मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘पिच’

समाचार सारांश
- मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा खण्डको हरिचोक-याम्दी पुलसम्मको सडक स्तरोन्नति भइरहेको छ। हालसम्म एकतर्फी कालोपत्र सकिएको छ र चालु आर्थिक वर्षभित्र दुवै खण्डमा काम सक्ने योजना छ।
- सडक १८ मिटर फराकिलो हुने र नालासहित २१ मिटर चौडाइको हुनेछ। यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुनेछ।
- सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती पाएका थिए र काम छिटो गर्न दबाब दिएका थिए। २०७९ सालमा रु ४८ करोडको लागतमा निर्माण सम्झौता भएको थियो।
कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ ।
हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, “हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।”
हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए ।
पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित रु ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।
साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले विदेशमा के-के सामान निर्यात गर्न सक्छ ?
-
सरकारले कार्यक्रमको प्रतिफल मापन गरेर काम गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
-
प्रतिनिधिसभा : मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
-
जिल्ला प्रशासन कार्यालय रौतहटमा टाइमकार्ड टोकन सिस्टम लागू
-
सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्यो नेपाल
-
जनसङ्ख्या बढाउन कर्मचारीलाई एक हप्ताको बिदा दिँदै छ रुस