मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय
महिला टी–२० विश्वकप छनोट

सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्‍यो नेपाल

मङ्गलबार, ०६ जेठ २०८२, १९ : ११
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • थाइल्यान्डमा सम्पन्न आईसीसी महिला टी-२० विश्वकपको एसियाली क्षेत्र छनोटमा थाइल्यान्ड पहिलो र नेपाल दोस्रो स्थानमा रहेर विश्वस्तरीय छनोटमा पुगे ।
  • सुपर-३ को अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गर्यो, जसमा थाइल्यान्डले १५८ रन बनायो भने नेपालले ८० रन मात्र बनाउन सक्यो ।
  • नेपालका लागि कविता कुँवरले सर्वाधिक २४ रन बनाइन् भने राजमती ऐरीले १९ रन जोडिन्, जसले गर्दा नेपालको स्कोर बढ्न सकेन।

काठमाडौँ । नेपाल र आयोजक राष्ट्रलाई विश्वस्तरीय छनोट प्रतियोगितामा पुर्‍याउँदै थाइल्यान्डमा आईसीसी महिला टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोट सकिएको छ । यो प्रतियोगिताबाट थाइल्यान्ड पहिलो र नेपाल दोस्रो हुँदै विश्वस्तरीय छनोटमा स्थान बनाउन सफल भए । 

प्रतियोगिताअन्तर्गत मंगलबार खेलिएको सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई ७८ रनले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर एक सय ५८ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । नेपालका लागि कविता कुँवरले २४ रन बनाइन् । उनले ३३ बलको सामना गरी एक चौका पनि प्रहार गरिन् । 

राजमती ऐरीले पनि टोलीको खातामा १९ रन थपिन् । उनले २५ बलमा दुई चौका प्रहार गरिन् । रुविना क्षेत्रीले १२ रन बटुलिन् । नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका पाँच चार ब्याटरले त खातासम्म खोल्न सकेनन् । 

त्यसअघि, थाइल्यान्डका लागि ओपनर नाताया बुचाथमले अर्धशतकीय पाली खेलेकी थिइन् । उनले ४२ बलको सामना गरी पाँच चौकाको मद्दतले ५० रन बनाइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी नानापत कोन्चारोएनकाईले पनि अर्धशतकीय पाली खेलिन् । 

उनले केवल २८ बलको सामना गरी आठ चौकाको मद्दतले अविजित ५० रन बनाइन् । अर्की ओपनर अफिसरा सुवानचोनराथीले पनि २९ रन बटुलिन् । नेपाली टोलीका बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक–एक विकेट लिए । 

सुपर–३ चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा प्रवेश गर्ने प्रावधान छ । विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । 

हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने पाँच टोलीको टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड, अमेरिका, थाइल्यान्ड र नेपालले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् । बाँकी पाँच टोलीको भने टुंगो लाग्न बाँकी छ । 

विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताबाट चार टोलीले सन् २०२६ मा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप