बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चितवन निकुञ्ज वरपर चोरी सिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

सोमबार, ०९ असार २०८२, ०७ : ५५
सोमबार, ०९ असार २०८२

सारांश

  • चितवन राष्ट्रिय निकुञ्जले चोरी सिकारी नियन्त्रणका लागि स्पाई क्यामेरा जडान गरेको छ।
  • मनसुन सुरु भएसँगै सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो, संवेदनशील क्षेत्रमा सेनाको गस्ती बढाइएको छ।
  • निकुञ्जमा हुने चोरी सिकारी नियन्त्रण गर्न र वन्यजन्तुको संरक्षणका लागि क्यामेराले तस्बिर खिच्नेछ, सेनाको टोली परिचालन गरिएको छ।

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान गरेको छ । निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामेरा जडान गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका हरेक क्षेत्रमा मानवीय रूपमा उपस्थित भएर सुरक्षा दिन कठिन हुने भएकाले क्यामेरा जडान गरिएको हो । सम्भावित घटनालाई मध्यनजर गर्दै स्पाई क्यामेराबाट निगरानी गरिएको छ । हात्तीद्वारा पट्रोलिङ बढाइएको छ । 

निकुञ्ज क्षेत्रको संवेदनशील स्थानमा ३० स्पाई क्यामेरा जडान गरिएको उनले बताए । यी क्यामेरा गोप्य रूपमा राखिएको छ । यसबाट निकुञ्जभित्र हुने चोरी सिकारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस क्यामेराले मानिसको आवतजावतका क्रममा तस्बिर खिचेर राख्ने छ । 

संवेदनशील क्षेत्रमा नेपाली सेनाको गस्ती बढाइएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको टोलीबाहेक विभिन्न गणका ९० सेनाको टोली यहाँ आएर सुरक्षामा खटिएको छ । निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका टोलीको पहुँच नपुगेको ठाउँमा ती टोली परिचालन गरिएको उनले बताए । टोलीले वन्यजन्तु संरक्षणका लागि काम गरिरहेको उनको भनाइ छ । यो टोली तीन महिना बस्नेछ ।

मनसुन सक्रिय भएसँगै निकुञ्ज क्षेत्र आसपास बसोबास गर्ने जनता खेतीपातीमा लाग्ने भएकाले यो समयमा चोरी सिकारी बढ्ने जोखिम बढी हुन्छ । चोरी सिकार नियन्त्रण अभियान पनि यो समयमा कम हुने हुँदा वर्षात्को समयमा संरक्षणमा चुनौती थपिने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप