घरभित्रै असुरक्षित छन् महिला

समाचार सारांश
- विराटनगरमा एक महिलाले घरेलु हिंसाको पीडा भोग्नुपरेको छ, श्रीमानको कुटपिट र दुर्व्यवहारका कारण।
- कोशी प्रदेशका तीन जिल्लामा महिला हिंसाका घटना बढेका छन्, जसमा अधिकांश घटना घरभित्रै हुने गरेको पाइएको छ।
- ओरेकको तथ्याङ्क अनुसार, सबैभन्दा बढी हिंसा श्रीमानबाट हुने गरेको र यसको मुख्य कारण पितृसत्तात्मक सोच रहेको पाइएको छ।
विराटनगर । ५२ वर्षीया रमिला (परिवर्तित नाम) सँग वैवाहिक जीवनको पीडादायी अनुभव छ । विवाह भएको दुई वर्षसम्म श्रीमानसँग उनको सम्बन्ध राम्रै थियो, तर समय बित्दै जाँदा सम्बन्धमा खटपट आउन थाल्यो ।
श्रीमान् व्यापार गर्न बाहिर जाने र धेरैजसो मदिरा सेवन गरेर आउने अनि घरमा गालीगलौज गर्न थाले । ‘म सहेरै बस्थेँ । गालीगलौजबाट सुरु भएको हिंसा कुटपिट हुँदै ज्यान लिने प्रयाससम्मको अवस्थामा पुग्यो । कति पटक कुटपिट गर्दा प्रहरीसम्म लग्यौँ, तर उसको व्यवहारमा केही परिवर्तन भएन,’ रमिलाले भनिन् ।
एक दिन भान्सामा काम गर्दै गर्दा उनका श्रीमानले अचानक रोटी बेल्ने बेलनाले हिर्काए । जसले गर्दा उनको मुख सुन्नियो र ओठ काटियो । चिच्याएको सुनेर छिमेकीहरू आए र प्रहरी बोलाए । घरभित्रै हिंसामा पर्ने रमिला एक प्रतिनिधि पात्र हुन् ।
यही परिस्थिति २९ वर्षीय सिर्जना (परिवर्तित नाम) ले पनि भोगिन् । विवाह भएको १ महिना नबित्दै उनका श्रीमानको व्यवहार बदलियो । सिर्जनालाई कोठामा राख्ने, आफू बाहिर अरू महिलाहरूसँग घुम्ने र सम्बन्ध राख्ने गरेका उनका श्रीमानको व्यवहारमा कुनै सुधार आएन ।
वैदेशिक रोजगारीबाट फर्किएपछि पनि उनीहरूको सम्बन्धमा सुधार भएन । हिंसा त्यतिबेला चरम सीमामा पुग्यो, जब सिर्जनाले उनका श्रीमानसँग बच्चा जन्माउने कुरा गर्दा कुटपिट गरी घरबाट निस्केको व्यक्ति आजसम्म सम्पर्कमा आएका छैनन् ।
कोशी प्रदेशका तीन जिल्लाको पछिल्लो एक तथ्याङ्कले सबैभन्दा बढी महिला हिंसा हुने ठाउँ आफ्नै घर रहेको खुलेको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) द्वारा सङ्कलित तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो त्रैमासिक (जनवरीदेखि मार्च) मा कोशी प्रदेशका तीन जिल्ला उदयपुर, सुनसरी र मोरङमा ८४ वटा महिला हिंसाका घटना भएका छन् । जसमध्ये ७१ प्रतिशत घरेलु हिंसाका घटना रहेको उल्लेख छ ।
सबैभन्दा बढी हिंसा (६४ प्रतिशत) श्रीमानबाट भएको छ, जसले परिवारिक संरचनाभित्र हुने हिंसाको गम्भीरतालाई उजागर गर्दछ । उमेरका आधारमा विश्लेषण गर्दा २६–३५ वर्षका महिलाहरू (३४ प्रतिशत) सबैभन्दा बढी हिंसाबाट प्रभावित भएका छन् । त्यसपछि १८ वर्षभन्दा मुनिका किशोरीहरू (२० प्रतिशत) र १९–२५ तथा ३६–४५ वर्ष उमेर समूहका महिलाहरू (१८ प्रतिशत) रहेका छन् ।
पेसागत विवरण हेर्दा, घरायसी काममा संलग्न महिलाहरू (३१ प्रतिशत) र विद्यार्थीहरू (२० प्रतिशत) सबैभन्दा धेरै हिंसाको सिकार भएको देखिन्छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) का संयोजक शोभा बजगाईंको विचारमा ‘घरेलु हुने हिंसा एक गम्भीर सामाजिक समस्या हो, जुन पितृसत्तात्मक सोच र असमान शक्ति सम्बन्धहरूका कारण उत्पन्न हुन्छ ।’
घरेलु हिंसा तथा महिलामाथि हुने सबैखाले हिंसा अन्त्यका लागि कुनै एक व्यक्ति वा संस्थाको प्रयासले मात्र सम्भव नहुने उनको भनाइ छ । यसका लागि व्यक्तिगत सोच र व्यवहारमा परिवर्तन गर्नुपर्ने र स्थानीय तहदेखि नै हरेक घर सुरक्षित बनाउने अभियान सञ्चालन गर्नुपर्ने उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि होडबाट बाहिरिइसकेका चेन्नई र राजस्थान आत्मसम्मानका लागि आपसमा भिड्दै
-
प्रधानमन्त्री अस्वस्थ, संसद्को प्रश्नोत्तरमा सहभागी नहुने
-
बजेटको पूर्वसन्ध्यामा ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, तस्बिरहरू
-
सुपर–३ चरणको अन्तिम खेलमा नेपाललाई थाइल्यान्डले दियो १५९ रनको लक्ष्य
-
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु
-
महिला–महिलाबिच मात्र प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र छुट्टाइनुपर्छ : विष्णुदेवी पुडासैनी