मथुरामा घर भत्किँदा ३ जनाको मृत्यु, धेरै जना पुरिएको आशंका

समाचार सारांश
- उत्तर प्रदेशको मथुराको गोविन्द नगरमा घर भत्किँदा ३ जनाको मृत्यु भएको छ, जसमा एक पुरुष र दुई बालिका रहेका छन्।
- स्थानीय समय अनुसार दिउँसो १२ बजेतिर घर भत्किएको थियो र भग्नावशेषमा पुरिएका अन्य व्यक्तिहरूको उद्धार कार्य जारी छ।
- घर भत्किनुको कारण अज्ञात छ तर छेउमा खन्ने काम भइरहेको थियो र एनडीआरएफ र एसडीआरएफ टोलीहरू उद्धारमा खटिएका छन्।
नयाँ दिल्ली । उत्तर प्रदेशको मथुराको गोविन्द नगर क्षेत्रमा कयौँ घरहरू भत्किँदा ३ जनाको मृत्यु भएको खबर आएको छ । जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नीरज अग्रवालले यस घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तीन जनालाई मृत अवस्थामा अस्पताल ल्याइएको र मृतकहरूमा ४५ वर्षीय पुरुष, छ र चार वर्षकी दुई बालिकाहरू रहेको बताइएको छ । स्थानीय व्यक्तिका अनुसार घटना मध्याहन्न १२ बजेतिर भएको थियो ।
‘मसानी क्षेत्रमा कच्ची सडक छ । यहाँ दुई–तीन तले घर र ढिस्कोमा बनेका दुई–तीन साना घरहरू भत्किएका छन्’ मथुरा जिल्ला मजिस्ट्रेट चन्द्रप्रकाश सिंहले भनेका छन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार, तीन देखि चार जना भग्नावशेषमुनि पुरिएको र तीमध्ये एक जनालाई उद्धार गरिएको डीएमले बताए । घरहरू जमिनबाट धेरै अग्लो ढिस्कोमा बनेको बताइएको छ । घर भत्किनुको कारण अझै थाहा हुन सकेको छैन । घरको छेउमै खन्ने काम भइरहेको थियो । यस घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।
यस घटनामा आठ देखि दश जना भग्नावशेषमुनि पुरिएको आशंका भएको स्थानीय व्यक्तिले भनेको भन्दै बीबीसी हिन्दीले समाचार छापेको छ । भग्नावशेषबाट निकालिएका व्यक्तिको अवस्था स्थिर रहेको अनि राहत र उद्धार कार्यका लागि एनडीआरएफ र एसडीआरएफ टोलीहरू पनि घटनास्थलमा खटाइएको मथुराका एसएसपी श्लोक कुमारले भनेका छन् ।