बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

टुसा उम्रिएको आलु खान हुन्छ कि हुन्न ?

सोमबार, १९ जेठ २०८२, १७ : १९
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • आलुमा टुसा उम्रिए खान योग्य छ कि छैन भन्ने विषयमा विज्ञहरू विभाजित छन्। टुसा उम्रिएको आलुमा ग्लाइकोआल्कालोइडको मात्रा बढी हुन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
  • विज्ञहरूका अनुसार, हरियो र लामो समयसम्म भण्डारण गरिएको आलु खानुहुँदैन, किनभने यसमा विषाक्त पदार्थको मात्रा बढ्छ। हरियो नभएको आलुमा सोलानिनको मात्रा कम हुन्छ।
  • टुसा उम्रिएको आलु खानुअघि टुसा र हरियो भाग काटेर फाल्नुपर्छ।

काठमाडौँ । तपाईं भान्साकोठामा खाना पकाउँदै हुनुहुन्छ । तरकारीका लागि आलु ताछ्न खोज्दा आलुमा टुसा उम्रिरहेको देख्नुहुन्छ ? यस्तो अवस्थामा, एक पटक त पक्कै पनि तपाईंको मनमा यस्तो आलु खानु होला कि नहोला ? भन्ने प्रश्न उठ्छ होला ।

टुसा उम्रिएको प्याज, आलु वा लसुन खानुहुन्छ कि हुन्न भन्ने कुरामा मानिसहरू विभाजित छन् । आलुमा टुसा आउनु भनेको यसले बिरुवाको रूपमा बढ्न खोजिरहेको सङ्केत हो । यस प्रक्रियाको क्रममा, विषाक्त ग्लाइकोआल्कालोइडहरू आलुमा बढ्न थाल्छन् । यसले बिरुवालाई फंगस र किराहरूबाट बचाउँछ ।

यी यौगिकहरू मध्ये एक सोलानिन हो, जुन आलुबाहेक गोलभेडा, बैंगन र क्याप्सिकम जस्ता बिरुवाहरूमा पनि पाइन्छ । लामो समयसम्म काटेर भण्डारण गर्दा यसले आलुमा यौगिकको मात्रा बढाउन सक्छ । यही कारणले गर्दा अङ्कुरित वा लामो समयसम्म भण्डारण गरिएको आलु मानव र जनावरको स्वास्थ्यको लागि राम्रो हुँदैन । 

टुसा उम्रिएको आलु तरकारी खानुहुन्छ ? 

‘पोटेटोज पोस्टहार्वेस्ट’ का लेखक र लिंकन विश्वविद्यालयमा पोस्टहार्वेस्ट टेक्नोलोजीका पाठक डा.क्रिस बिशप भन्छन् कि टुसा उम्रिएको आलुमा सबैभन्दा ठुलो खतरा ग्लाइकोआल्कालोइड हो । यसका कारण आलु तितो हुन्छ र यसको सेवनले केमीलाई बान्ता हुनसक्छ । हरियो रङबाट आलुमा यसको उपस्थिति पत्ता लगाउन सकिने पनि उनले बताए । हरियो भएको आलु खानु हुन्न भनेको त तपाईँले सुन्नुभएकै होला । 

डा.क्रिस बिशप भन्छन् कि यस्ता अंकुरितमा ग्लाइकोआल्कालोइड रसायनको उच्च मात्रा हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा, यसलाई पूर्ण रूपमा हटाउनुपर्ने उनी बताउँछन् । कुनै शङ्का छ भने, अङ्कुरित आलुको त्यो भाग हटाइदिनुपर्छ जहाँबाट टुसा आइरहेको छ ।

बेलायतको खाद्य मानक एजेन्सी (एफएसए)ले पनि केही कुराहरूलाई ध्यानमा राखेर टुसा उम्रेको आलु खान सकिन्छ भनेर भन्छ । ‘यदि आलु अङ्कुरित भएपछि पनि कडा छ र कुहिएको कुनै सङ्केत छैन भने, यो खान सुरक्षित छ’ एफएसएले भनेको छ । 

तर आलु हरियो देखिन्छ भने यसलाई फ्याँक्नु राम्रो हुने भनिएको छ । आलुमा भएको हरियो रङले यसमा विषाक्त पदार्थहरूको उपस्थितिलाई सङ्केत गर्दछ ।

‘आलु कडा छ, सुकेको छैन वा यसको टुसा साना छन् भने टुसा उम्रिएको आलु खान सकिन्छ’ एफएसएले भनेको छ । तर आलु धेरै नरम वा धेरै सुख्खा छ भने यसले आफ्नो पोषक तत्त्व गुमाएको हुन्छ र राम्रो स्वाद हुन्न । 

सोलानिनबारे के भन्छन् विज्ञ ?

केही विज्ञले यसमा धेरै सावधानी अपनाउने कुरा गर्छन् । हरियो र अङ्कुरित आलु खानु हुँदैन भनेर पूर्वी एङ्ग्लिया विश्वविद्यालयका वनस्पति विज्ञानकी प्राध्यापक क्याथी मार्टिन भन्छिन् ।

प्रकाशको प्रभावले आलुमा स्टेरोइडल ग्लाइकोआल्कालोइड सोलानिन बढ्ने उनले बताइन् ।  यो मानिस र जनावरहरू विशेष गरी बिरालो र कुकुरहरूका लागि घातक हुनसक्ने उनको भनाइ थियो ।

हरियो नभएको आलुमा सोलानिनको मात्रा कम हुन्छ, तर काँचो आलु कहिल्यै खान नहुने पनि उनले बताइन् ।  सोलानिन विषाक्तताको जोखिम हुने भएकोले यस्तो भनिएको हो । तर, सोलानिन विषाक्तताको केही घटनाहरू निश्चित रूपमा प्रकाशमा आएका छन् । 

१९७० को दशकको अन्त्यतिर बेलायतमा ७८ स्कुले बालबालिकाहरू हरियो आलु खाएपछि अस्पतालमा भर्ना हुनुपरेको थियो । यस्तो आलु खाँदा देखिने हल्का लक्षणहरूमा पखाला, बान्ता र गम्भीर पेट दुखाइ समावेश छ ।

गम्भीर अवस्थामा, अत्यधिक निद्रा लाग्ने, भ्रम, कमजोरी र दृष्टि समस्याहरू हुन सक्छन् । कतिपय अवस्थामा यसले बेहोस र मृत्यु पनि निम्त्याएको छ । विषाक्त आलु खाएपछि केही मिनेट वा दिनभित्र लक्षणहरू देखा पर्न सक्छन् ।

टुसा उम्रिएको आलुबारे केही महत्त्वपूर्ण सल्लाह

–आलुमा टुसा उम्रिएको छ भने खानु अघि यसलाई काट्नुहोस् । 

–टुसा एक इन्चभन्दा लामो छ वा आलु नरम छ भने, यसलाई फ्याँक्नुपर्छ । 

–आलुको हरियो भाग काट्नुपर्छ किनभने यो बढी विषाक्त हुन्छ । 

–आलुमा सडेको वा ढुसी जस्ता लक्षणहरू देखिएका छन् भने यसलाई फ्याँक्नु राम्रो हुन्छ ।

–तपाईं गर्भवती हुनुहुन्छ, प्रतिरक्षा प्रणाली कमजोर छ वा साना बच्चाहरूलाई खुवाउँदै हुनुहुन्छ भने सावधान रहनु राम्रो हुन्छ ।

आलुलाई कसरी राम्रोसँग भण्डारण गर्ने

–आलुलाई (३–१० डिग्री सेल्सियस) बिचको सुख्खा र अँध्यारो ठाउँमा राख्न सकिन्छ ।

–भण्डारण गर्नुअघि आलुलाई धुनु हुँदैन । यसो गर्दा आलु सड्न सक्छ । 

–आलुलाई प्याजबाट टाढा राख्नुपर्छ । दुवैले ग्यास र आर्द्रता उत्सर्जन गर्छन्, जसले अङ्कुरणलाई गति दिन्छ । 

टुसा उम्रिएको प्याज र लसुन नि ? 

टुसा उम्रिएको प्याज र लसुनको मामला फरक छ । प्याज र लसुनलाई सामान्यतया आलुभन्दा सुरक्षित मानिन्छ किनभने तिनीहरूमा त्यस्तो प्रकारको जोखिम हुँदैन भन्ने प्रोफेसर मार्टिन भन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप