आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : सुर्खेतको विकासमा विभेद

पश्चिम सुर्खेतको कायाकल्प गर्ने मदन भण्डारी राजमार्ग

आइतबार, ०४ जेठ २०८२, १० : ३६
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • मदन भण्डारी राजमार्ग सुर्खेतको लाइफलाइन हो, जसले पश्चिम सुर्खेतमा बड्डीचौरदेखि पाल्पाघाटसम्म कर्णाली नदी किनारलाई जोड्दछ।
  • राजमार्गको पश्चिम खण्डमा काम भइरहेको छ, जसमा विद्यापुरदेखि बल्देसम्म ६५% भौतिक प्रगति भएको छ र ०८२ फागुनसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
  • राजमार्गले सुर्खेतलाई सुदूरपश्चिमसँग जोड्नेछ र यसले सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटकीय क्षेत्रमा ठूलो योगदान पुर्याउनेछ।

मदन भण्डारी राजमार्ग समग्र सुर्खेत जिल्लाको ‘लाइफ लाइन’ हो । यो राजमार्गले पश्चिम सुर्खेतमा बड्डीचौरदेखि पाल्पाघाटसम्म कर्णाली नदी किनारलाई छुन्छ । त्यसको दुरी करिब ९० किलोमिटर हुन्छ । राजमार्ग अन्तर्गत पश्चिम खण्डको खम्बागाडेदेखि लगामसम्मको ४७ किलोमिटरमा अहिले मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतबाट काम भइरहेको छ ।

विद्यापुरदेखि बल्देसम्मको २२ किलोमिटर सडकमा ६५ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको छ । ०८२ फागुनसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । खम्बागाडेदेखि विद्यापुर र बल्देदेखि लगामसम्मको २५ किलोमिटर खण्डमा ०८१ भदौ महिनादेखि काम सुरु भएको छ । दुई खण्डमा गरी ४७ किलोमिटरमा २ अर्ब ५७ करोड लागतमा दुई वटा ठेकदार कम्पनीले काम गरिरहेका छन् । दुवैको काम सन्तोषजनक छ ।

बिजौरामा १३ सय मिटर सडकमा विवाद छ । स्थानीयले घुमाएर बाटो लैजान भन्नुभएको छ । हामीले त्यसरी घुमाउन नमिल्ने कुरा भनेका छौँ । छलफल होला । त्यसबाहेक अन्त खासै विवाद छैन । पश्चिम खण्डको सुरुवाती खण्ड बड्डीचौरदेखि खम्बागाडोको १३.१ किलोमिटर प्रदेशबाट काम भइरहेको छ । यसमा केही समय लाग्ने देखिन्छ । लगामदेखि पाल्पाघाटसम्म करिब ३० किलोमिटर पश्चिम खण्ड काम सुरु नै हुन सकेको छैन । डीपीआर लगायत सबै भइसके पनि स्रोत सुनिश्चितता हुन बाँकी छ । सरकारबाटै बजेट व्यवस्थापन नभएका कारण ठेक्का व्यवस्थापन हुन नसकेको हो । यो सडकको इतिहास ०५० को दशकबाट सुरु हुन्छ । ०५० सालमै ट्र्याक खोलेको सडक हो । त्यसभन्दा पश्चिमतर्फ ६० को दशकपछि मात्रै सडकको ट्र्याक खोल्ने काम भएको हो ।

कुनै वेला हामी पैदल हिँडेका बाटा हुन् यी । स्थानीय सरकार बनेपछि पछिल्लो समय पश्चिमका धेरै भित्री ठाउँहरूमा बाटो खनिएका छन् । मदन भण्डारी राजमार्ग पश्चिम सुर्खेतको ‘लाइफ लाइन’ हो । पछि परेको पश्चिम क्षेत्रका लागि कायाकल्प गर्ने सडक हो । पश्चिममात्र होइन, पूर्वी खण्डका लागि पनि महत्त्वपूर्ण राजमार्ग हो । एउटै जिल्लाका ६ वटा स्थानीय तहलाई छोएर सुदूरपश्चिमसँग सिधा जोड्छ यसले ।

मदन भण्डारी राजमार्ग बनेको खण्डमा केही घण्टामै मान्छे चिसापानी पनि पुग्छ । जस्तो अहिले बाबियाचौरदेखि चिसापानी सडक सञ्जाल जोडिएको छ ।

पूर्वी सुर्खेतको गुर्भाकोट र लेकबेशी नगरपालिका, राजधानी वीरेन्द्रनगर हुँदै पश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाको मध्यभूभाग हुँदै सुदूरपश्चिमको डोटी जिल्लालाई सिधा जोड्ने छ । मध्य भागमा भएर सडक निर्माण भएकाले पनि यसलाई ‘लाइफ लाइन’ का रूपमा हेर्न सकिन्छ ।

यदि यो राजमार्ग बन्यो भने सुर्खेतको सामाजिक, सांस्कृतिक, आर्थिकदेखि पर्यटकीय लगायत सबै क्षेत्र चलायमान हुन्छ । सुदूरपश्चिमसँग सम्बन्ध विस्तार गर्छ । अहिले हाम्रो अन्तिम विन्दु मानिएको पाल्पाघाटसम्मै सडक बन्यो भने त सुदूरपश्चिमको मान्छे बिहान हिँड्यो भने खाना खानेवेला वीरेन्द्रनगर आइसक्छ । अहिले वीरेन्द्रनगर, कोहलपुर, बर्दिया, कर्णाली चिसापानी हुँदै सुदूरपश्चिम जानुपर्छ । यो निकै घुमाउरो र लामो दुरीको बाटो हो ।

मदन भण्डारी राजमार्ग बनेको खण्डमा केही घण्टामै मान्छे चिसापानी पनि पुग्छ । जस्तो अहिले बाबियाचौरदेखि चिसापानी सडक सञ्जाल जोडिएको छ । त्यसयता मदन भण्डारी राजमार्गको विकास भएपछि कोहलपुर हुँदै चिसापानी जानुपर्ने अधिकांश सवारी साधन बड्डीचौर, बाबियाचौर हुँदै चिसापानी जान्छन् । त्यो निकै छोटो दुरी हो । त्यसैले मदन भण्डारी राजमार्गको महत्त्व ठुलो छ । राजमार्गको पश्चिम सुर्खेत खण्डमा करिब ८०/८५ किलोमिटर सडक बनाउने हो । बांगेसिमलदेखि बड्डीचौरसम्मको २२ किलोमिटर कर्णाली राजमार्ग हो । त्यस्तै धुलियाविटदेखि बांगेसिमलसम्मको ८ किलोमिटर रत्न राजमार्गमा पर्छ । यी सडक छँदैछन्, मदन भण्डारी राजमार्ग अन्तर्गत पुनः बनाइरनुपर्ने सडकभित्र पर्दैनन् ।

सुर्खेतको पश्चिम क्षेत्र भनेको कर्णालीको पनि अर्को ‘कर्णाली’ हो । राष्ट्रिय राजमार्ग बनिसकेपछि त्यहाँको सामाजिक, सांस्कृतिकदेखि आर्थिक गतिविधिमा ठुलो टेवा पुग्छ । स्थानीय उत्पादनले बजार पाउँछ ।

पूर्वी सुर्खेततर्फ धुलियाविटदेखि भेडावारीसम्मको मदन भण्डारी राजमार्ग हो । त्यो अहिले हामीले बनाइरहेका छौँ । भेडावारीदेखि बालुवासङ्ग्रहीसम्मको १६ किलोमिटर छिन्चु–जाजरकोट सडकमा ओभरल्याप भयो । त्यसभन्दा पूर्वको २९ किलोमिटर सल्यानसम्म हामीले बनाउने हो । त्यसको पनि स्रोत सुनिश्चितताका लागि हामी लागिरहेका छौँ । सुर्खेतको पूर्वी खण्डमा पनि काम सन्तोषजनक भइरहेको छ । रुख कटान र जग्गा भोगाधिकार गर्नुपर्ने विषयमा ढिलाइ हुँदा २५ महिना काम हुन सकेन । मन्त्रिपरिषद्बाट रुख कटानको आदेशसँगै प्रक्रियाका काम सकिएपछि अहिले काम धमाधम भइरहेको छ । पूर्वी खण्डको ३५ किलोमिटर सडक निर्माण गर्नुपर्नेमा झण्डै २९ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । कुनै त्यस्तो भवितव्य भएन भने बाँकी रहेको ६ किलोमिटर सडक असारसम्म सम्पन्न गरिसक्ने लक्ष्य छ ।

१२ वटा पुलमध्ये ११ वटा पुल सम्पन्न भइसकेका छन् । बाँकी रहेको एउटा निर्माणको चरणमा छ । १ अर्ब ३ करोडमा पूर्वी खण्डमा काम भइरहेको हो । सुर्खेत पूर्वी खण्डको ठेक्का ०७७ मा लागिसकेको थियो, तर पश्चिममा ०७९ मामात्रै लाग्यो । त्यसो हुँदा पश्चिम खण्डमा केही ढिलाइ भएको हो । पूर्वहुँदै पश्चिमतर्फ काम भइरहेको छ । तथापि मदन भण्डारी राजमार्ग बन्यो भने पश्चिम सुर्खेतलाई धेरै फाइदा हुन्छ ।

सुर्खेतको पश्चिम क्षेत्र भनेको कर्णालीको पनि अर्को ‘कर्णाली’ हो । राष्ट्रिय राजमार्ग बनिसकेपछि त्यहाँको सामाजिक, सांस्कृतिकदेखि आर्थिक गतिविधिमा ठुलो टेवा पुग्छ । स्थानीय उत्पादनले बजार पाउँछ । आवागमनमा सहजता ल्याउँछ । सुर्खेतमा सडक विकासका लागि जुन खालको असन्तुष्टि, कलह थियो, यो सडकले धेरै कम गर्छ । यसलाई सुदूरपश्चिमसँग जोड्ने छोटो मार्गका रूपमा हेर्नुपर्छ । मध्यपहाडीभन्दा पनि छोटो हुन्छ । वीरेन्द्रनगरबाट १८५ किलोमिटरमा कोहलपुर हुँदै चिसापानी पुगिन्छ, तर यो राजमार्ग बन्यो भने करिब ९५ किलोमिटरमा हामी डोटी पुगिहाल्छौँ । नेटवर्किङको हिसाबले पनि छोटो छ ।

(मदन भण्डारी राजमार्ग योजना कार्यालय, सुर्खेतका इन्जिनियर रेशम ओलीसँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेशम ओली
रेशम ओली
लेखकबाट थप