हत्या गरेर उखुबारीमा फाले, मृतकको चप्पल लगाएपछि खुल्यो घटना
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ स्थित उखुबारीमा एक युवकको शव सडिसकेको अवस्थामा फेला परेको छ ।
उक्त शव चन्द्रनगर गाउँपालिका वडा नं. १ किसनपुर निवासी २८ वर्षीय अरविन्द कुमार पण्डितको भएको उनका दाजु अशोक कुमारले सनाखत गरेका छन् ।
वैशाख २४ गते घरबाट बेपत्ता भएका अरविन्दको हत्या गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका वडा नम्बर ६ का ६ जनालाई पक्राउ गरेको सोमबार मलंगवामा जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पक्राउ पर्नेमा उक्त वडा, चिरानटोल निवासी ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, सोही ठाउँका २९ वर्षीय मोस्तकिम अन्सारी, २५ वर्षीया नजिमा खातुन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी रहेका छन् ।
अरविन्दले आफ्नी श्रीमती (नजिमा खातुन) लाई भगाएको भन्दै ईश्वरपुर–६ चिरानटोलकै मोस्तकिम अन्सारीले चैत २६ गते इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । नजिमा चैत १९ गते राति ११ बजे घरबाट बेपत्ता भएकी थिइन् ।
मोस्तकिमले दिएको निवेदनका आधारमा खोजी गर्दै जाँदा प्रहरीले नजिमा र अरविन्द भारत पुगेको फेला पारेको थियो ।
वैशाख १९–२० गते उनीहरू नेपाल फर्किएका प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरू घर फर्किएपछि स्थानीय समाज र पञ्चहरूको सहमतिमा नजिमा श्रीमान् मोस्तकिमसँगै बस्न थालेकी थिइन् । तर अरविन्द पण्डित बारम्बार नजिमाको घर आउजाउ गरिरहन्थे ।
अरविन्द आफ्नो घरमा आउजाउ गर्न थालेपछि स्थानीयहरूले समेत शंका गर्न थालेका थिए । जसका कारण नजिमा मानसिक तनावमा पर्दै जान थालिन् । सोही तनावका कारण नजिमासहित अन्य प्रतिवादीहरूले अरविन्दको हत्या गर्ने योजना बनाएका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार नजिमाले वैशाख २८ गते बिहान ८ बजे फूलजोर बाबा मन्दिर नजिकै पण्डितलाई बोलाएकी थिइन् । र अरविन्दलाई फूलजोर खोला नजिक लिएर गइन् । उनलाई अन्य प्रतिवादीहरूले पछ्याए । र बिहान ९ बजेतिर मिलेर हत्या गरे । त्यसपछि शवलाई सिसौको रूखको फेदमा घाँसपात र रहरको घस्यौटाले छोपिदिएका इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले रातोपाटीलाई बताए ।
फेरि भोलिपल्ट अर्थात् वैशाख २९ गते राति ९ बजे घटना सार्वजनिक हुने डरले उनीहरू घटनास्थल पुगे । र शवलाई उक्त स्थानबाट ईश्वरपुर नगरपालिका वडा नं. ८ स्थित थकरिया चौरीको उखुबारीमा लगेर फालिदिए ।
प्रहरीले जेठ २ गते सबै प्रतिवादीहरूलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा पक्राउ परेका मोहम्मद हुसेन मोमिनको खुट्टामा रहेको चप्पल मृतकले प्रयोग गर्दै आएको चप्पल भएको पुष्टि मृतकका पिताबाट भएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका सात जनालाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण