शेखर कोइरालालाई कारबाही गरेर देखाउन चुनौती
_y2rN2xtft4.jpg)
समाचार सारांश
- डा. शेखर कोइरालाले गृहमन्त्रीको राजीनामाको माग गरेपछि कांग्रेस बैठकमा कोइरालालाई स्पष्टीकरण सोध्ने कुरा उठेको थियो।
- कोइरालाले पार्टीको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै नीतिगत भ्रष्टाचारको विषयमा चिन्ता व्यक्त गरे, जसले पार्टीलाई डुबाउन सक्ने चेतावनी दिए।
- कांग्रेस नेता तथा कार्यकर्ताहरू कोइरालालाई कारबाही गर्ने निर्णयप्रति रुष्ट देखिएका छन्, र कतिपयले गृहमन्त्रीको राजीनामाको पक्षमा आवाज उठाएका छन्।
विराटनगर । शनिबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिएका थिए । यस्तै कांग्रेस सांसद सुनिल शर्मा र राजेन्द्र बजगाईले पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।
कोइरालासहितका नेताले गृहमन्त्रीको राजीनामाको पक्षमा धारणा राखेपछि सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सो विषयमा छलफल भएको थियो । छलफलमा गृहमन्त्रीको राजीनामा माग्ने कोइराला, शर्मा र बजगाईलाई स्पष्टीकरण सोध्नुपर्ने कुरा उठेको थियो । सो विषय भाइरल बनेपछि शेखर पक्षका कांग्रेस नेता तथा कार्यकर्ता भने रुष्ट बनेका छन् ।
स्वयम् कोइरालाले पनि कांग्रेसमा आफ्नो विषयमा भएको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विराटनगरमा मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले भने, ‘नीतिगत भ्रष्टाचारको नाममा सचिव र सचिवभन्दा तलका मानिसहरू फस्दै गइरहेका छन् । आफ्नो मानिस भयो भने नेताहरू मिलेर जोगाइदिने, कसैको मानिस होइन भने फसाइदिने अवस्था छ । यसले हामी कस्तो देश बनाउन खोज्दैछौं ? यो अत्यन्त गम्भीर विषय भएर गएको छ ।’
कोइरालाले यस्तै अवस्थालाई कांग्रेसले बेलैमा नसमाल्ने हो भने पार्टी अझै डुब्दै जाने उनले चेतावनी पनि दिए । ‘मैले त हिजो सोचेको थिएँ । कांग्रेस पदाधिकारीको बैठकमा प्रधानमन्त्री केपी ओलीजीले १५ गतेको राजावादीको आन्दोलनमा काठमाडौँलाई एमालेकरण गर भनेर भनेको विषयमा छलफल होला, तर, मेरो बारेमा छलफल भएछ । मलाई खुसी लाग्यो । हामी कहाँ पुगिसकेका रहेछौँ ? हाम्रो नैतिकता कहाँ पुगिसकेको छ ? हाम्रो संस्कार कहाँ पुगिसकेको छ ?,’ कोइरालाले भने, ‘अझै पनि हाम्रा नेतृत्वले बुझ्न सक्नु भएन भने हामी अझै डुब्दै जान्छौं । समाल्नुहोस् । नेतृत्व जसले गरिरहनु भएको छ उहाँहरूले समाल्नुहोस् । हामीले त सम्झाउने हो ।’
कार्यक्रममा कांग्रेस निकट नेपाल महिला संघ मोरङकी अध्यक्ष तथा पूर्व सांसद शान्ता पौडेलले डाक्टर शेखर कोइरालालाई कारबाही गरेर देखाउन चुनौती दिइन् । ‘कांग्रेस पदाधिकारीको बैठकबाट जुन निर्णय गरेर सुनाउनु भयो । त्यो लज्जास्पद निर्णय भएको हामीले महसुस गरेका छौँ । डाक्टर सा’वलाई कारबाही गरेर देखाउनु होस् म चेतावनी दिन चाहन्छु,’ उनले भनिन्, ‘सरकारले आतङ्क मच्चाएको छ । यस्तो सरकारमा कांग्रेस पनि छ भन्नु लाजमर्दो भइसकेको छ । स्वास्थ्य, शिक्षा क्षेत्र कहाँ पुग्यो ? भ्रष्टाचारको मुद्दामा आफ्नै गृहमन्त्री फसेका छन् । उनलाई राजीनामा दिँदा राम्रो हुन्छ भनेर भन्दा कारबाहीको कुरा हुन्छ भने राजनीति कतातिर जाँदैछ ? विचार गर्नुपर्छ ।’
नेपाली कांग्रेस मोरङका कार्यबहाक सभापति भक्तिप्रसाद माझीले पनि गृहमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने कोइरालाको भनाइमा सहमति व्यक्त गरे । ‘गृहमन्त्रीलाई त्यस्तो आरोप लाग्छ भने त्यसको छानबिनको लागि मार्ग प्रशस्त गर्नुपर्छ । यो आम जनतालाई पनि लागेको कुरा हो । त्यो भन्दा पार्टीले त्यसलाई अन्यथा लिएको जस्तो देखियो । कठोर निर्णय गर्न खोजेजस्तो, निरङ्कुशतातिर पार्टीलाई लैजान खोजेजस्तो देखियो,’ माझीले भने, ‘बरु सत्य कुरा बोल्न सक्ने शेखर कोइरालाबाट हामी काँग्रेसका तमाम कार्यकर्ताहरु खुसी हुनुपर्छ र गर्व गर्न सक्नुपर्छ ।’
ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबाबु कार्कीले कसैले बोल्दैमा कारबाही गर्न खोज्नु प्रजातन्त्र विरोधी हुने बताए । ‘पार्टीभित्र हामीले वाक स्वतन्त्रता पनि पाएनौँ भने त्यसले कसरी प्रजातन्त्र ल्याउन सक्छ ?,’ उनले भने, ‘बाहिर बाहिर प्रजातन्त्रको कुरा गरेर मात्रै कसरी प्रजातन्त्र बच्छ । व्यवहारमै प्रजातान्त्रिक हुनुपर्छ । बोल्न पाउनु पर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने राप्रपाको घोषणा
-
मुस्ताङमा स्याउ बगैचाभित्र जौ खेती : दोहोरो आम्दानी
-
सभामुखमाथि टिप्पणी गर्नेलाई योगेशको प्रश्न : एक पटक ऐनामा अनुहार हेर्ने कि ?
-
इरानी क्षेप्यास्त्र आक्रमणका कारण तेल अभिभमा १२ जना घाइते
-
देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा
-
धरानबाट २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार