काठमाडौँ । नेपालमा अहिले पनि परम्परागत शैलीमार्फत नै पठनपाठन हुँदै आएको छ । तर, जेन–जी (सन् १९९७ देखि २०१२ बिचमा जन्मिएका) पुस्ता घोकन्ते शैलीप्रति आजित देखिन्छ । किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानमा जोड दिइनुपर्ने यो पुस्ताको धारणा छ ।
काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत यो जेनेरेसनका विद्यार्थीहरूले घोकन्ते विद्या र सैद्धान्तिक ज्ञानले आफ्नो भविष्य सुरक्षित नहुने बताएका छन् । उनीहरूले व्यवहारिक, प्रयोगात्मक, सिर्जनात्मक र प्रविधिमैत्री शिक्षाको जोडदार माग गरेका छन् । शिक्षा केवल ग्रेड र प्रमाणपत्रमा सीमित नभई अर्थ, उद्देश्य र आत्मविकास खोज्ने माध्यम बन्नुपर्नेमा उनीहरूको जोड छ ।
नेपालको वर्तमान शिक्षा प्रणाली सैद्धान्तिक र परीक्षा केन्द्रित भएको उनीहरूको गुनासो छ । बागबजारमा रहेको काठमाडौँ मोडल कलेजमा कक्षा ११ मा विज्ञान विषय लिएर पढिरहेकी सेलेस्टा आचार्यले ज्ञान भनेको व्यवहारमा उतार्न सक्ने खालको हुनुपर्ने बताइन् ।
‘हामी सिकाइमा अर्थ, उद्देश्य र आत्मविकास खोजिरहेका छौँ, तर यहाँ सम्झन सक्ने क्षमता र परीक्षा दिने शैलीलाई बढी महत्त्व दिइन्छ, बुझाइ र व्यवहारिक प्रयोगलाई होइन,’ उनले भनिन् ।
अमोनिया बनाउने प्रक्रिया किताबमा पढ्ने गरेको बताउँदै उनले त्यसो कसरी बन्छ भन्ने विषयमा प्रयोगात्मक अभ्यास नहुने बताइन् । त्यसका लागि विद्यार्थीहरूलाई अमोनिया बनाउन कारखाना भ्रमण गराएर वास्तविक जीवनसँग जोड्नुपर्ने बताइन् ।
सोही कलेजमै कक्षा ११ मा अध्ययनरत विद्यार्थी रविन गिरीले पाठ्यक्रममा सिद्धान्त मात्रै भएको धारणा राखे । तर, त्यसलाई व्यवहारमा उतार्ने प्रयोगात्मक अभ्यास र उपकरणको अभाव रहेको उनको भनाइ छ । ‘हामीले पिक्चर्सहरु त पाएका हुन्छौँ, तर त्यसलाई प्राक्टिकलमा एप्लिकेसन गर्न कुनै टुल्स छैन,’ उनले भने, ‘मेडिसिनको नाम घोक्नुभन्दा अस्पताल भ्रमण गरेर बिरामीको अवस्था र उपचार प्रक्रिया देख्न पाए त्यो बढी प्रभावकारी हुन्थ्यो ।’
उनले जीपीएस र क्यापासिटर जस्ता विषयहरू पनि केवल सैद्धान्तिक रूपमा पढाइने तर वास्तविक उपकरण कहिल्यै नदेखाइने गरेको बताए ।
आजको डिजिटल युगमा सूचना औँलाको टुप्पोमा भएपनि त्यसलाई कसरी उपयोग गर्ने भन्ने ज्ञान महत्त्वपूर्ण भएको सेलेस्टाको भनाइ छ । उनले कृत्रिम बौद्धिकता (एआई) को सही प्रयोगबारे विद्यालय र घरबाटै सिकाउनुपर्नेमा जोड दिइन् । ‘एआई हाम्रो लागि एक सहायक हुन सक्छ, तर त्यसको उपयोग गर्ने तरिका थाहा हुनुपर्छ,’ उनले भनिन्, ‘साँचो ज्ञान भनेको सम्झनु होइन, बुझ्नु हो ।’
रविनले पनि एआईलाई पाठ्यक्रममा समावेश गरेर त्यसको व्यावहारिक प्रयोग र सिर्जनात्मकता बढाउने तालिम दिनुपर्ने बताए । ‘हामीलाई यो सिकाउनुपर्यो कि आर्टिफिसियल इन्टेलिजेन्सबाट कसरी प्राक्टिकल एप्लिकेसन गर्न सकिन्छ, कसरी आफ्नो क्रिएटिभिटी, कसरी आफ्नो इम्याजिनेसन बढाउन सकिन्छ,’ उनको माग छ ।
त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविबाट कक्षा १२ को परीक्षा दिएका निर्मल विकले एआईले सिकाइमा सहयोग गरे पनि यसको प्रयोगबारे सचेत हुनुपर्ने र रचनात्मकतामा असर पर्न दिन नहुने बताए ।
अमेरिकामा जेन–जी जेनेरेशनले कस्तो शिक्षा प्रणाली चाहन्छ भन्ने विषयमा व्यापक अध्ययन भएको देखिन्छ ।
प्रविधि, सामाजिक परिवर्तन, आर्थिक अनिश्चितता र कोभिड–१९ को प्रभावबाट हुर्किएका उनीहरूको शिक्षाप्रतिको चाहना फरक पाइएको हो । उनीहरूले प्रविधिसँग एकीकृत अध्ययनका लागि विद्यालयमा र घरबाट पढ्न सकिने लचिलो व्यवस्था, भिडियो, सिमुलेशन र खेलमार्फत पढाइमा जोड दिएका छन् । त्यस्तै शिक्षालाई रोजगारीको तयारी, कोडिङ, वित्तीय साक्षरता, उद्यमशीलता जस्ता सीपहरूको समेत विकास चाहेका छन् ।
द ब्रिटिस युनिभर्सिटी ईन इजिप्टले सन् २०१८ मा ‘टिचिङ द डिजिटल नेटिभस्’ विषयक अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार एक ५९ प्रतिशत जेन–जीले युट्युबमार्फत सिक्न रुचाउँछन्, र ५५ प्रतिशतले युट्युबले उनीहरूको शिक्षा र व्यक्तिगत विकासमा सकारात्मक प्रभाव पारेको छ । छोटो ध्यान अवधि शैलीका विषयमा समेत अध्ययन गरिएको थियो । जसमा विद्यार्थीहरू लामो लेख पढ्न नचाहेको पाइएको थियो । प्रति १०० शब्दमा केवल ४.४ सेकेण्ड मात्र खर्च गर्छन, त्यसैले छोटो खण्ड सिकाई सहयोगी हुने अध्ययनको निष्कर्ष थियो ।
ससन् २०१८ मा बर्नेस एण्ड नोबेल कलेजले गरेको अध्ययनले जेन–जी जेनेरेशनले एक्टिभ इन्गेजमेन्टलाई प्राथमिकता दिन्छन् । ८० प्रतिशतले साथीहरूसँग पढ्न मन पराउने गरेको पाइएको थियो ।
प्रिमियर इन्टरनेशनल स्कुलकी गरिमाले पाठ्यपुस्तकभन्दा बाहिरको, सिर्जनात्मक, रमाइलो र वास्तविक जीवनसँग सम्बन्धित शिक्षा आजको पुस्ताको खोजी भएको बताइन् । उनले आफ्नो स्कुलमा भएको ‘स्टिम फेयर’ र विद्यार्थीद्वारा प्रकाशित म्यागजिन जस्ता गतिविधिले सिक्न र सिर्जना गर्न प्रेरित गरेको बताइन् । ‘यस्तो विश्वास र जिम्मेवारीले शिक्षालाई साँच्चै अर्थपूर्ण बनाउँछ,’ उनले भनिन् ।
प्रिमियरकै आशा गोर्खालीले समेत लचिलो र सिर्जनात्मक शिक्षामा जोड दिइन् । माथि उल्लेखित अध्ययन जस्तै नेपाली विद्यार्थीहरूले समेत व्यवहारिक शिक्षा, प्रविधिमा जोड, रोजगारमूलक शिक्षामा जोड दिएका हुन् ।
‘हामीलाई केवल के पढिन्छ भन्ने मात्र होइन, कसरी त्यो ज्ञान प्रयोग गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण लाग्छ । रचनात्मकता, क्रियाकलाप र सेवा जस्ता कार्यक्रमले आलोचनात्मक सोच र कार्यमा उत्रन सहयोग गरेको छ,’ गोर्खालीले भनिन् ।
विकले वर्तमान शिक्षाले युगको आवश्यकता सम्बोधन गर्नुपर्ने र भविष्य निर्धारण गर्न सक्ने हुनुपर्ने बताए । उनले पाठ्यक्रम परिमार्जन, शिक्षक तालिम, पूर्वाधार विकास (विशेषगरी ग्रामीण क्षेत्रमा) र देशको आवश्यकता (जस्तै जलविद्युत, कृषि) अनुसारको विषयवस्तु समावेश गर्नुपर्नेमा जोड दिए ।
‘म साइन्समा पढिरहँदा हाइड्रोइलेक्ट्रिसिटी नामक कुनै टपिक नै छैन । नेपाल जनस्रोतको धनी देश हो । तर, हाम्रो कोर्समा हाइड्रोइलेक्ट्रिसिटीबारे केही छैन । हामीले बाहिरको पढिरहेका छौँ । हामी ट्र्याक भन्दा कति बाहिर छौँ,’ उनले भने।
रविनले पाठ्यक्रम पुरानो भएको र विद्यार्थीले अझै पनि ५–६ किलोको झोला बोकेर विद्यालय जानुपर्ने बाध्यता रहेको बताए । उनले ल्यापटप र ट्याब्लेटजस्ता प्रविधिको प्रयोगलाई कक्षाकोठामा सहज बनाउनुपर्नेमा त्यसलाई प्रतिबन्ध लगाएर विद्यार्थीको काँधमा गह्रुङ्गो झोला बोकाउने काम भइरहेको बताए ।
‘यो किताब बोकेर, झोलामा किताब, ५–६ किलोको किताब बोकेर स्कुलमा आउनु भनेको एकदमै लाजमर्दो कुरा हो अहिलेको जेन-जी जेनेरेसनको लागि,’ रविनले भने ।
आचार्यले नेपालका विश्वविद्यालयको गुणस्तर न्यून भएकै कारण विद्यार्थी बिदेसिन बाध्य भएको तर्क गर्दै व्यवहारिक, प्राविधिक र नवप्रवर्तनमूलक शिक्षाले स्वदेशमै अवसर सिर्जना गर्न सकिने र रोजगारी खोज्ने नभई सिर्जना गर्ने जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरिन् । ‘जबसम्म हाम्रो शिक्षा प्रणाली सुधार हुँदैन, तबसम्म विदेश जाने चलन घट्दैन,’ उनले भनिन् ।
समग्रमा, जेन–जी पुस्ताका विद्यार्थीहरूको केवल परीक्षा पास गराउने र प्रमाणपत्र दिने शिक्षा होइन, बरु जीवनोपयोगी, व्यावहारिक, सिर्जनात्मक, प्रविधिमैत्री र निरन्तर अद्यावधिक हुने शिक्षा चाहिएको बताएका हुन् ।
शिक्षा प्रणाली जिज्ञासा सम्बोधन गर्ने खालको, सोच्न, प्रश्न गर्न र नयाँ कुरा आविष्कार गर्न प्रेरित गर्ने खालको हुनुपर्नेमा उनीहरूको जोड छ । भविष्यका चुनौती सामना गर्न र देश विकासमा योगदान दिन सक्षम बन्न सक्ने खालको शिक्षा चाहिएको उनीहरूको भनाई छ ।
‘नेपालमा एजुकेसन सिस्टम चेन्ज गर्न मुख्य रूपमा प्राक्टिकलमै इम्प्लिमेन्टेसन हुनुपर्छ । क्रिएटिभिटी इन्क्रिजिङ शिक्षा हुनुपर्छ र करिकुलम नयाँ चेन्ज हुनैपर्छ,’ रविनले भने ।
निर्मलले आफूले अहिले पढ्दा र आजभन्दा १० वर्ष अगाडिको पुस्ताले पढ्दाको पाठ्यक्रम उस्तै भएको बताए ।
‘संसारमा एक सेकेन्डमा कति कुरा चेन्ज भइसको हुन्छ । सामान्य सेल फोनबाट अहिले द्रुत गतिको सञ्चार सेवामा आइपुग्दासम्म धेरै समय लागेको छैन । तर आजभन्दा १० वर्ष अगाडि मेरो दादाले पढेको कुरा र आज म पढ्ने कुरा उही नै छ । त्यो अपडेडेट हुनुपर्यो,’ निर्मलले भने ।
उनले अहिलेका शिक्षकहरू परम्परागत शैलीमा नै पढाउने गरेको भन्दै उनले शिक्षकहरू समेत जेन-जी जेनेरेसन जसरी अपडेट हुनुपर्ने बताए ।
‘शिक्षकहरू धेरै अघिल्लो जेनेरेसनका छन् । उहाँहरूले पढाउने भन्दा बढी एड्भान्स हामीलाई थाहा भइसकेको हुन्छ । उहाँहरू अपडेट हुनुपर्यो,’ निर्मलले भने ।
नेपालको वर्तमान अवस्थामा शैक्षिक अवस्था निकै दयनीय रहेको बताउँदै निर्मलले भौतिक संरचनादेखि शिक्षक तथा पाठ्यपुस्तक समेत समयसापेक्ष बनाउनुपर्ने बताए ।
रविनले रट्ने विद्या आवश्यक नरहेको बताउँदै अहिले पनि अल्बर्ट आइन्स्टाइनको थेओरी पढ्नुपरिरहेको बताए । ‘अहिले सबै मान्छेहरू अल्बर्ट आइन्स्टाइनको थेओरी रट्ने गरेका छन् । हामी उहाँको इन्भेन्सन भन्दा तलको इन्भेन्सनहरु गरिरहेका छौ. । उहाँको इन्भेन्सन बुझ्न कोसिस गरेका छौँ, तर उहाँको इन्भेन्सन बाहेक अरू इन्भेन्सन गर्ने कोसिस नै गरेको छैन । यो जेन-जी को लागि एकदमै ड्रब्याक हो । यसलाई सुधार गर्नुपर्ने, यो हाम्रो इच्छा हो,’ रविनले भने ।
रविनले नेपालको पाठ्यक्रम पुरानो रहेको तर, अहिलेको जेनेरेसन त्यो भन्दा हाई लेभल गइसकेको बताए । जेनेरेसन हाई लेभलमा जाँदै गर्दा पाठ्यक्रमहरू थोरै मात्र समावेश गरिएको उनको भनाइ छ ।
‘सरहरूले कुरा निकाल्नुहुन्छ आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा । तर नेपालको अझै पनि न ऐनमा छ, न कहीँमा छ । न त करिकुलममा नै आर्टिफिसियल इन्टेलिजेन्स भनेर राखिएको छ । न त हामीलाई कहिल्यै पनि आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा क्लास नै दिएको छ,’ रविनले भने ।
नेपालमा एजुकेसन सिस्टम चेन्ज गर्न सबैभन्दा पहिला प्राक्टिकलमै इम्प्लिमेन्टेसन हुनुपर्ने रबिनको भनाइ छ ।
‘पाठ्यक्रम नयाँ चेन्ज हुनैपर्छ । शिक्षक आन्दोलन गरेर शिक्षकको फाइदा हुन्छ, ठिक छ । तर जेन-जी को लागि कसैले अहिलेसम्म सोधेको छ ? जेन-जी लाई अहिलेसम्म कस्तो शिक्षा चाहिन्छ भनेर कहिल्यै आन्दोलन भएको छ ? पक्कै छैन,’ रविनले भने ।
प्रिमियरकी गरिमाका अनुसार अहिलेको पुस्ताले खोजिरहेको शिक्षा भनेको पाठ्यपुस्तकभन्दा बाहिरको सिकाइ हो । ‘सिर्जनात्मक, रमाइलो र वास्तविक जीवनसँग सम्बन्धित शिक्षाको खोजीमा छौँ । हामीले सिकेका कुराहरू केवल याद गरेर परीक्षा दिनु होइन, अनुभव गर्नु चाहन्छौँ । हामीलाई त्यस्ता अवसरहरू चाहिन्छ जसले केही निर्माण र सिर्जना गर्न सहयोग गर्छ,’ गरिमाले भनिन् ।
प्रतिक्रिया