सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

सिरहा । पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सिरहामा शुक्रबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कल्याणपुर १२ का २९ वर्षीय नरेश मुखिया, मोटरसाइकल पछाडि बसेका सुखिपुर नगरपालिका ८ घर भई कल्याणपुर २ बस्दै आएका प्रदिप मुखिया र साइकलमा सवार सिरहा नपा १८ का ६५ वर्षीय कुशे भन्ने कुशेश्वर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए ।
सिरहा नगरपालिका १८ सनहैठातर्फबाट पश्चिम गइरहेको प्र.२–०१–००३ प ३२२० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिँदा मोटरसाइकल र साइकलमा सवार उनीहरूको मृत्यु भएको हो ।
अत्यधिक गतिका कारण दुर्घटना भएको बताइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । शव पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।