२ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति दिने व्यवस्था असफल, अब आवेदन गरेकै दिन जारी हुने

समाचार सारांश
- वैदेशिक रोजगार विभागले अनलाइन आवेदन दिने श्रमिकलाई सोही दिन श्रम स्वीकृति दिने व्यवस्था गरेको छ।
- विभागले सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने जनाएको छ, जसले सेवाग्राहीलाई सहजता दिनेछ।
- अघिल्लो व्यवस्था असफल भएपछि विभागले नयाँ नीति लिएको हो, जसमा महानिर्देशकले कामलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आवेदन गरेकै दिन श्रम स्वीकृति दिने जनाएको छ । श्रम स्वीकृतिको कार्यलाई अझ बढी चुस्त, दुरूस्त र प्रभावकारी बनाउन अनलाइनमार्फत आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था गरेको हो ।
अनलाइन सेवा कार्यालय समयभित्रै जारी हुने व्यवस्था गरिएको विभागका सहायक प्रवक्ता उपेन्द्र राज पौड्यालले जानकारी दिए । यसबाट सेवाग्राहीलाई निशन्देह रूपमा छिटो, छरितो र प्रभावकारी सेवा पाएको अनुभूति हुने विभागले विश्वास लिएको छ ।
विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई जनतालाई अधिकतम मात्रामा छिटो, छरितो, झन्झटरहित तरिकाले सेवा प्रवाह गर्ने नीति विभागले लिएको बताए।
वैदेशिक रोजगार व्यवसायलाई थप व्यावसायिक र मर्यादित बनाउन अग्रसर रहेको उनको भनाइ छ । यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले २ मिनेट ४४ सेकेन्डभित्र श्रम स्वीकृति जारी गर्ने व्यवस्था गरेका थिए ।
२०८० चैत २५ गते वैदेशिक रोजगार कार्यालय ताहाचल पुगेर उनले अबदेखि सबै प्रक्रिया पुरा गरेको खण्डमा २ मिनेट ४४ सेकेन्डमा नै श्रम स्वीकृति प्रदान गरिने दाबी गरेका थिए ।
कार्यालयले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने सबै कागजात पेस गरिसकेको २ मिनेट ४४ सेकेन्डभित्र पाइने बताएको थियो । तर, एक घण्टाभित्रको समयावधि तोकेर सेवा प्रवाह थालेको थियो ।
‘यदि सेवाग्राहीले सबै डकुमेन्ट राख्नुभयो भने हाम्रो अध्ययनले २ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति प्रदान गर्न सकिने देखियो । एक जना श्रमिकले सबै डकुमेन्ट पूरा गरेको २ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति पाउने गरी हामीले काम गर्यौँ,’ अर्यालले तत्कालीन समयमा भनेका थिए ।
२ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति दिन सकिने भएपनि प्राविधिक समस्या, विद्युत्काे आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइएको उनको दाबी थियो ।
तर, यो बीचमा उक्त व्यवस्था असफल भएपछि विभागले पुनः आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने दाबी गरेको हो । जेठ २ गते आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले विगतमा के कस्तो व्यवस्था थियो, भन्नेबारेमा आफू जानकार नरहेको बताएका थिए ।
आफू विभागमा आएपछि काम कारबाहीलाई चुस्त, दुरुस्त बनाउनका लागि आवेदन दिएकै दिनमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्रलाई एकल अग्रता
-
प्रहरीको नाममा सर्वसाधारणलाई झुक्याउने युवक भक्तपुरबाट पक्राउ
-
राजधानीबाट १६८ थान अवैध मोबाइलसहित दुई जना समातिए
-
विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि निवर्तमान शिक्षामन्त्रीले किन उठाइन् प्रश्न ?
-
काठमाडौं परिसरबाट भागेका थुनुवा समातिए
-
लागूऔषध सहित एक जना पक्राउ