बुधबार, २८ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी मत सर्वेक्षण

‘जेन–जी’ पुस्ताका झण्डै ६० प्रतिशत भन्छन्– उच्च शिक्षा नेपालमै

करिब ३५ प्रतिशत विदेश जाने पक्षमा
मङ्गलबार, २७ जेठ २०८२, १२ : ०५
मङ्गलबार, २७ जेठ २०८२

समाचार सारांश

  • रातोपाटीले जेन-जी पुस्ताको धारणा बुझ्न सातै प्रदेशमा सर्वेक्षण गर्‍यो, जसमा १०१९ जना सहभागी थिए।
  • सर्वेक्षणले प्लस टु पछिको शिक्षा र नेपालको शैक्षिक अवस्थाबारे जेन-जी पुस्ताको धारणा उजागर गर्‍यो।
  • धेरै युवा नेपालमै उच्च शिक्षा हासिल गर्न इच्छुक रहेको र अधिकांशले शैक्षिक अवस्थालाई औसत मानेको पाइएको छ।

काठमाडौँ । सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका मानिसलाई विश्वमै ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ । यो पुस्ता अहिले १३ वर्षदेखि २८ वर्ष उमेर समूहको छ । भविष्यको जिम्मेवारी लिन तम्तयार यो पुस्ता विश्वमा प्रविधिको विकाससँगै हुर्किएको छ । त्यसैले यो पुस्ताको सोच, चिन्तन र बुझाइ अन्य पुस्ताको भन्दा भिन्न छ ।

दक्ष जनशक्ति बजारमा यो पुस्ताले आफ्नो उपस्थिति जनाउन थालिसकेको छ । त्यसैले विविध पक्षमा यो पुस्ताको धारणा बुझ्न रातोपाटीले मत सर्वेक्षण गरेको छ । मत सर्वेक्षणमा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ‘जेन–जी’ पुस्ताका एक हजार १९ जना सहभागी गराइएको छ ।

सर्वेक्षणमा कोशी प्रदेशबाट १४७, मधेसबाट १२५, बागमतीबाट १७४, गण्डकीबाट १२७, लुम्बिनीबाट १५०, कर्णालीबाट १५० र सुदूरपश्चिमबाट १४६ जना सामेल भएका छन् ।

सर्वेक्षणमा प्रदेशभित्रका ग्रामीण तथा सहरी, तराई–पहाड लगायत फरक परिवेश तथा भूगोलको समुचित प्रतिनिधित्व होस् भन्ने हेतुले विभिन्न स्थानका विद्यालय तथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेटिएको थियो ।

सर्वेक्षणमा सामेल एक हजार १९ जनामध्ये सरकारी तथा सामुदायिक विद्यालयका ६६० अर्थात् ६४.८ प्रतिशत र निजी विद्यालयका ३५९ जना अर्थात् ३५.२ प्रतिशत छन् ।

नेपालमै उच्च शिक्षा हासिल गर्छु भन्ने धेरै

उच्च शिक्षाका लागि दैनिक सयौँको सङ्ख्यामा नेपाली युवा बिदेसिने गरेको भाष्य निकै चर्चामा छ । त्यसैले हामीले सर्वेक्षणमा कक्षा १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई नै बढी प्राथमिकतामा राखेका थियौँ ।

मत सर्वेक्षणमा सहभागीलाई ‘प्लस टु’ पछि तपाईं के गर्नुहुन्छ भनेर प्रश्न गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये ५९.३ प्रतिशत अर्थात् ६०४ जनाले नेपालमै उच्च शिक्षा अध्ययन गर्छु भनेर जबाफ दिएका छन् । ३५४ अर्थात् ३४.७ प्रतिशतले उच्च शिक्षाका लागि विदेश जाने बताएका छन् । यस्तै, ६१ जना अर्थात् ६ प्रतिशतले भने पढाइ छाडेर रोजगारीका अवसर खोज्ने बताए ।

प्रदेशगत रूपमा ‘प्लस टु’ अध्ययन सकेर नेपालमै उच्च शिक्षा अध्ययन गरेका तथा नेपालमै अध्ययन गर्ने योजना रहेको बताउने कोशीमा ६१.२ प्रतिशत छन् । अध्ययन गर्न विदेश जान्छु भन्ने ३६.१ प्रतिशत छन् भने २.७ प्रतिशतले चाहिँ पढाइ छाड्ने तथा काम गर्ने पक्षमा आफ्नो मत राखेका छन् ।

मधेसमा पनि नेपालमै उच्च शिक्षा अध्ययन गर्छु भन्ने विकल्प रोज्ने धेरै छन् । मधेसका ६६.४ प्रतिशतले नेपालमै उच्च शिक्षा अध्ययन गर्ने बताएका छन् भने अध्ययनका लागि विदेश जान्छु भन्ने ३३.६ प्रतिशत छन् । प्लस टु सकेर पढाइ छाडी काम रोज्छु भन्ने मत राख्ने मधेसमा एक जना पनि भेटिएनन् ।

बागमतीबाट ४८.९ प्रतिशतले प्लस टु सकेर नेपालमै उच्च शिक्षा अध्ययन गर्ने/गरिरहेको बताएका छन् भने ३९.१ प्रतिशतले अध्ययनका लागि विदेश जाने जबाफ दिएका छन् । यस्तै, १२.१ प्रतिशतले चाहिँ पढाइ छाडेर काम गर्ने विकल्प रोजेका छन् ।

यस्तै, गण्डकीबाट सर्वेक्षणमा सहभागी ४८ प्रतिशतले नेपालमै उच्च शिक्षा हासिल गर्ने वा गरिरहेको जनाएका छन् भने ४७.२ प्रतिशतले विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने जबाफ दिएका छन् । गण्डकीमा उच्च माध्यमिक तहपछि पढाइ छाडेर काम गर्छु भन्ने ४.७ प्रतिशत छन् ।

लुम्बिनीबाट सहभागीमध्ये ५५.३ प्रतिशतले नेपालमै उच्च शिक्षा हासिल गर्ने जनाएका छन् । विदेशमा गएर अध्ययन गर्छु भन्नेमा ३८ प्रतिशत छन् भने पढाइ छाडेर काम गर्छु भन्नेमा ६.७ प्रतिशत छन् ।

कर्णालीबाट सर्वेक्षणमा सहभागीमध्ये उच्च शिक्षा नेपालमै अध्ययन गर्छु भन्ने ७०.७ प्रतिशत छन् । यस्तै, अध्ययनका लागि विदेश जान्छु भन्ने २४.७ प्रतिशत छन् । उच्च शिक्षा अध्ययन नगरी काम गर्छु भन्नेचाहिँ ४.७ प्रतिशत छन् ।

प्लस टु सकेपछि तपाईं के गर्नुहुन्छ भन्ने प्रश्नमा सुदूरपश्चिमका ६५.८ प्रतिशतले नेपालमै उच्च शिक्षा अध्ययन गर्छु भनेर जबाफ दिएका छन् । २५.३ प्रतिशतले अध्ययनका लागि विदेश जान्छु भनेका छन् । पढाइ छाड्ने र काम गर्ने विकल्प रोज्नेमा ८.९ प्रतिशत छन् ।

  • नेपालको शैक्षिक अवस्था ‘औसत’

यस्तै, ‘नेपालको शैक्षिक अवस्था कस्तो छ ?’ भन्ने प्रश्नमा सातै प्रदेशका सहभागीमध्ये समग्रमा ७१.३ प्रतिशत अर्थात् ७२७ जनाले ‘औसत’ रहेको बताएका छन् । नेपालको शैक्षिक अवस्था ‘काम नलाग्ने’ भनेर जबाफ दिने १५.३ प्रतिशत अर्थात् १५६ जना छन् । नेपालको शैक्षिक अवस्थालाई ‘राम्रो’ भन्ने १३.३ प्रतिशत अर्थात् १३६ जना छन् ।

शैक्षिक अवस्था कस्तो छ भन्ने प्रश्नमा कोशीका ७५.५ प्रतिशत उत्तरदाताले ‘औसत’ रहेको जबाफ दिएका छन् । यस्तै १५ प्रतिशतले ‘काम नलाग्ने’ र ९.५ प्रतिशतले ‘राम्रो’ भनेका छन् ।

मधेसबाट सर्वेक्षणमा सहभागी १२५ जनामध्ये ७५.२ प्रतिशतले नेपालको शैक्षिक अवस्था ‘औसत’ रहेको बताएका छन् । यस्तै, १६ प्रतिशतले ‘राम्रो’ र ८.८ प्रतिशतले ‘काम नलाग्ने’ भनेर जबाफ दिएका छन् ।

बागमतीबाट सर्वेक्षणमा सहभागी ७८.७ प्रतिशतले नेपालको शैक्षिक अवस्था औसत रहेको जबाफ दिएका छन् । यस्तै, १५.५ प्रतिशतले ‘काम नलाग्ने’ भनेका छन् । ५.७ प्रतिशतले भने नेपालको शैक्षिक अवस्था ‘राम्रो’ भनेका छन् ।

गण्डकीबाट सर्वेक्षणमा सहभागी ७०.१ प्रतिशतले नेपालको शैक्षिक अवस्था ‘औसत’ रहेको जनाएका छन् । १९.७ प्रतिशतले ‘काम नलाग्ने’ र १०.२ प्रतिशतले ‘राम्रो’ रहेको उत्तर दिएका छन् ।

लुम्बिनीबाट सहभागी ७४.७ प्रतिशतले नेपालको शैक्षिक अवस्था ‘औसत’ रहेको जनाएका छन् । १८.७ प्रतिशतले ‘राम्रो’ र ६.७ प्रतिशतले ‘काम नलाग्ने’ भनेका छन् ।

कर्णालीबाट सहभागीमध्ये ६५.३ प्रतिशतले नेपालको शैैक्षिक अवस्था ‘औसत’ रहेको जनाएका छन् । यस्तै, २२ प्रतिशतले ‘राम्रो’ मानेका छन् भने १२.७ प्रतिशतले ‘काम नलाग्ने’ भनेका छन् ।

सुदूरपश्चिमका ५८.९ प्रतिशतले नेपालको शैक्षिक अवस्था ‘औसत’ रहेको जनाएका छन् । यहाँ नेपालको शैक्षिक अवस्था ‘काम नलाग्ने’ रहेको बताउने २८.८ प्रतिशत छन् । ‘राम्रो’ रहेको बताउनेचाहिँ १२.३ प्रतिशत छन् ।

यस्तै, सातै प्रदेशका एक हजार १९ जना सहभागीमध्ये ५३.९७ प्रतिशत अर्थात् ५५० जनाले पढाइ/सिकाइमा कक्षाकोठाबाटै लाभान्वित भएको बताएका छन् । ३५७ जना अर्थात् ३५.०३ प्रतिशतले इन्टरनेटबाट पढाइ/सिकाइमा लाभान्वित भएको जबाफ दिएका छन् । घरपरिवारबाट पढाइ/सिकाइमामा लाभान्वित भएको बताउने ११२ जना अर्थात् १०.९९ प्रतिशत छन् ।

कोशीबाट सर्वेक्षणमा सहभागीमध्ये ४७.६ प्रतिशतले ‘इन्टरनेट तथा प्रविधि’ भनेका छन् । पढाइ/सिकाइमा कक्षाकोठाबाट लाभान्वित भएको मान्ने ३८.८ प्रतिशत छन् । यस्तै, ‘साथीभाइ/परिवार’बाट पढाइ/सिकाइमा लाभान्वित भएको भनेर जबाफ दिने १३.६ प्रतिशत छन् ।

मधेस प्रदेशबाट सहभागीमध्ये ५६ प्रतिशतले कक्षाकोठाबाट लाभान्वित भएको बताएका छन् । यस्तै, ३५.२ प्रतिशतले ‘इन्टरनेट तथा प्रविधि’बाट र ८.८ प्रतिशतले ‘साथीभाइ/परिवार’बाट लाभान्वित भएको मत प्रकट गरेका छन् ।

बागमती प्रदेशबाट सहभागीमध्ये ५५.७ प्रतिशतले पढाइ/सिकाइमा कक्षाकोठाबाट लाभान्वित भएको जनाएका छन् । यस्तै, ३१.६ प्रतिशतले इन्टनेट तथा प्रविधिबाट लाभान्वित भएको बताएका छन् । १२.६ प्रतिशतले चाहिँ साथीभाइ/परिवारबाट लाभान्वित भएको जबाफ दिएका छन् ।

गण्डकीका ४५.७ प्रतिशत सहभागीले इन्टरनेट तथा प्रविधिबाट पढाइ/सिकाइमा आफू लाभान्वित भएको जनाएका छन् । यस्तै, कक्षाकोठाबाट लाभान्वित भएको बताउने ३९.४ प्रतिशत छन् भने ‘साथीभाइ/परिवारबाट’ भन्ने विकल्प रोज्ने १५ प्रतिशत छन् ।

लुम्बिनीबाट सहभागीमध्ये ६० प्रतिशतले कक्षाकोठाबाटै पढाइ/सिकाइमा लाभान्वित भएको जबाफ दिएका छन् । बाँकी ३२.७ प्रतिशतले इन्टरनेट तथा प्रविधिबाट र ७.३ प्रतिशतले साथीभाइ/परिवारबाट पढाइ/सिकाइमा लाभान्वित भएको जनाएका छन् ।

कर्णालीबाट सर्वेक्षणमा सहभागी ६० प्रतिशतले आफू कक्षाकोठाबाटै पढाइ तथा सिकाइमा लाभान्वित हुँदै आएको बताएका छन् । यस्तै २८.७ प्रतिशतले इन्टरनेट तथा प्रविधिबाट पढाइ तथा सिकाइमा लाभान्वित भएको जबाफ दिँदा ११.३ प्रतिशतले चाहिँ साथीभाइ तथा परिवारबाट लाभान्वित भएको बताएका छन् ।

सुदूरपश्चिमका ६५.८ प्रतिशतले पढाइ सिकाइमा कक्षाकोठाबाटै लाभान्वित हुने गरेको बताएका छन् । ‘इन्टरनेट तथा प्रविधिबाट’ पढाइ तथा सिकाइमा लाभान्वित भएको छु भन्ने २६ प्रतिशत छन् । यस्तै, साथीभाइ तथा घरपरिवारबाट पढाइ तथा सिकाइमा लाभान्वित भएको बताउने ८.२ प्रतिशत छन् ।

(कोशीबाट अर्जुन आचार्य, मधेसबाट अली असगर देवान, बागमतीबाट गणेश दुलाल, गण्डकीबाट प्रकाश ढकाल, लुम्बिनीबाट तेजेन्द्र केसी, कर्णालीबाट पंखबहादुर शाही र सुदूरपश्चिमबाट सविता बुढाको सहयोगमा ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप