एमालेलाई सुधार्ने ६ उपाय

एमाले (नेकपा एमाले) नेपाली राजनीतिमा एउटा ऐतिहासिक, सिद्धान्तप्रति प्रतिबद्ध र परिवर्तनको आन्दोलनबाट आएको पार्टी हो । तर पछिल्लो समय पार्टीमा नेतृत्वको स्खलन, गुटगत प्रवृत्ति, आन्तरिक लोकतन्त्रको कमजोरी र कार्यकर्तामाझ विश्वासको संकट देखिन थालेको छ । एमालेलाई फेरि एकपटक जनताको लोकप्रिय पार्टी बनाउने हो भने केही गम्भीर सुधारात्मक कदम चाल्नैपर्छ ।
पार्टीको संगठनमा अब नया सोच, नयाँ पुस्ता र नयाँ कार्यशैलीको खाँचो छ । तलका ६ बुँदा यस्तो सुधारको सम्भावित बाटा हुन् :
१) जनतामा जाने र उत्पादनमा जोडिने
कुनै समय थियो, गाउँतह र नगर उन्मुख क्षेत्रहरूमा एमालेकै पकड थियो । पार्टीमा इमानदार र कर्तव्यनिष्ठ कार्यकर्ताहरू थिए । हरेक सामाजिक कामको अगुवाइ एमाले कार्यकर्ताले गर्दथे भने समाजका कुलीन वर्ग र पुँजीपतिहरू कांग्रेस/राप्रपा हुने गर्थे भने मध्यम वर्ग र संघर्ष गर्ने पंक्ति एमाले हुने गर्थे तर समय क्रममा एमालेकै अगुवाइ हुँदा नै समाजमा समृद्धिको सपना छरियो, तर व्यवहारमा ती सपना अधुरा भए ।
आजका दिनमा, कार्यकर्ता उत्पादनसँग जोडिएको छैन, बरु दलाल संस्कृतिमा फसेका छन् । वडादेखि केन्द्रसम्म कमिसनको राजनीति मौलाएको छ । राजनीतिलाई व्यापार बनाइएको छ । यस्तो अवस्थामा पार्टीले अब निर्णायक नीतिगत परिवर्तन गर्नैपर्छ । बेरोजगार कार्यकर्तालाई संगठनमा बाँध्ने होइन बरु उनीहरूलाई उत्पादनसँग जोड्नुपर्नेछ । कार्यकर्तालाई व्यवसाय, सीप, रोजगारी वा पेसागत क्षेत्रमा संलग्न गराउने योजना ल्याइनुपर्छ । नत्रभने संगठन केवल बोझ बन्न जान्छ ।
कार्यकर्तालाई जनता नजिक पुर्याउने र नेतृत्व उत्पादन गर्ने उद्देश्यका साथ बनाइएका जनसंगठनहरू आज एउटा सीमित गुटको नियन्त्रणमा छन् । यी संगठनहरू जनसंगठन होइनन्, पार्टी कब्जाको माध्यम बन्दै छन् ।
२) दीर्घकालीन योजना
जेनेरेसन जेड अर्थात् सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका युवा आजको संसारका सबैभन्दा सक्रिय र सशक्त पुस्ता हुन् । यी युवा केवल भाषण सुन्ने होइन नतिजा हेर्ने प्रवृत्तिका छन् । उनीहरूलाई अब क्रान्तिका पुराना नाराले तान्न सकिँदैन बरु विश्वास, अवसर र नेतृत्वको जिम्मेवारी दिनुपर्छ ।
एमालेले युवालाई केवल चुनावी भिड जम्मा गर्ने कार्यकर्ता बनाउनुहुँदैन; नीति–निर्माण, विकास योजनामा सहभागी गराउनुपर्छ । पार्टी स्कुलहरूमा राजनीतिक प्रशिक्षण मात्र होइन व्यावसायिक सीप, सामाजिक सेवा र उद्यमशीलताको शिक्षा पनि समावेश गरिनुपर्छ ।
विदेश पलायनमा रहेका लाखौँ युवालाई स्वदेश फर्काउने प्रेरणा दिनुपर्छ । देशमै इज्जत, रोजगारी र अवसर छ भन्ने सन्देश एमालेले दिन सकेको खण्डमा नयाँ पुस्ता फेरि पार्टीसँग नजिकिनेछ ।
३) प्रविधि, पारदर्शिता र परिणाममुखी कार्यशैली
आजको समय प्रविधिको हो । पारदर्शिता, दक्षता र जवाफदेहिताका लागि प्रविधि अनिवार्य बनिसकेको छ । पार्टी सञ्चालन, निर्णय प्रक्रिया, आर्थिक कारोबार, सदस्यता व्यवस्थापन, बैठक अभिलेख र निर्वाचन प्रक्रिया— यी सबैमा डिजिटल प्रणालीको प्रयोग अपरिहार्य भइसकेको छ ।
एमालेले प्रविधिलाई सत्ताको नियन्त्रणको औजार होइन जनताको पहुँचको माध्यम बनाउनुपर्छ । कार्यकर्ता प्रशिक्षण, समीक्षा, अनुगमन, सार्वजनिक अभिवृत्तिहरू— यी सबैमा तथ्य, प्रमाण र प्राविधिक आधार भएको पार्टी बन्न सक्नुपर्छ ।
त्यस्तै, आलोचना गर्ने संस्कारलाई स्वीकार गर्ने बानी विकास गर्नुपर्छ । विरोधीलाई शत्रु ठान्ने र प्रश्न उठाउने कार्यकर्तालाई चुप लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ । पार्टी सुधारमा सच्चा आलोचक नै मित्र हो भन्ने बुझ्न जरुरी छ ।
४) शक्ति होइन दृष्टिकोण हेरेर उम्मेदवार
चुनावका बेला उम्मेदवार छनोट गर्ने विषयमा विगतमा एमालेले जुन अभ्यास गर्दै आएको छ, त्यो स्वच्छ र प्रतिस्पर्धी होइन । पार्टीभित्र शक्ति प्रदर्शन, नेताको आशीर्वाद, चन्दा र पहुँचका आधारमा उम्मेदवार बनाउने प्रवृत्तिले योग्य, इमानदार र नीतिप्रति प्रतिबद्ध युवालाई थिचेको छ ।
अब यो चलन परिवर्तन गर्नुपर्छ । उम्मेदवार चयन प्रक्रियामा खुला प्रतिस्पर्धा, जनताको सल्लाह, क्षेत्रीय कार्यकर्ताको मूल्याङ्कन र जनप्रतिनिधिको समीक्षालाई आधार बनाउनुपर्छ । स्थानीयस्तरदेखि केन्द्रसम्म एउटै मापदण्ड प्रयोग गरियो भने मात्रै पार्टीभित्र लोकतन्त्र गहिरिन्छ ।
त्यस्तै पाँच वर्ष काम नगरी चुनावका बेला मात्रै आउने, जनतासँग कुनै सरोकार नभएका, केवल पैसाका भरमा उम्मेदवार बन्ने संस्कृति अन्त्य गरिनुपर्छ । पार्टीलाई अब नयाँ र सफा छवि भएका प्रतिनिधिहरू चाहिएको छ ।
५) लोकतन्त्रको अभ्यास
एमालेका २३ वटा जनसंगठनहरू छन्; अनेरास्ववियु, युवा संघ, खेलकुद महासंघ, जिफन्ट, प्रेस चौतारी, अनेमसङ्घ लगायत । यीमध्ये अधिकांशमा लोकतान्त्रिक अभ्यास, प्रतिस्पर्धा र निर्वाचन प्रणाली प्रभावकारी रूपमा लागु भएको छैन ।
कार्यकर्तालाई जनता नजिक पुर्याउने र नेतृत्व उत्पादन गर्ने उद्देश्यका साथ बनाइएका जनसंगठनहरू आज एउटा सीमित गुटको नियन्त्रणमा छन् । यी संगठनहरू जनसंगठन होइनन्, पार्टी कब्जाको माध्यम बन्दै छन् । नेतृत्वले ‘फलानो रुचाएको’ भनेर स्वच्छ प्रतिस्पर्धाबाट कार्यकर्तालाई वञ्चित गरिँदै छ । यसले पार्टीभित्र नेतृत्वको पक्षधरभन्दा विरोधी जमात बढाउँछ ।
युवा संघको महाधिवेशनमा निर्वाचन भएको हो तर स्वच्छ प्रतिस्पर्धा भएको छैन । पार्टीभित्रको प्रतिस्पर्धा स्वस्थकर र समावेशी बनाउन आवश्यक छ । सत्तापक्ष वा संस्थापनले आफूले रुचाएको व्यक्तिले जित्नैपर्छ भन्ने सोच र अरु जिते पार्टी कमजोर हुन्छ भन्ने भ्रम अन्त्य हुनुपर्छ । अनेरास्ववियुमा पनि लोकतान्त्रिक अभ्यास अझ सशक्त र कार्यकर्तामैत्री बनाइनुपर्छ । सबै कार्यकर्ताले बराबरको अवसर पाउने वातावरण बनाउनु नेतृत्वको कर्तव्य हो ।
६) स्वाभिमानी कार्यकर्ता निर्माण
एमालेको शक्ति गुटमा होइन कार्यकर्ताको इमानदारी, निष्ठा र निःस्वार्थ सेवाभावमा थियो । आज त्यो संस्कृति हराउँदै गएको छ । चाकरी, सिफारिस, पहुँच र आर्थिक चलखेलमार्फत कमिटी बनाउने अभ्यासले कार्यकर्तामा निराशा बढाएको छ । यस्तो बिचौलिया संस्कृति अन्त्य गरी पार्टीमा स्वाभिमानी, निर्भीक र नीतिप्रति समर्पित कार्यकर्ता निर्माणको संस्कार बसाल्नुपर्छ ।
निष्कर्ष
एमालेको इतिहास संघर्ष र बलिदानको इतिहास हो । आज पनि पार्टीसँग संगठन, आधार र क्षमताको अभाव छैन तर यो सब प्रभावकारी बन्न जनमुखी संरचना, आन्तरिक लोकतन्त्र, युवा नेतृत्वको विकास र विचारमा निष्ठाको खाँचो छ ।
नेकपा एमालेले माथि उल्लिखित सुधारका बुँदालाई व्यवहारमा उतार्न सक्छ भने पार्टी फेरि जनताको पार्टी बन्नेछ— नारा र शक्ति होइन, नीति र सेवामा आधारित ।