अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
सारांश
- प्रहरीले विराटनगरका अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
- गिरीलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थप गर्न जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।
- यसअघि उच्च अदालत विराटनगरले गिरीको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै पाँच दिनभित्र अनुसन्धान सकेर अभियोग पत्र दर्ता गर्न वा थुनामुक्त गर्न आदेश दिएको थियो ।
विराटनगर । असार १३ गते प्रहरीको नियन्त्रणमा रहेका विराटनगरका अभिषेक गिरीविरुद्ध प्रहरीले थप दुई वटा मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
गिरीलाई सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थप गर्न सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । यसअघि आपराधिक लाभ मुद्दामा पक्राउ परेका गिरीको म्याद सोमबार सकिँदै थियो । गिरीको अपराधको जालो ठुलो रहेको र अवैध माध्यमबाट धन आर्जन गरेको देखिएकाले थप दुई गम्भीर मुद्दामा अनुसन्धान गर्नुपर्ने प्रहरीको दाबी छ ।
मोरङका प्रहरी प्रमुख उपरीक्षक (एसपी) कविता कटुवालका अनुसार गिरीको गतिविधि सङ्गठित स्वरूपको देखिएको र उनले अस्वाभाविक सम्पत्ति आर्जन गरेको पाइएकाले यी मुद्दामा म्याद थपको प्रक्रिया अघि बढाइएको हो । ‘गिरीको अपराधको सञ्जाल ठुलो देखिएको छ,’ एसपी कटुवालले भने, ‘सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले अदालतसँग अनुमति माग गरेका छौँ ।’
अहिले मोरङ अदालतमा उनलाई म्याद थपको लागि प्रहरीले उपस्थित गराएको छ । मोरङ अदालतका स्रेस्तादार मणि पोखरेलले मोरङ प्रहरीले दुई मुद्दामा म्याद थप गर्न ल्याएकोले अहिले इजालास पेस गरिएको बताए ।
यसअघि, असार १७ गते उच्च अदालत विराटनगरले गिरीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत मोरङलाई विपक्षी बनाई दायर गरिएको रिटमा न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले प्रहरीको पक्षमा फैसला सुनाएको थियो ।
यद्यपि, अदालतले बिहीबारदेखि लागू हुने गरी पाँच दिनभित्र अनुसन्धान सकेर अभियोग पत्र दर्ता गर्न वा अनुसन्धान नसकिए थुनामुक्त गरेर बाहिरै राखी प्रक्रिया अघि बढाउन निर्देशनात्मक आदेश दिएको थियो । अदालतले तोकेको पाँच दिने समय सीमाभित्रै प्रहरीले नयाँ मुद्दाको प्रक्रिया सुरु गरेको हो ।
गिरीलाई गत असार १३ गते बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । गिरीसँगै उनका सहयोगीहरू सञ्जय मण्डल र विजय कामतसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । कारागारभित्र रहेका कैदी बन्दीको रासन भत्ता र पारिश्रमिकमा आर्थिक शोषण गरेको उजुरी परेपछि उनीमाथि प्रहरीले निगरानी बढाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
-
अभिषेक गिरीविरुद्ध थप दुई वटा मुद्दामा अनुसन्धान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण