मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
सम्झनामा रसिक

‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’

आइतबार, १८ जेठ २०८२, २० : ०३
आइतबार, १८ जेठ २०८२

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिक हामीबाट सदाका लागि बिदा भए । ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार बिहान ११ बजे उनको निधन भएको हो । 

७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए । करिब २ महिना अगाडिबाट उनलाई मेडिसिनले पनि काम गर्न छोडेको थियो । रसिकको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

रसिकले ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ,’ ‘तराई हेर कति राम्रो हरियो वन हुनाले,’ ‘मेरो टाउको सानो छ,’ ‘यो टाउको विशाल देश छ,’ ‘रातो भाले क्वाँए क्वाँए,’ ‘आकाश गंगाको ओतमुनि,’ ‘दशगजामा उभिएर,’ जब ‘सिस्नोहरू टेक्दै हिँडेँ’ लगायत धेरै गीत छोडेर गाएका छन् । जुन गीत अहिले पनि कालजयी छन् । 

रसिकको जन्म भोजपुरको छिनामाखुमा २००४ असोज ४ गते भएको हो । उनी ५० को दशकमा इलाम सरेका थिए । करिब पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायन क्षेत्रमा होमिएका रसिकले कवि, गीतकार, संगीतकार, लेखक, निबन्धकार र नियात्राकारका रूपमा परिचय बनाएका छन् ।

‘सारङ्गीभित्र कथासङ्ग्रह,’ ‘गणेश रसिकका गीतहरू,’ ‘आकाश गंगाको ओतमुनि’लगायत उनका एक दर्जन बढी कृति प्रकाशित छन् ।

प्रशासनिक क्षेत्रमा पनि रहेका उनले बीएसम्मको औपचारिक शिक्षा हासिल गरे । सामान्य कर्मचारीको जागिरे जीवन हुँदै रत्न रेकर्डिङ संस्थान र साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानको सदस्यसचिवसम्म भए । 

रसिकको पार्थिव शरीर अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । उनकी छोरी बेलायतबाट फर्किएपछि सोमबार दाहसंस्कार गरिने संगीतकार बुलु मकारुङले जानकारी दिए । 

रसिकसँग संगत गरेका सांगीतिक क्षेत्रका चर्चित व्यक्तित्वहरू उनलाई यसरी सम्झन्छन् 

राष्ट्रवादी व्यक्ति र विचारको अन्त्य

बुलु मुकारुङ (कवि, गीतकार तथा संगीतकार)

उहाँसँग मेरो सम्बन्ध दाजुभाइको हो । उहाँसँग लामो समय संगत भएको छ । कृतिगत हिसाबले हेर्ने हो भने डेढ दर्जनभन्दा बढी उहाँका कृति प्रकाशित छन् । २०२८ सालमै छापेको ‘सारङ्गीभित्र’ कथासंग्रह उहाँको पहिलो कृति हो । त्यसपछि क्रमश छापिएको चाहिँ ‘आकाश गंगाको ओतमुनि,’ ‘गणेश रसिकका गीतहरू,’ ‘सिस्नुहरू टेक्दै हिँडे,’ ‘दसगजामा उभिएर’ हुन् । उहाँका थुप्रै कथाका, संस्मरणका, नियात्राका कथा, उपन्यासहरू पनि छन् ।

bulu

गीत लेख्ने र गाउँनेमा उहाँको अविस्मरणीय, उल्लेखनीय र प्रशंसनीय छ । ‘तराई हेर कति राम्रो हरियो वन हुनाले’ ‘हटि होइन डटी लड्ने नेपालीको बानी हुन्छ,’ ‘मागी मीठो खाँदैन, चोरी राम्रो लाउँदैन’लगायत उहाँका धेरै गीत पपुलरछन् । ‘मेरो टाउको सानो छ, यो सानो टाउकोमा विशाल नेपाल छ’ र ‘हाम्रो घरबाट तेम्के डाँडा चुलिँदै चुलीँदै आकाशलाई छोएको देखिन्छ’ गीत पनि चर्चित छन् । उहाँका गीतहरू मुल्याङन गर्ने हो भने नेपाली संगीतमा एउटा फरक शैलीको गीतहरू लेख्ने व्यक्ति हो उहाँ । गीतमा लिरिक्स र एन्टी लिरिक्स भनिन्छ । यी दुवै गीत लेख्ने व्यक्ति हुन् ।

२०२४ मा स्थापित संगीत समूह लेकालीको सस्थापक सदस्य पनि हो । जसमा हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नवीन किशोर राई, इन्द्रनारायण मानन्धर लगायत थिए । पहिले राल्फामा भएका उनी त्यहाँबाट छुटेर यो समूह बनाएका थिए । त्यसपछि २०२७ सालमा उहाँले  पाल्पाबाट एउटा ‘देउरानी’ खडा गर्नुभएको थियो ।  नेपाली गीत संगीतको विकासमा उनको सांगीतक समूसगत रूपमा पनि योगदान रहेको छ ।
उहाँको निधनले संगीत क्षेत्रलाई, नेपाली साहित्य क्षेत्रलाई अविस्मरणीय र अपूरणीय क्षति भएको छ । उहाँको प्रशासनिक क्षेत्रमा पनि ठुलो योगदान रहेको छ ।

दुःखद कुरोचाहिँ के छ भने उहाँको घरपरिवारमा नातिदेखि मर्दै आएर उहाँ बित्नुभएको हो । पहिले उहाँका कान्छो भाइ, त्यसपछि साइँलो र माइलो बितेका थिए । त्यसपछि छोरा र श्रीमती मीरा कोरोनाले बित्नुभयो । हामी उहाँलाई पीडाको सगरमाथा भनेर समेत भन्थ्यौँ । उहाँको विवाह भएको एक छोरी छिन्, बेलायतमै बस्छिन् ।

पछिल्लो समय उहाँको एकदमै अस्थिर मनस्थितिमा थियो । कहिले कहाँ पुग्ने, कहिले कहाँ पुग्ने, कहिले कता पुग्ने गर्नुहुन्थ्यो । भाउजू बित्नुभएपछि खानपान मिलेन, आहारविहार मिलेन, प्रोस्टेट क्यान्सरको कारण उहाँको निधन भयो ।

उहाँको निधनले राष्ट्रले एउटा राष्ट्रवादी व्यक्ति र विचार गुमाएको छ । किनभने उहाँका अधिकांश गीतहरूले देशप्रेम, जनता, आफ्नो भूमि, आफ्नो सिमानाको प्रेम झल्काउँछ । उहाँ गीत, संगीत र साहित्यको लागि जन्मेको एउटा व्यक्तित्व हो । उहाँको निधन अपूरणीय क्षति हो । 

एउटा असल प्रतिभा

रामेश श्रेष्ठ (जनवादी गायक तथा संगीतकार)

गणेश रसिक आज बित्नु भर्खर थाहा पाएँ । यो खबर मलाई निकै दुःख पुगेको छ । उहाँसँग मेरो २०२०/०२२ सालतिर काठमाडाँैमै भेट भएको थियो । उहाँ कलाकार हुन आउन भएको थियो । साहित्यमा पनि रुचि राख्नुहुन्थ्यो । हामी केही समयसँगै एउटा कोठामा पनि बस्यौँ । त्यो समय हामी गीत गाउनका लागि एकदम सँगैसँगै हिड्थ्यौँ ।

गीत गाउँदै गाउँदै हामीले राल्फा भन्ने एउटा समूह पनि निर्माण गर्‍यौँ, अरुणिमा दिदीको अगुवाइमा । केही समयपछि उहाँ यसरी विद्रोहको गीतहरू गाएर हिँड्न सक्दिनँ, मसँग सानो एउटा नोकरी पनि छ भनेर अलग हुनुभयो । मलाई तिमीहरूले जुन गर्न आँटेको काम छ, त्यो ठुलो छ, अप्ठ्यारो छ भन्नुहुन्थ्यो । तिमीहरू चाहिँ लाग्न सके राम्रो हुन्छ, मचाहिँ अर्कै ढंगबाट अब अगाडि बढ्छु भनेर छुट्टिनुभयो र लेकाली परिवार बनाउनुभयो । यो बाट राल्फा शैलीका गीतहरू गाउनुभयो ।

ramesh shresdtha

सरकारी जागिरमा उहाँलाई धेरै अवसरहरू मिल्यो । पञ्चायत व्यवस्थामा बसेर धेरै कामहरू गर्नुभयो । उहाँले फेरि राल्फाबाट सांगीतिक अभियान, संकल्प सांगीतिक अभियानसँगै अगाडि बढाउनुभयो । नेकपा माले बनाउन हामी २० औं वर्ष खटिएका थियौँ । रसिक र मेरो सम्बन्ध जहिले जो जहाँ रहे पनि राम्रो थियो । हामी दुःखका साथी भन्थ्यौँ । 

धेरै कार्यक्रममा पनि रसिकले मलाई बोलाउनुभयो, मैले पनि बोलाएको थिएँ । देशमा व्यवस्था फेरियो । हाम्रो सांगीतिक अभियान अलग भयो । हाम्रो मित्रताचाहिँ कायम रहिरह्यो र हाम्रो भेटघाट भइरह्यो । उहाँको किताब लोकार्पणमा बोलाउनुहुन्थ्यो । मैले पनि आफ्नो संस्मरणमा उहाँसँगको सम्बन्ध लखेको छु ।

रसिक र म काठमाडौँमा बसेर नेपाली गीत, संगीत, साहित्यको निम्ति कहिले सँगै, कहिले अलग भएर काम गर्‍यौँ ।

मैले चिनेको र संगत गरेको आधारमा उहाँ धेरै सरल, सोझो, इमानदार व्यक्ति हो । एउटा मैत्रीपूर्ण व्यवहार गर्न सक्ने साथी । पछिल्लो समय फोनमा कुराकानी भइरहन्थ्यो । तिमीसँग बसेर काम गर्ने मेरो धेरै इच्छा छ, मलाई रोगले गाँज्यो, अब म यसबाट मुक्त हुन सक्दिनँ होला, तिमीसँग काम गर्ने इच्छा अब पूरा नहुने भो भनेर चिन्ता गर्नुहुन्थ्यो ।

पछिल्लो समय मैले केही गीतहरू बनाएँ भने पनि उहाँलाई पठाइरहन्थेँ । भिजुअल, दृश्यांकन गरिएका गीतहरू पनि पठाइरहन्थेँ । 

नेपाली गीतसंगीतलाई कसरी उठाउने, कसरी विविधतामा लाने, कसरी एउटा विचार पक्षलाई अँगालेर अगाडि बढ्ने भनेर हामी २३, २४, २५ सालतिर खुब मेहनत गर्थ्यौँ।

रसिकको निधनले राष्ट्रले गीतसंगीत र साहित्य क्षेत्रको धरोहर गुमाएको छ । नेपाली जीवन, नेपाली प्रकृति, नेपाली समाजमा देखिने, भोगिने सिर्जना उहाँ सरल भाषामा पस्किनुहुन्थ्यो । उहाँ देशलाई, जीवनहरूलाई माया गर्ने, समाजमा घुलमिल भएर त्यही जीवनलाई गीतमा उतार्ने व्यक्ति हुनुहुन्थ्यो ।

रसिकसँग र मेरो पहिलाको जुन जीवन थियो, धेरै उत्तम थियो । हामीले देशका लागि केही गर्‍यौँ, गरी पनि रहेका छौँ । उहाँ एउटा असल मन भएको मान्छे, उहाँको निधनले एउटा असल प्रतिभा गुमेकोमा दुःख धेरै नै लागेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप