विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
सारांश
- विश्वभरका जेनजी पुस्ताको नेतृत्वमा भएका आन्दोलनहरूले भारतको युवा आन्दोलनलाई नयाँ दिशा दिएको छ, तर यसको स्वरूप भने फरक छ ।
- बंगलादेश, पेरु, बुल्गेरिया र केन्यामा जेनजी आन्दोलनहरूले भ्रष्टाचार, नागरिक स्वतन्त्रताको दमन र कर वृद्धिविरुद्ध आवाज उठाए, जसले केही देशमा सरकार परिवर्तन गर्न सफल भयो ।
- भारतमा 'ककरोच जनता पार्टी (सीजेपी)' ले सुरु गरेको आन्दोलन शैक्षिक अनियमितता र परीक्षा प्रश्नपत्र चुहावट जस्ता मुद्दामा केन्द्रित छ, जसले युवाहरूको राजनीतिक चेतनालाई बलियो बनाएको छ ।
काठमाडौँ । इन्टरनेटको तीव्र विस्तारसँगै जेनजी पुस्ताको नेतृत्वमा भएका आन्दोलनहरूले विश्व राजनीतिलाई नयाँ दिशा दिएको उदाहरण हामीसामु छ । अहिले त्यही लहर विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारतसम्म आइपुगेको छ, जहाँ करिब ६० करोड युवा छन् ।
दुई महिनाअघि सुरु भएको भारतको युवा आन्दोलनले अन्तर्राष्ट्रिय स्तरमै ध्यान आकर्षित गरिरहेको छ । यसलाई युरोप, अफ्रिका र ल्याटिन अमेरिकामा देखिएका जेनजी आन्दोलनहरूको सन्दर्भमा बुझ्न आवश्यक छ । तर भारतको अवस्था र यस आन्दोलनको स्वरूप भने तीभन्दा फरक देखिन्छ ।
यो आन्दोलनले भारतको बृहत्तर राजनीतिक परिदृश्य, इतिहासको वर्तमान मोड र यसले भविष्यमा भारतीय राजनीतिमा पार्न सक्ने प्रभावलाई बुझ्ने महत्त्वपूर्ण अवसर प्रदान गर्छ ।
छिमेकी बंगलादेशको आन्दोलन र त्यसको प्रभाव
बंगलादेशमा जेनजी आन्दोलन सरकारी सेवामा स्वतन्त्रता सेनानीका सन्तानका लागि ठूलो हिस्सा आरक्षण गर्ने निर्णयको विरोधबाट सुरु भएको थियो । तर आन्दोलनको वास्तविक कारण वर्षौँदेखि डिजिटल सुरक्षा कानुनमार्फत नागरिक स्वतन्त्रता खुम्च्याइनु, पत्रकार, कार्टुनिस्ट र मानवअधिकारकर्मीहरूलाई असहमति व्यक्त गरेकै कारण पक्राउ गर्नुजस्ता घटनाप्रति युवाहरूमा बढ्दै गएको असन्तुष्टि थियो ।
३६ दिनसम्म चलेको आन्दोलनमाथि सरकारले कडा बल प्रयोग गर्यो । एक हजारभन्दा बढी मानिस मारिए, हजारौँ घाइते भए, कतिपयले हातखुट्टा गुमाए भने केहीले दृष्टिसमेत गुमाए । सरकारले देशव्यापी इन्टरनेट बन्द गरिदियो । तर युवाहरूले भित्तेचित्र, संगीत, कार्टुन र ‘मिम’मार्फत विरोध जारी राखे । अन्ततः सन् २०२४ अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देश छाड्न बाध्य बनायो ।
त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । सरकारले जबर्जस्ती बेपत्ता पारिएका घटनाको छानबिन आयोग गठनसहित नयाँ कानुन र कार्यकारी आदेशमार्फत सुधार तथा न्याय सुनिश्चित गर्ने प्रयास गर्यो ।
सन् २०२५ नोभेम्बरमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो । हिंसाको घाउ अझै पूर्ण रूपमा निको नभए पनि ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ नामक युवा अभियान पछि नेसनल सिटिजन पार्टीका रूपमा विकसित भयो र आन्दोलन आज पनि जारी छ ।
मानवअधिकार कानुन व्यवसायी राकिनुल हाकिमका अनुसार जुलाई आन्दोलन दशकौँदेखि चलेको भ्रष्टाचार, नागरिक स्वतन्त्रताको दमन र युवालाई राजनीतिक प्रक्रियाबाट टाढा राख्ने प्रयासविरुद्ध युवाहरूको वास्तविक विस्फोट थियो । तर उनले आन्दोलनलाई राजनीतिक स्वार्थका लागि दुरुपयोग हुन नदिन पनि चेतावनी दिएका छन् ।
नेताविहीन तर प्रभावशाली आन्दोलनः पेरु र ल्याटिन अमेरिका
सन् २०२२ यता पेरुमा देखिएको राजनीतिक अस्थिरता, राज्यद्वारा गरिएका दमन, लोकतान्त्रिक मूल्यको कमजोर हुँदै गएको अवस्था, भ्रष्टाचार तथा सन् २०२५ को विवादास्पद पेन्सन सुधारले त्यहाँ ‘जेनेरेसन–जेड कलेक्टिभ’ आन्दोलन जन्मायो । यो आन्दोलन सामाजिक सञ्जालदेखि सडकसम्म फैलियो । आन्दोलन दबाउन प्रहरीले गोली चलाउँदा ३२ वर्षीय प्रदर्शनकारी तथा र्याप गायक एडुआर्डो रुइजको मृत्यु भयो भने सयौँ घाइते भए ।
त्यसपछि राष्ट्रपति डिना बोलुआर्तेलाई महाअभियोग लगाएर हटाइयो र यौन दुर्व्यवहारको आरोप खेपिरहेका होसे जेरीलाई राष्ट्रपतिमा नियुक्त गरियो । यस घटनाले पनि युवाहरूलाई थप आन्दोलित बनायो । राजनीतिक सङ्कट अझै समाधान नभए पनि पेरुका युवाले आजसम्म पनि असहमति जनाउने संवैधानिक अधिकारको सशक्त अभ्यास गरिरहेका छन् ।
एक साताअघि मात्रै जेनजी अभियन्ताहरूले ‘लेगाडो नासियोनाल उनिदो’ नामक संस्था गठन गरेका छन् । यसको उद्देश्य युवाहरूलाई देशको राजनीति र सार्वजनिक जीवनमा सक्रिय बनाउनु तथा लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउने प्रक्रियाको प्रतिरोध गर्नु हो । मेक्सिको र पाराग्वेमा युवाको नेतृत्वमा भएका भ्रष्टाचारविरोधी आन्दोलनले पनि यस्तै सन्देश दिएका छन् ।
बुल्गेरियामा जेनजीको तीव्र राजनीतिक प्रभाव
युरोपको बुल्गेरियामा सन् २०२५ नोभेम्बरमा सरकारले कर र पेन्सन योगदान बढाउने बजेट ल्याएपछि युवाहरू सडकमा उत्रिए । लामो समयदेखि मौलाउँदै आएको संस्थागत भ्रष्टाचार र शक्तिशाली व्यापारी डेल्यान पिभ्स्कीद्वारा राजनीतिक शक्ति केन्द्रित गर्ने प्रयासप्रतिको असन्तुष्टि यस आन्दोलनको मुख्य कारण बन्यो ।
अन्य देशमा जस्तै आन्दोलन केही स्थानमा हिंसात्मक बने पनि ‘वी कन्टिन्यु द चेन्ज–डेमोक्रेटिक बुल्गेरिया’ गठबन्धन र त्यसका युवा सङ्गठनहरूले विकेन्द्रीकृत रूपमा आन्दोलन सञ्चालन गरे । सामाजिक सञ्जालमा मिम र गीतको प्रभावकारी प्रयोग तथा बुल्गेरियाको बलियो विरोध संस्कृतिका कारण सरकारले छिट्टै प्रतिक्रिया दिन बाध्य भयो ।
जनप्रदर्शन सुरु भएको तीन साताभित्रै सरकारले बजेट फिर्ता लियो र सामूहिक रूपमा राजीनामा दियो । यससँगै बुल्गेरियाको आन्दोलन विश्वव्यापी जेनजी आन्दोलनमध्ये सबैभन्दा छिटो सफल भएको आन्दोलन बन्न पुग्यो । साथै, यो युरोपमा सरकार ढाल्न सफल पहिलो जेनजी आन्दोलन पनि बन्यो ।
केन्यामा गरिबी र भ्रष्टाचारविरुद्ध युवा विद्रोह
केन्यामा दैनिक उपभोग्य वस्तुमाथि कर बढाउने वित्त विधेयक सार्वजनिक भएपछि युवाहरू स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका थिए । आन्दोलनलाई जानाजानी कुनै नेता नदिई सामाजिक सञ्जालमार्फत ‘नेताविहीन, जातिविहीन र निर्भीक’ भन्ने नाराका साथ सञ्चालन गरिएको थियो । यसले नाइजेरियाको #EndSARS आन्दोलनको झल्को दिएको थियो ।
बङ्गलादेश र पेरुमा जस्तै, २९ वर्षीय प्रदर्शनकारी रेक्स मसाईको प्रहरी गोलीबाट मृत्यु र त्यसपछि प्रदर्शनकारीहरूले संसद भवनमा प्रवेश गरेपछि आन्दोलन थप उग्र बन्यो । अन्ततः सरकारले कर बढाउने विधेयक फिर्ता लिन बाध्य भयो । तर जुन २५ मा भएको प्रहरी दमनमा ६० भन्दा बढी मानिस मारिए भने धेरैलाई जबरजस्ती बेपत्ता पारिएको थियो । दुई वर्ष बितिसक्दा पनि पीडित परिवार न्यायको प्रतीक्षामा रहेपनि युवा आन्दोलन भने अझै जारी छ ।
केन्याली युवाहरूका लागि जुन २५ प्रतिरोधको प्रतीक बनेको छ । आन्दोलनले विवादित विधेयक फिर्ता गराउन मात्र सफल भएन, पहिलो पटक आन्दोलनमा सहभागी भएका युवा तथा ‘गिग वर्कर’हरूलाई पनि राजनीतिक रूपमा सक्रिय बनायो । अहिले उनीहरू सामाजिक सञ्जालमार्फत निरन्तर नागरिक अभियान सञ्चालन गरिरहेका छन् ।
मानवअधिकार अभियन्ता वाङ्गेची ग्रेस काहुरियाका अनुसार सन् २०२४ को आन्दोलनपछि केन्याका युवाहरू नागरिक क्षेत्रमा मात्र होइन, राजनीति, जवाफदेहिता, न्याय र सुशासनको परिभाषा नै बदल्ने काममा जुटेका छन् । उनका अनुसार जेनजी पुस्ता अहिले विश्वव्यापी लोकतान्त्रिक जागरणको प्रमुख शक्ति बनेको छ । उनीहरूले साहस, आवाज र सक्रियतामार्फत जनसत्ताको वास्तविक अर्थ पुनःस्थापित गरिरहेका छन्, यद्यपि त्यसका लागि उनीहरूले यातना, दमन, बेपत्ता पारिनु र मृत्युसम्मको पीडा भोग्नुपरेको छ ।
विश्वकै सबैभन्दा ठुलो लोकतन्त्र भारतको फरक कथा
विश्वका विभिन्न देशमा भएका जेनजी आन्दोलन र भारतमा ‘ककरोच जनता पार्टी (सीजेपी)’ ले सुरु गरेको आन्दोलनबिच धेरै समानता छन्, तर केही महत्त्वपूर्ण भिन्नता पनि छन् । भारत विश्वव्यापी जेनजी आन्दोलनको लहरमा ढिलो गरी प्रवेश गरे पनि यसको आन्दोलन आफ्नै कारणले विशिष्ट छ ।
पछिल्लो एक दशकमा भारतमा नागरिक स्वतन्त्रतामा लगातार सङ्कुचन, असहमतिमाथिको दमन, पत्रकार र मानवअधिकारकर्मीमाथि कारबाही तथा दण्डहीनताको संस्कृति बढेको छ । यी सबै प्रवृत्ति विश्वका अन्य जेनजी आन्दोलन भएका देशहरूसँग मिल्दाजुल्दा छन् ।
तर भारतको आन्दोलन किन सुरु भयो, कसरी फैलियो र युवाको जीवनसँग प्रत्यक्ष जोडिएको कुन मुद्दामा केन्द्रित भयो भन्ने पक्षले यसलाई अन्य देशभन्दा फरक बनाउँछ । साथै, यस आन्दोलनमा भारतीय न्यायपालिकाको भूमिका पनि बङ्गलादेश, केन्या वा अन्य देशको तुलनामा निकै फरक देखिएको छ ।
भारतको आन्दोलन किन फरक छ ?
अन्य देशमा जस्तै भारतमा पनि असन्तुष्टि लामो समयदेखि बढिरहेको थियो । तर आन्दोलनको प्रत्यक्ष कारण भने अन्यत्रभन्दा फरक थियो । बंगलादेशमा आरक्षण नीति, केन्यामा कर वृद्धि वा अन्य देशमा राज्यद्वारा गरिएको हिंसा आन्दोलनको कारण बनेका थिए । भारतमा भने भारतका प्रधानन्यायाधीशले बेरोजगार युवा र सूचना अधिकार (आरटीआई) अभियन्तालाई ‘ककरोच’ भनेपछि आन्दोलनको सुरुआत भएको छ ।
अन्य देशमा जस्तो सुरुबाटै सडक आन्दोलन नभई भारतमा यो अभियान सुरुमा ‘ककरोच जनता पार्टी (सीजेपी)’ नामबाट सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक अभियानका रूपमा सुरु भएको थियो । यसको संस्थापकले सुरुमा देशव्यापी आन्दोलन गर्ने कुनै उद्देश्य नभएको बताएका थिए । तर देशभरका युवाहरूबाट अप्रत्याशित समर्थन आउन थालेपछि उनी भारत फर्किए, आन्दोलनलाई शैक्षिक अनियमितता विरुद्ध केन्द्रित गरे र देशभर प्रदर्शन सुरु भयो ।
नीट परीक्षाको प्रश्नपत्र चुहावट र सीबीएसई ओएसएम घोटाला भारतीय युवाको शिक्षा र भविष्यसँग प्रत्यक्ष जोडिएका विषय भएकाले यी मुद्दाले केन्याको कर वृद्धि वा बुल्गेरियाको पेन्सन सुधारभन्दा पनि धेरै गहिरो प्रभाव पारे ।
सुरुमा स्पष्ट नेतृत्वविहीन देखिएको आन्दोलन बिस्तारै भारतीय शिक्षा प्रणालीमा देखिएको संकटको साझा मुद्दामा केन्द्रित भयो । यही दबाबका कारण अन्ततः भारतका शिक्षा मन्त्रीले राजीनामा दिनुपरेको हो ।
त्यसैगरि, अरुन्धती रोय, प्रकाश राजलगायतका व्यक्तित्वहरूको समर्थन तथा सोनम वाङचुकले सुरु गरेको आमरण अनशनले आन्दोलनलाई थप ऊर्जा र राष्ट्रिय समर्थन दिलायो । अहिले आन्दोलन देशभर फैलिएको छ । विभिन्न राज्यका विद्यार्थी क्षेत्रीय युवा संगठनहरूको समर्थनमा सडकमा उत्रिएका छन् र सबैले जन्तर–मन्तरमा भइरहेको आन्दोलनसँग ऐक्यबद्धता जनाइरहेका छन् ।
जुलाई २० मा संसदतर्फ गरिएको मार्चमाथि दिल्ली प्रहरीले गरेको कठोर दमन तथा अनशनरत सोनम वाङ्चुकलाई बलपूर्वक अस्पताल भर्ना गराउने कारबाही पनि अन्य जेनजी आन्दोलनहरूमा देखिएको सरकारी दमनको ढाँचा नै दोहोरिएको देखिन्छ । यस्ता घटना भारतको राष्ट्रिय राजधानी क्षेत्रमा नयाँ भने होइनन् । यस क्रममा भारतीय न्यायपालिकाको भूमिका फेरि पनि विडम्बनापूर्ण र चिन्ताजनक देखिएको छ ।
बंगलादेशमा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिनालाई जबाफदेही ठहर गर्यो भने केन्यामा उच्च अदालतले बल प्रयोगलाई गैरकानुनी घोषणा गर्दै पीडितहरूलाई राहत दिन आदेश दिएको थियो । बुल्गेरिया र पेरूमा न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी समस्या आन्दोलनका चुनौतीमध्ये एक थियो, तर भारतमा भने न्यायपालिकाले स्थिति झन् जटिल बनाएको आरोप लागिरहेको छ । पक्राउ परेका र घाइते प्रदर्शनकारीहरूले राहतको माग गर्दै अदालत पुगेपछि अदालतले, ‘हामीलाई भिडियोमा रुचि छैन, हेर्ने समय पनि छैन,’ र ‘अदालतलाई यसमा तान्ने प्रयास नगर्नुहोस्,’ भन्दै उनीहरूलाई ललकारेको बताइएको छ ।
यसको भारतका लागि अर्थ के हो ?
विपक्षी दलका नेताहरू आन्दोलनमा सहभागी हुनु र प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागिनुले जेनजीआन्दोलनलाई राजनीतिक लाभका लागि उपयोग गर्ने प्रयास भएको संकेत दिन्छ । तर एउटा तथ्य स्पष्ट छ—जुन–जुन देशमा जेनजीको विद्रोह देखियो, त्यसले युवाहरूको राजनीतिक चेतना र सशक्त असहमतिलाई दीर्घकालीन रूपमा बलियो बनाएको छ ।
भारतका युवा ‘ककरोच’हरू पहिलो पटक साझा उद्देश्यका साथ एकजुट भएका छन् । करिब ६० करोड युवासंख्या भएको भारतका लागि यो आन्दोलन अन्य कुनै पनि देशको भन्दा धेरै ठुलो महत्वको हुन सक्छ । आन्दोलन देशभर फैलँदै गएको छ र यसले विगत १२ वर्षमा स्वतन्त्र संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राखेर शासनलाई स्थिर बनाएको सत्तालाई स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ । यस्तो अवस्थाले राजनीतिक परिवर्तनलाई लगभग असम्भव बनाएको आरोप पनि लाग्दै आएको छ ।
तर यो आन्दोलनले बंगलादेशमा जस्तै कुनै दलविशेषको स्वार्थ वा राजनीतिक प्राथमिकताले युवाहरूको आक्रोशलाई आफ्नो पक्षमा प्रयोग गर्न नदिने विषयमा पनि सचेत रहनुपर्ने आवश्यकता छ ।
यो अब केवल कक्रोच जनता पार्टी (सिजेपी) वा सोनम वाङ्चुकको अभियान मात्र होइन, बरु मानव इतिहासकै सबैभन्दा ठुलो युवा समूह मानिने भारतका ६० करोड युवाहरूको साझा आन्दोलन बनिसकेको छ ।
यस आन्दोलनका असंख्य गीत र मीमहरूले ढुंगा र छर्रा बोकेका ट्रकहरूको गर्जनलाई पनि दबाउनेछन् । अश्रुग्यासको धुवाँ हटिसकेपछि पनि ऐक्यबद्धताका नाराहरू लामो समयसम्म गुन्जिरहनेछन् । भारतमा असहमतिको आवाज पहिलेभन्दा अझ बुलन्द बनेको छ, र एक दशकदेखि भारतीय जनता पार्टी (भाजपा) ले निर्माण गर्दै आएको सशक्त राज्य संयन्त्र अब यस देशका ‘ककरोच’ भनिएका युवाहरूबाट वास्तविक परीक्षणमा पर्नेछ । मौन बस्न अस्वीकार गरेको यो पुस्तालाई सरकारले हल्का रूपमा लिनु हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
-
राजीव खत्रीको प्रश्न – विदेशमा रहेका नेपालीलाई आगामी स्थानीय चुनावमै मताधिकार दिन सकिन्छ ?
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण