वका साथ मनाइने गरिन्छ ।
मिथिला आफ्नो भावी सन्ततिलाई कस्तो समाज हस्तान्तरण गर्न चाहन्छ ? वर्तमान पुस्ता यसबारे सचेत हुनु आवश्यक छ । सन्देशविहीन कृत्रिम चाडपर्वयुक्त समाज कि सबै अटाउने ‘वसुधैव कुटुम्बकम’को भावयुक्त विचारशील समाज ?
महान् पर्व दसैँलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजय पर्वका रूपमा स्विकारिन्छ, तर यो पर्वको महत्त्व यतिमा मात्र सीमित छैन । व्यावहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महत्त्व परिवार जोड्नेसँग पनि छ । छठ र दसैँको अवसरमा प्रत्येक मिथिलावासी आफ्नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुन्छन् । टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै राग–द्वेष बिर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै भविष्यको नयाँ निर्माणमा सक्रिय हुन्छन् । परिवारका सदस्यको कल्याण र उन्नति सबैको अभीष्ट हुन्छ । वास्तवमा यो पर्वले पारिवारिक संवादको वातावरण पनि निर्माण गर्दछ, जहाँ सबै छलफलमा सहभागी हुन्छन् । पछिल्लो समयमा भने दसैँको संवाद क्षमता कमजोर बनिरहेको पाउन सकिन्छ ।
दसैँ पर्वले हामीलाई वर्षौंदेखि पारम्परिक रूपमा सामूहिकता र सामाजिक एकताको पाठ पढाउँदै आएको छ । निश्चय पनि दसैँ परिवारका सबै सदस्य एकत्रित हुने साझा पर्व हो, तर पछिल्ला वर्षमा दसैँले हामीलाई एकत्रित हुन र एकअर्काको सुखदुःखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन ? दसैँले आफ्नो पारम्परिक महत्त्व किन निर्वाह गरिरहेको छैन र अर्थ गुमाउँदै छ ? हाम्रो समाजले यस्ता प्रश्नको जवाफ खोज्ने प्रयत्न गर्नु अपेक्षित छ । स्वाभाविक रूपमा मिथिला समाज पनि अपवाद छैन ।
सत्यनारायण पूजाविधिमा कृत्रिम भव्यता र आडम्बरलाई एक प्रकारले निषेध नै गर्ने प्रयत्न गरिएको छ, तर यो भावनाविपरीत पूजालाई भव्य बनाउने नाममा प्रतिस्पर्धाले स्थान पाइरहेको छ । परिणाम, पूजाको मौलिक भावमाथि अतिक्रमण भइरहेको छ । एक किसिमले आस्था र विश्वास पराजित भइरहेको छ ।
दीपावली शरदागमनको आगमनको संकेत गर्दै उज्यालोको महत्त्व दर्शाउने पर्व हो । यो पर्वको बहानामा घर–आँगनको बृहत सरसफाइ गर्ने एक किसिमको परम्परा हो, तर पछिल्लो समय दीपावलीमा जुवातास, पटकाजस्ता विस्फोटकको प्रयोग, दीपोत्सवका नाममा जथाभावी बिजुलीको प्रयोगले पर्वमा विसंगति थप्दै लगेको छ भन्दा असत्य ठहर्दैन । यति मात्र होइन पर्वमाथि प्रविधिको प्रभावलाई अस्वीकार गर्न सकिने अवस्था छैन । डिजिटल प्रभावबाट मिथिलाका चाडपर्व पनि मुक्त छैनन् ।
माथि उल्लेख गरिएका केही पर्व र तिनको अवस्थालाई यहाँ उदाहरणका रूपमा मात्र प्रस्तुत गरिएको छ । मसिनो गरी हेर्ने प्रयत्न गरियो भने मिथिला समाजमा आयोजित हुने सबै पर्व यस्ता समस्याबाट ग्रसित छन् । दुःखको कुरो के भने यी समस्याबारे जानकार सबै छन्, तर समस्या समाधानको दिशामा कोही पनि अग्रसर छैनन् ।
पछिल्लो समयमा त मिथिलाका चाडपर्व र आध्यात्मिक महत्त्वका अनुष्ठानमा राजनीतिका बाछिटा पनि पर्न थालेका छन् । कतिपय सन्दर्भमा पर्वहरूमाथि राजनीतिको स्पष्ट प्रभाव देखिन्छ, अथवा अझै स्पष्ट ढंगले भन्ने हो भने पर्वको पनि राजनीतीकरण गर्ने प्रयत्न भइरहेको छ । चाडपर्वका नाममा हुने जनउपस्थितिलाई मतदाता आकर्षित गर्ने अवसरका रूपमा समेत राजनीतिकर्मीले बुझिदिँदा पर्वका मौलिकताहरू क्रमशः विस्थापित हुने जोखिम बढेको छ भन्दा अतिशयोक्ति हुँदैन । कतिपय सन्दर्भमा त यस्ता धार्मिक अनुष्ठान आयोजनमै समेत राजनीतिको महत्त्वपूर्ण आर्थिक योगदान रहने गरेको छ ।
यस्तोमा प्रश्न उठ्छ, जब राजनीति नै यस्ता विकृति निर्वाहमा सक्रिय हुन्छ भने वैधरूपमा यस्ता विकृति अन्त्यतर्फको सक्रिय हुने ? कानुन बनाउने र कार्यान्वयन गर्नेहरू नै जब मूल दायित्वबाट उन्मुक्ति चाहन्छन् भने स्थानीय प्रशासन कमजोर बन्नुलाई अस्वाभाविक मान्न मिल्दैन । हालका दिनमा मिथिला समाजमा भइरहेको यही हो ।
यो पृष्ठभूमिमा एउटा महत्त्वपूर्ण प्रश्नको उठान गर्न सकिन्छ— मिथिला आफ्नो भावी सन्ततिलाई कस्तो समाज हस्तान्तरण गर्न चाहन्छ ? वर्तमान पुस्ता यसबारे सचेत हुनु आवश्यक छ । सन्देशविहीन कृत्रिम चाडपर्वयुक्त समाज कि सबै अटाउने ‘वसुधैव कुटुम्बकम’को भावयुक्त विचारशील समाज ? भविष्य कता डोर्याउने हो, त्यसको निश्चय पनि वर्तमानको नियन्त्रणमा छ । यति मात्र होइन चाडपर्व संस्कृतिका अभिन्न अंग हुन् र संस्कृति कुनै पनि समाजको परिचय र पहिचानसँग सम्बन्धित छ । चाडपर्वको मौलिकतामाथि प्रश्न तेर्सिनुको अर्थ हो, समाजको पहिचानमाथि नै संकट उत्पन्न हुनु । यस यथार्थलाई जतिसक्दो छिटो स्वीकार गरी आवश्यक रणनीति निर्माण र कार्यान्वयनमा नजुट्ने हो भने भविष्यमा समाजको नियन्त्रण अरुकै हातमा पुग्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।