सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
सन्दर्भ : ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस

ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार : कारण र न्यूनीकरण

आइतबार, ०१ असार २०८२, १६ : ०४
आइतबार, ०१ असार २०८२

आज ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्धको २०औँ विश्व चेतना दिवस । यो दिवस संयुक्त राष्ट्र संघले सन् २००६ जुन १५ तारिखदेखि मनाउन थालेको हो । संयुक्त राष्ट्र संघले यस वर्षको नारा तय गरेको छ, ‘संस्थामा ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारलाई सम्बोधन गरौँ’ । नेपालमा पनि संघीय सरकार; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकसँग सरोकार राख्ने संघ–संस्थासँग मिलेर यो कार्यक्रम मनाउँदै रहेको जानकारी प्राप्त भएको छ । 

ज्येष्ठ नागरिकलाई दुर्व्यवहारसम्बन्धी जनचेतना जगाउने कार्यक्रम गर्न राज्य, समुदाय र स्वयं निजी क्षेत्रको साधन–स्रोत अभावका कारण भनेको के हो ? किन र कसरी हुन्छ ? के कारणले हुन्छ ? यसतर्फ छलफल हुने औपचारिक कार्यक्रम वर्षको एक दिन मात्रै हुने गरेको छ । आर्थिक र सामाजिक रूपमा ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारको कारण खोज्न कसैलाई फुर्सद छैन । हामीले उत्कृष्ट सम्झिएको नेपालको संविधान, ऐन–कानुन र निर्देशिकामा ज्येष्ठ नागरिकका हक–अधिकार उल्लेख भए पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ । कार्यान्वयनका लागि आवाज उठाउन ज्येष्ठ नागरिक स्वयं निरीह छन् । यस्तो अवस्थामा ज्येष्ठ नागरिकका संघ–संस्था नै उत्तरदायी बन्नुपर्ने हो । 

ज्येष्ठ नागरिकका हकमा तथ्य र तथ्यांक राख्नलाई हाम्रो देशमा सरोकारवाला पक्ष कमजोर देखिन्छन् । यसका कारण नेपालका ज्येष्ठ नागरिकहरू झन् निरीह, समस्याग्रस्त देखिन्छन् । राज्यको फितलो नीति र कमजोर कार्यान्वयनका कारण ज्येष्ठ नागरिक दिन प्रतिदिन पीडित वा अपहेलित मात्रै भएका छैनन् उनीहरूमाथिको दुर्व्यवहार समेत बढ्दै गएको छ । 

ज्येष्ठ नागरिकप्रति हुने हिंसा, दुर्व्यवहारको वास्तविक तथ्यांक न त राज्यसँग छ न त ज्येष्ठ नागरिकसँग सरोकार राख्ने संघ–संस्थासँग छ । स्थानीय निकायमा काम गर्ने न्यायिक समिति, प्रहरी वा अदालतमा परेका मुद्दाका आधारमा र अन्य आधारमा दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गर्न सकिन्छ । ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्धको २०औँ विश्व चेतना दिवस मनाइरहँदा ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारका कारण र त्यसको न्यूनीकरणका उपायबारे छलफल गर्न आवश्यक छ । यस सम्बन्धमा तपसिल बमोजिमका आधार प्रस्तुत गर्न सकिन्छ ।

  • ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार विरुद्धको २०औँ विश्व चेतना दिवस मनाइरहँदा ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारका कारण र त्यसको न्यूनीकरणका उपायबारे छलफल गर्न आवश्यक छ ।

परिचय 

ज्येष्ठ नागरिकहरूप्रति हुने दुर्व्यवहार भन्नाले यातना, अपमान, विभेद, शोषण, दमन गर्नु एवं पीडा दिनु भन्ने बुझिन्छ । यो दिवस सन् २००६ मा ‘इन्टरनेसनल नेटवर्क फर दी प्रिभेन्सन अफ् इल्डर एब्युज (आईएनपीए) बाट सुरु भयो । सन् २०११ देखि संयुक्त राष्ट्र संघले मनाउन थालेको हो । नेपालमा यो दिवस २०७२ सालदेखि ज्येष्ठ नागरिक अधिकारकर्मीहरूबाट मनाउन थालिएको हो ।

  • दुर्व्यवहारका प्रकार

क) शारीरिक दुर्व्यवहार : कुटपिट गर्नु, घाइते बनाउनु, अंगभंग बनाउनु आदि ।
ख) मानसिक दुर्व्यवहार : गालीगलौज गर्नु, मानसिक यातना दिनु, अपशब्द प्रयोग गर्नु आदि । 
ग) सामाजिक दुर्व्यवहार : कसैलाई सामाजिक बहिष्कार गर्नु, मठ–मन्दिरमा छुवाछुत गर्नु आदि ।
घ) सांस्कृतिक दुर्व्यवहार : कसैका आस्थामा तिरस्कार गर्नु, रीतिरिवाजलाई होँच्याउनु आदि ।
ङ) आर्थिक दुर्व्यवहार : श्रम शोषण गर्नु, सम्पत्तिको हक–अधिकार खोस्नु, लोभले अन्याय गर्नु आदि ।
च) यौनिक दुर्व्यवहार : कुनै महिला वा पुरुषलाई बलात्कार गर्नु, यौनजन्य प्रलोभनमा पार्नु आदि ।

  • दुर्व्यवहार हुने ठाउँहरू

क) घर, आफन्तहरू : यो नितान्त निजी हुने गर्छ तर ज्येष्ठ नागरिकलाई दुर्व्यवहार गर्नु अपराध हो ।
ख) स्याहार केन्द्र : आश्रम, दिवासेवा, स्याहार गृह आदिमा हुने सबै दुर्व्यवहार गर्नु अपराध हो ।
ग) संघ–संस्थामा हुने दुर्व्यवहार पनि अपराध हो । 
घ) समाजका विभिन्न निकायहरू जहाँ बलियोले निर्बलियोलाई दुर्व्यवहार गर्दछ । 
ङ) विभेदपूर्ण राज्य : हाम्रो राज्य व्यवस्था सुध्रिन बाँकी छ । ज्येष्ठ नागरिकमा दुर्व्यवहार गर्न सक्छ ।

  • दुर्व्यवहारका कारण

क) आर्थिक लोभका कारण दुर्व्यवहार हुने गर्दछ । अनैतिक धनका लागि पनि यस्तो दुर्व्यवहार गर्छन् । 
ख) सांस्कृतिक विचलन : अहिले स्वार्थी समाजको विकास तीव्र भएको छ, जसले दुर्व्यवहार गर्छ । 
ग) कमजोर स्वास्थ्य : स्वास्थ्य कमजोर भएपछि प्रतिकार गर्न सक्दैनन् अनि दुर्व्यवहार हुन्छ ।
घ) अज्ञानता : नेपालका धेरै मानिसमा ज्ञान र चेतनाको कमी छ, त्यसैले दुर्व्यवहार बढ्दै जान्छ ।

  • दुर्व्यवहारका असर

क) लामो समय घाउ निको नहुने ।
ख) गिर्दो मनोबलले डिप्रेसन हुनु ।
ग) सम्पत्तीमा हक गुमाउँदै जानु ।
घ) तौल घट्दै गएर सुक्दै जानु ।
ङ) शरीर र कपडाहरू मैला हुनु ।
च) समयमै औषधि सेवन गर्न नसक्नु ।
छ) समयमै राम्रो उपचार हुन नसक्नु ।
ज) बिजुली, पानी आदिको बिल तिर्न नसक्नु ।
झ) दुःखदायी मरण बेहोर्नुपर्नु । 

  • स्वयं अपहेलना

क) अरुको सहाराबेगर खान–पिउन नसक्नु ।
ख) आफैँ कपडा लगाउन नसक्नु ।
ग) आफ्नो कोठा सफा गर्न नसक्नु ।
घ) कुनै पनि आर्थिक कार्य गर्न नसक्नु ।
ङ) समयमै औषधि खान, ल्याउन नसक्नु ।

  • दुर्व्यवहार न्यूनीकरण उपायहरू

क) व्यापक जनचेतना सञ्चालन ।
ख) दुर्व्यवहार नगर्नेलाई प्रोत्साहन ।
ग) दुर्व्यवहार गर्नेलाई कानुनी बन्देज ।
घ) सम्पत्तीमा ज्येष्ठ नागरिकको स्वेच्छिक हस्तान्तरण ।
ङ) गर्नेलाई समाजमा प्र्रोत्साहन नगर्ने ।

  • कार्यक्रममा सक्रिय सहभागिता

क) घर, परिवार ।
ख) संघसंस्थाहरू ।
ग) सबै तहका सरकार ।

दुर्व्यवहार भएमा रिपोर्ट गर्न सकिने निकायहरू

१) स्थानीय सरकारका न्यायिक समितिहरू ।
२) नजिकका प्रहरी कार्यालयहरू ।
३) गण्डकी ज्येष्ठ नागरिक संघ, पोखरा कार्यालय ।

(लेखक प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ नागरिक अभियन्ता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुसुम केशव पराजुली
कुसुम केशव पराजुली
लेखकबाट थप