दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

दाङ । यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरू, हातमा ढोलक, ढ्याङ्ग्रो, मादल बजाउँदै लयमा नाचिरहेका छन् ।
यतिखेर मगर समुदायको पहिचान बोकेको भूमे पर्वको रौनकले छपक्कै छोपेको छ घोराहीलाई । भूमे पर्व यही असार १ गतेदेखि सुरु भएको हो । यस पर्वमा नाचगान मात्र होइन, मगर समुदायको सामाजिक एकता, सांस्कृतिक सम्पदा र भूमि प्रतिको श्रद्धा पनि देखिने घोराही उपमहानगरपालिका वडा नम्बर १४ का स्थानीय जुनु मगरले बताए । यो पर्व आफ्नो भाषा, संस्कृति र एकता सम्झाउने माध्यम रहेको उनको भनाइ छ ।
भूमे पर्व केवल नाचगानको उत्सव होइन । मगर समुदायको संस्कृति, इतिहास र भविष्यसँग गाँसिएको भावनाको उत्सव पनि हो । मगर समुदायले भूमे पर्वलाई आफ्नो मुख्य चाडका रूपमा लिन्छन् ।
भूमि बिना कुनै जीवको अस्तित्वको परिकल्पना गर्न नसकिने र भूमि नै जीवन दाता भएको मान्यता उनीहरूको छ । मगर समुदायले भूमिलाई देवताका रूपमा मान्दै आएका छन् । मगर समुदायले हरेक वर्ष असार १ देखि ५ गतेसम्म भूमे पर्व मनाउँछन् ।
यो पर्वलाई नयाँ कामको सुरुआत गर्ने दिनका रूपमा पनि लिइन्छ । सामूहिक योजना, भविष्यको सोच र सामाजिक सुदृढीकरणको मार्ग यही पर्वमा खोजिन्छ । तकसेरा समाजका अध्यक्ष मित्रलाल बुढा मगरले मगरहरूको मुख्य पर्व भएको हुँदा आफूहरूले सबैलाई भेला गरेर दाङमा महोत्सवका रूपमा भूमे पर्व मनाउँदै आएको बताए ।
दाङको भूमे पर्व, अब स्थानीयस्तरबाट राष्ट्रियस्तरमा अग्रसर हुँदै छ । यस पर्वमार्फत मगर समुदायको पहिचान र परम्परा जोगाउने मात्र होइन, सामाजिक सद्भाव र सहकार्यका उदाहरण प्रस्तुत हुन थालेका छन् ।
भूमे पर्वका अवसरमा मगर समुदायका विभिन्न समूहले घोराहीमा पाँच दिनसम्म भूमे पर्वलाई महोत्सवका रूपमा मनाइरहेका छन् । नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकाले मगरहरूको मुख्य पर्व भएको हुँदा आफूहरूले सबैलाई भेला गरेर दाङमा महोत्सवका रूपमा भूमे पर्व मनाउँदै आएको बताए । दाङमा विशेष गरी रुकुम, रोल्पाबाट बसाइँ सरी आएका मगर समुदायको बसोबास छ ।
“पृथ्वीलाई साक्षात भगवान् मान्ने मगर समुदायले प्राकृतिक प्रकोप नहोस्, मानवको कल्याण होस् भन्ने आशयले यो पूजा गर्दछन्,” उपाध्यक्ष रोका भने भने, “यो पर्व मगर जातिको जीवन र जगत्सँग जोडिएको छ ।”