शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

‘हामी सबैका आफ्नै अन्नपूर्ण हुन्छन्’

बुधबार, २१ जेठ २०८२, १६ : ३७
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • फ्रान्सेली पर्वतारोही माउरिस हार्जाेगका छोरा माथियस अन्नपूर्ण बेसक्याम्प पुगेर बाबुको सम्झनामा भावुक भए।
  • माथियसले बाबुको हिमाल आरोहणको सट्टा संगीत र आध्यात्मिक बाटो रोजे, तर उनले अन्नपूर्णलाई आफ्नो घर माने।
  • माउरिसको 'आइस एक्स' नेपाललाई हस्तान्तरण गरियो र ७५ वर्षअघिको अन्नपूर्ण आरोहणको हिरक जयन्ती मनाइयो।

अन्नपूर्ण बेसक्याम्प । ४०५० मिटर उचाइमा पुगेपछि फ्रान्सेली पर्वतारोही माउरिस हार्जाेगका छोरा माथियसलाई प्रश्न गरेँ, ‘अन्नपूर्ण चढ्ने योजना छ ?’

केहीबेर उनी भावुक भए । जवाफमा भने, ‘सायद अर्काे जुनीमा ।’

बाबु माउरिसले अन्नपूर्ण चढेभन्दा रमाइलो उनलाई आफ्नै सङ्घर्षको सिँढी चढ्नुमा छ । उनले भने, ‘हामी प्रकृतिलाई जित्न चाहन्छौँ । प्रकृतिलाई जित्ने होइन, सम्मान गर्ने हो ।’

माथियसको अनुभवमा उनलाई उनका बाबुले कहिल्यै पनि हिमाल चढ्न सुझाएनन् । ‘हामी आफ्ना छोराछोरी आफूजस्तै बनोस् भन्ने ठान्छौँ, तर छोराछोरी त्यतिबेला खुसी हुन्छन्, जतिबेला उनीहरूले रोजेको बाटो हिँड्न पाउँछन्,’ उनले भने ।

माथियस अन्नपूर्ण आधार शिविर पुग्दा उनको हातमा हार्माेनियम थियो । उनका साथीहरूले बाँसुरी, गितार र विट बक्सिङले उनलाई साथ दिएका थिए । पञ्चकुण्ड तालको छेउमा बसेर शिवको महिमा सुनाए ।

त्यसपछि उनलाई अर्काे प्रश्न गरेँ, ‘हिमाल चढ्नुहुन्न भने यति कष्टका साथ किन आउनुहुन्छ यहाँ ?’

जवाफमा उनले मुस्कुराएर भने, ‘जब म यहाँ पाइला टेक्छु, आफ्नै घर फर्किएको अनुभूति हुन्छ । किनकि मेरो बुबाको आत्मा यतै कतै छ र म त्यो महसुस गर्न चाहन्छु ।’

उनी ३ दशकअघि हिँडेरै बेसक्याम्प पुगेका थिए । त्यसो त गत वर्ष पनि उनी अन्नपूर्ण आधार शिविर पुगे, तर हेलिकोप्टरमा ।

माथियस अन्नपूर्णलाई आफ्नो घर ठान्छन् र बाबुको स्मृतिहरू खोज्न तल्लीन छन् । माथियस पर्वतारोही होइनन्, तर संगीतबाट बाबुको आरोहण पछ्याउन चाहन्छन् । ‘बुबाले मलाई कहिलै हिमाल आरोहण गर्न भन्नुभएन । म संगीत, ध्यान र योगतर्फ लागेँ । मेरालागि यही अन्नपूर्ण हो,’ उनले भने, ‘बुबाको किताबमा अन्तिम लाइन थियो– ‘हरेक मानिसले चढ्नुपर्ने आफ्ना धेरै अरु अन्नपूर्ण छन्’ । त्यो वाक्यले मलाई सधैँ पछ्यायो । म तिनै अन्नपूर्णहरू चढिरहेको छु ।’

माउरिसले आफ्नो जीवनकालमा माथियससँग पटक–पटक नेपालीहरूको हृदय सुन्न अह्राएका थिए । ‘बुबाले मलाई जीवनभर नेपालीको मुस्कान र खुला हृदयबारे भनिरहनुभयो । यहाँका नागरिकसँग जुन मुस्कान र न्यानोपन छ, त्यो पश्चिमतिर हराउँदै गएको छ,’ उनले अघि थपे, ‘युरोप वा अमेरिकाजस्ता ठाउँमा सबैजसो मानिस बन्द छन्, गम्भीर छन् । तर नेपाल आएपछि हामी सबै मान्छे हौँ, रमाउन आएका हौँ भन्ने महसुस हुन्छ । यो कुरा नेपालले सिकाएको छ ।’

माथियसले हिमालमा पनि संगीत खोजिरहेका छन् । ‘मैले धेरै पदयात्रा गरेको छु । जब तपाईं हिमालको मध्यभागमा पुग्नुहुन्छ, वरिपरि हिउँ र मौनता हुन्छ,’ माथियस भन्छन्, ‘त्यो मौनता नै ब्रह्माण्डको संगीत हो । त्यो मौनता नै हाम्रो साझा भाषा हो ।’

बाबुले रचेको इतिहासलाई उनी संगीत र आध्यात्मको माध्यमले संसारसामु प्रचार गर्न चाहन्छन् । ७५ वर्षअघि सन् १९५० जुन ३ मा उनका बाबु माउरिस हार्जाेगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेर एउटा इतिहास रचेका थिए । उक्त आरोहण विश्वमै पहिलो ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहणको कीर्तिमानी थियो ।

त्यही दिनलाई सम्झन हार्जाेग परिवार मंगलबार अन्नपूर्ण नर्थ बेसक्याम्प पुगेका हुन् । माउरिसले ७५ वर्षअघि अन्नपूर्ण आरोहण गर्दा प्रयोग गरेको ‘आइस एक्स’ माथियसले बेसक्याम्पबाटै नेपाललाई हस्तान्तरण गरे । लामो समय स्वीटजरल्याण्डको सङ्ग्रहालयमा रहेको उक्त एक्स हार्जाेगको आरोहण सारथिमात्रै होइन, नेपालको पर्यटकीय ‘गेट वे’ हो । जुन उपकरण देख्न विश्व लालयित छ, त्यही उपकरण अहिले नेपालसँग छ ।

अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली आरोही पूर्णिमा भन्छिन्, ‘स्वीटजरल्याण्डमा भएको भए मैले हेर्न पनि पाउदिनथेँ । आज म धेरै खुसी छु । माउरिस हार्जाेगको आइस एक्स हातमा लिने सौभाग्य मैले पाएँ ।’

बेसक्याम्पमा केक काटेर अन्नपूर्ण आरोहणको हिरक जयन्ती मनाइयो । कार्यक्रममा सहभागीहरूका लागि त्यो क्षण विशेष बन्यो । धेरैका आँखाबाट आँसु खसे । कोही स्मृतिको भारी बोकेर मौन रहे । फ्रान्सेली पर्वतारोही हार्जाेगले ८ हजार ९१ मिटरको हिमालमात्रै चढेका हुन्, तर उनी विश्वभरका पर्वतारोहीको शिरमा छन् । यही कारण उनको नाम सधैँका लागि पर्वतारोहण इतिहासमा अमर छ ।

माउरिसका साथी घिलिनी रिनाटोले एकपटक फ्रान्सेली राष्ट्रपति निकोलस सार्काेजीलाई भेटेका वेला भनेका थिए, ‘तपाईं फ्रान्सको राष्ट्रपति हुनुहुन्छ । तपाईं फ्रान्सको इतिहास लेखिरहनुभएको छ, तर माउरिस हार्जाेगले संसारको इतिहास लेखिसक्नुभएको छ ।’

त्यही उद्धरण उनले बेसक्याम्पमा आइस एक्स हस्तान्तरणका बेला दोहोर्‍याए । फेरि एकपटक माउरिसलाई सबैले मनमनै सम्झिए, भित्रभित्रै भक्कानिए र आ–आफ्नो गन्तव्यतिर लागे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप