शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

आइतबार, ०८ असार २०८२, २१ : ३८
आइतबार, ०८ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको मिथेन ग्याँस एक वर्षभित्र उत्पादन गर्न निर्देशन दिएका छन्।
  • प्रधानमन्त्रीले चीनको सहयोगमा भएको अन्वेषणको नतिजाबारे जानकारी लिए, जहाँ ११२.१ अर्ब घनमिटर मिथेन ग्याँस भण्डार रहेको अनुमान छ।
  • पूर्वी नवलपरासीमा फलाम खानी उत्खनन् र २०८५ भित्र फलाम/स्टिल उत्पादन गर्ने तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराइयो।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका छन् ।

आइतबार बालुवाटारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग दैलेखको ग्यास उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कमी नहुने समेत बताए । छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको थियो । 

चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार हालको ड्रिल साइटमा ११२ दशमलव १ अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्याँसको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ । 

यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ कार्य तथा फलाम खानीको सम्भाव्यता अध्ययन भई प्रक्रिया अघि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ । 

आगामी सय वर्षका लागि पुग्ने करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन् गर्न सकिने कम्पनीले जानकारी गराएको छ । नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम/स्टिल उत्पादन गर्न सकिने कम्पनीको प्रस्तुति रहेको छ । 

प्रधानमन्त्री ओलीले २०८५ साल अघि नै फलाम/स्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिए । सो कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणका लागि सरकारले सबै प्रबन्ध गर्ने स्पष्ट पारे । 

छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसद्हरुलगायत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप