सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

अबदेखि श्रम स्वीकृति २ मिनेट ४४ सेकेन्डमा

कर्मचारीको प्रशंसा गर्दै मन्त्रीले हात जोडेर गरे नमस्कार
आइतबार, २५ चैत २०८०, २१ : १२
आइतबार, २५ चैत २०८०

काठमाडौँ । सरकारी कार्यालयबाट पाइने सेवा कति समयमा पाउनुभएको छ ? यसमा अधिकांशको उत्तर हुन्छ– एक दिनमा बन्ने काम एक हप्तामा पनि बन्दैन । 

सरकारी कार्यालयबाट पाउने सेवाबाट सेवाग्राहीमा आजित भइसकेका हुन्छन् । तर पनि समयमै तथा सहज रूपमा सेवा पाउनु मुस्किल नै हुन्छ । सेवाप्रति यस्तो भाष्य बनिरहेको बेला कुनै सरकारी कार्यालयले २ मिनेट ४४ सेकेन्डभित्र सेवा पाइन्छ भन्दा पत्याउनुहुन्छ ? साँच्चिकै भन्ने हो भने पत्याउन गाह्रो नै हुन्छ । तर, वैदेशिक रोजगार कार्यालयले भने सबै कागजात पेस गरेको २ मिनेट ४४ सेकेन्डभित्रमा श्रम स्वीकृति पाउने दाबी गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने सबै कागजात पेस गरिसकेको २ मिनेट ४४ सेकेन्डभित्र पाइने बताएको हो । तर, सरकारले भने एक घण्टाभित्रको समयावधि तोकेर सेवा प्रवाह थालेको छ । 

श्रममन्त्री डोलप्रसाद अर्यालले एक पत्रकार सम्मेलन गर्दै एक घण्टाभित्रमा श्रम स्वीकृति प्रदान गर्ने कार्यको सुरुवात गरेका हुन् । 

वैदेशिक रोजगार ताहचलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने कार्य थालिएको बताए । आवश्यक पर्ने सबै कागजात अपलोड गरेको खण्डमा २ मिनेट ४४ सेकेन्डभित्रमा श्रम स्वीकृति प्रदान गर्न सकिने उनको भनाइ छ । 

‘यदि सेवाग्राहीले सबै डकुमेन्ट राख्नुभयो भने हाम्रो अध्ययनले २ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति प्रदान गर्न सकिने देखियो । एकजना श्रमिकले सबै डकुमेन्ट पुरा गरेको २ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति पाउने गरी हामीले काम गर्‍यौँ,’ मन्त्री अर्यालले भने । 

२ मिनेट ४४ सेकेन्डमा श्रम स्वीकृति दिन सकिने भए पनि प्राविधिक समस्या, विद्युत्को आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइएको हो । 

‘कहिले इन्टरनेटले काम नगर्न सक्छ । हाम्रा कम्प्युटरहरूमा समस्या आउन सक्छ । टेक्निकल समस्या देखियो भने त्यो समयभित्र श्रम स्वीकृति प्रदान गर्न सकिने अवस्था नरहने भनेर कुनै पनि श्रमिकले आफ्ना सबै डकुमेन्ट सिस्टममा अपलोड गरेको एक घण्टाभित्रमा श्रम स्वीकृति पाउनुहुन्छ । आफ्नो मोबाइल फोनमा श्रम स्वीकृति पाउनुहुन्छ,’ मन्त्री अर्यालले भने । 

कर्मचारीको प्रशंसा 

पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कर्मचारीहरूको खुलेर प्रशंसा गरेका थिए । उक्त कार्य सम्भव गराउन आफ्नोभन्दा पनि कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रशंसा गरेका हुन् । 

‘यहाँ दशकौँदेखिको श्रम स्वीकृति सुरु भएदेखि हालसम्मको इतिहास ब्रेक गर्न सफल भएका छौँ । यसको सबै कर्मचारीको लगनशीलता, इमानदारिता, डेडिकेशनले गर्दा भएको हो । त्यसका लागि म उहाँहरूलाई १० औँला जोडेर धन्यवाद दिन चाहन्छु’ मन्त्री अर्यालले भने । 

श्रम स्वीकृतिको नाममा श्रमिकले पाउँदै आएका अनेकन् पीडा कर्मचारीहरूको अथक प्रयासबाट सम्भव भएको बताए । ‘विदेश जानुपर्ने बाध्यात्मक अवस्थामा एउटा हाफ पाइन्ट र टिसर्ट लगाएर पासपोर्ट हातमा बोकेर आएको गरिब नागरिक । विदेश गएर केही गर्छु भनेर आउने नागरिकलाई केही मान्छेहरूले अझ गरिब बनाउने किसिमले श्रम स्वीकृति मिलाइदिन्छु भनेर, टोकन छिटो मिलाइदिन्छु भनेर, तीन दिनमा श्रम स्वीकृति मिलाइदिन्छु भनेर पीडामाथि पीडा थप्ने काम भइरहेको थियो । त्यो अन्त्य गर्न यो टिमले काम गर्न सफल भएको छ,’ मन्त्री अर्यालले भने । 

dp aryal

कसरी सफल भयो ? 

विगतमा १५ दिनसम्ममा श्रम स्वीकृति दिने व्यवस्था थियो । त्यसलाई बिस्तारै घटाउँदै पछिल्लो समय तीन दिनभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गरिएको थियो । तर, अनेकन् बहानामा श्रमिकले श्रम स्वीकृति पाउन हप्तौँ कुर्नुपर्ने बाध्यता थियो । ती समस्याको समाधान गर्दै एक घण्टाभित्र नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको हो । 

‘हामीले योबारेमा सुरुदेखि नै अध्ययन थालेका थियौँ । सुरुमा फेसिम भन्ने सफ्टवेयरका कारण समस्या हो भन्ने थियो । त्यसको अध्ययन गर्‍यौँ । भित्र रहेका ५० औँ कम्प्युटरहरू समेत अध्ययन गर्‍यौँ । हाम्रो टेक्निकल टिमका साथीहरू, सफ्टवेयर इन्स्टल गर्ने भेण्डर लगायतसँग बसेर समस्याहरू खोतल्ने काम भयो,’ मन्त्री अर्यालले भने । 

त्यसक्रममा केही नीतिगत सुधार गर्नुपर्ने देखिएको र ती सुधार समेत गरिएको मन्त्री अर्यालले बताए । त्यसका लागि ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९’ संशोधन गरिएको थियो । दुई तहमा श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था थियो । उक्त कार्यविधि संशोधन गरेर पुनः श्रम स्वीकृतिको हकमा एकै तहबाट स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताए ।

श्रम मन्त्री अर्यालले आफ्नो पदबहाली गरेसँगै एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सकिने बताएका थिए । सोही आधारमा उनले कर्मचारीहरूलाई काम थाल्न निर्देशन दिएका थिए । 

आफ्नै फोनमा श्रम स्वीकृति

श्रम स्वीकृति पूर्ण रूपमा निःशुल्क रहेको मन्त्री अर्यालले बताए । श्रमिकले आफ्नै मोबाइल वा कम्प्यूटरबाट अनलाइन आवेदन दिन सक्ने र श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सकिने उनको भनाइ छ । यसका लागि कार्यालयमा धाइरहनू नपर्ने मन्त्री अर्यालले बताए । ‘सक्नुहुन्छ भने आफ्नै मोबाइल वा कम्प्युटरबाट आवेदन दिनुहोस् । आवेदन दिने प्रक्रिया पनि विभागको वेबसाइटमा राखिएको छ । त्यही फोन नम्बरमा श्रम स्वीकृतिसमेत पाइन्छ,’ मन्त्री अर्यालले भने । 

फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेड रूपमा राखिएको छ । यसका साथै कर्मचारीहरूले दुई वटा सिफ्टमा परिचालन गरिएको छ । बिहान ७ देखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफ्टमा काम गर्दै आएका छन् । त्यस्तै, सार्वजनिक बिदा र शनिबारको दिनमा पनि कर्मचारीलाई परिचालन गरिएको छ । तर, आगामी दिनमा भने कर्मचारीलाई एकै सिफ्टमा कार्यालय समयमा मात्रै काम गर्ने गरी सुधार गरिने मन्त्री अर्यालले बताए । 

‘केही समयमा लागि कर्मचारीलाई सिफ्टमा काम गर्न लगाइएको हो । तर, आगामी दिनमा एकै सिफ्टमा कार्यालय समयमा मात्रै काम गर्ने गरी सुधार गर्नेछौ,’ उनले भने ।  

कार्यालयले प्रत्येक दिन श्रम स्वीकृतिको लागि निश्चित कोटा तोकेको छ । वैदेशिक रोजगार कार्यालय काठमाडौँ बाहेक ६ वटै प्रदेशबाट नयाँ कम्तीमा ५० र पुनः श्रम स्वीकृति १०० वटा टोकनको व्यवस्था गरिएको छ । पहिलो कार्यालयले चाहे जति मात्र टोकन पाउने व्यवस्था थियो । 

श्रम स्वीकृतिको लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेस गर्नुपर्नेछ । त्यस्तै, श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ । श्रमिकलाई सहज रूपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) सञ्चालनमा ल्याएको हो । अहिले दैनिक औसत एक हजार ६०० जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप