बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
सारांश
- बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खा सैनिकसहित नेपाली वृद्धवृद्धामाथि जातीय घृणाप्रेरित आक्रमण भएको छ।
- यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।
- घटनापछि नेपाली समुदायमा आक्रोश फैलिएको छ र स्थानीय सांसद तथा दूतावासले दोषीमाथि कारबाहीको माग गरेका छन्।
लन्डन । बेलायतको अल्डरसटस्थित म्युनिसिपल गार्डेन्स पार्कमा भूतपूर्व गोर्खा सैनिकसहित नेपाली वृद्धवृद्धामाथि जातीय घृणाप्रेरित आक्रमण भएको छ। घटनामा संलग्न भएको आरोपमा ह्याम्पशायर प्रहरीले ५८ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।
नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरसटमा मंगलबार साँझ करिब ७ बजेर २४ मिनेटमा उक्त घटना भएको हो। पार्कमा बसिरहेका दुई पूर्व गोर्खा वृद्ध, एक वृद्धा तथा नेपाली समुदायका अन्य सदस्यहरूमाथि स्थानीय गोरो वर्णका एक व्यक्तिले गालीगलौज, दुर्व्यवहार र हातपात गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति एस क्षेत्रमा बसोबास गर्ने ५८ वर्षीय पुरुष हुन्। उनलाई शारीरिक आक्रमण, सार्वजनिक उपद्रव, आपराधिक क्षति तथा जातीय घृणासम्बन्धी सार्वजनिक व्यवस्था उल्लंघनको आरोपमा पक्राउ गरिएको हो र उनी हाल प्रहरी हिरासतमा छन्। ग्रेटर रश्मोर नेपाली कम्युनिटीका उपाध्यक्ष डा विशाल गुरुङले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जानकारी दिएअनुसार ती व्यक्तिले पार्कमा बसिरहेका नेपाली वृद्धवृद्धामाथि सुरुमा आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।
ती व्यक्तिले ‘तिमीहरू किन यहाँ बसिरहेका छौ ? आफ्नै देश फर्किएर जाऊ’ भन्ने जस्ता जातीय घृणायुक्त अभिव्यक्ति दिएका थिए। पीडितहरूले आफूहरू पूर्व गोर्खा सैनिक भएको बताउँदा पनि ती व्यक्ति थप आक्रामक बन्दै वृद्धवृद्धालाई धकेलेर हातपात गरेका थिए।
घटनास्थलमा रहेका दुई नेपाली युवा–युवतीले पीडितहरूको बचाउ गर्ने प्रयास गर्दै मोबाइलमा भिडियो खिच्न थालेपछि आक्रमणकारीले मोबाइलसमेत फुटाइदिएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक पुरुषले नेपाली समुदायका सदस्यहरूसँग आक्रामक व्यवहार गरेको देखिन्छ।
प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले एक युवकलाई लात्तीले हानेको, एक महिलामाथि दुर्व्यवहार गरेको र केही वृद्धवृद्धालाई धकेलेका थिए। घटनास्थलमा फकल्याण्ड युद्ध लडेका ७७ वर्षीय दावा जे शेर्पा र ८२ वर्षीय खड्कबहादुर पुनसमेत उपस्थित थिए। उनीहरू दुवैलाई धक्का लागेको र एक जनाको मोबाइल फोन क्षतिग्रस्त भएको छ।
घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले पीडित तथा प्रत्यक्षदर्शीहरूबाट विवरण, तस्बिर र भिडियो फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाबारे थप जानकारी वा भिडियो फुटेज भएका व्यक्तिहरूलाई १०१ मा सम्पर्क गर्न वा +44 260285455 नम्बर उल्लेख गर्न अनुरोध गरेको छ। घटनापछि अल्डरसटस्थित नेपाली तथा गोर्खा समुदायमा आक्रोश र चिन्ता फैलिएको छ। डा विशाल गुरुङका अनुसार स्थानीय बेलायती समुदायका धेरै सदस्यहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि उचित कारबाहीको माग गरेका छन्।
यसैबीच, अल्डरसटबाट निर्वाचित सांसद एवम् अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालकी अध्यक्ष एलेक्स बेकरले घटनाको कडा शब्दमा भर्त्सना गरेकी छन्। उनले ह्याम्पशायर पुलिससँग कुराकानी गरेर उक्त क्षेत्रमा गस्ती बढाउन आग्रह गरेकी छन्। सांसद बेकरले उक्त हमलालाई ‘भयावह’ भन्दै हिंसा, धम्की र जातीय भेदभावको अल्डरसटमा कुनै ठाउँ नभएको स्पष्ट पारिन्।
उनले गोर्खाहरूको गौरवशाली इतिहास र योगदानको स्मरण गर्दै उनीहरू शहरको पहइलचान र इतिहासको अभिन्न अंग रहेको बताइन्। उनले अनलाइन माध्यममा प्रयोग हुने उत्तेजक भाषाले समुदायहरूबीच विभाजन र जातिवाद भड्काउन सक्ने चेतावनी पनि दिइन्।
लन्डनस्थित नेपाली राजदूतावासले पनि नेपाली वृद्ध नागरिकहरूप्रति भएको अमानवीय घटनाप्रति दुःख व्यक्त गरेको छ। दूतावासले घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै सबै पक्षलाई संयमित रहन अनुरोध गरेको छ।
एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले पनि भूतपूर्व गोर्खा सैनिकप्रति गरिएको उक्त हमलाको निन्दा गर्दै घृणा फैलाउने यस्ता घटनाविरुद्ध सचेत, सजग र एकजुट हुन सबैलाई अपील गरेका छन्। बेलायतमा पूर्व गोर्खा समुदायका सदस्यहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएको यो पहिलो घटना भने होइन, यसअघि पनि यस्ता घटना बेलाबेला सार्वजनिक हुँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र स्विडेन भिड्दै, अघिल्लो चरणको समीकरणका लागि दुवैलाई जितको दबाब
-
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण