सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

सिँचाइका लागि प्रयोग गरिएको विद्युत् करेन्ट लागेर वृद्धको मृत्यु

सोमबार, ०९ असार २०८२, १३ : ११
सोमबार, ०९ असार २०८२

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।

स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागि मृत्यु भएको वडाध्यक्ष नन्दकुमार महतोले जानकारी दिए । उनका अनुसार बिहान चिया खाएर खेत गएका पण्डित सिँचाइ गर्न खोज्ने क्रममा विद्युत्को तार सही तरिकाले नजोड्दा करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

अहिले प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार गरी मृतकको शव उठाउने काम गरिइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहले जानकारी दिए । वडाध्यक्ष महतोका अनुसार गत वर्ष पनि सोही गाउँमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको थियो ।

उनले ग्रामीण क्षेत्रमा विद्युत् सुरक्षाबारे जानकारी कम रहेकाले पम्प प्रयोग वा मर्मत गर्दा सावधानी नअपनाउने, नाङ्गो तार छोप्ने, जमिनमै ‘प्लग’ राख्ने जस्ता कार्यले विशेषगरी वर्षायाममा अकालमा ज्यान गुमाउने क्रम बढिरहेको बताए । घटनापछि विद्युत् सुरक्षाको सवालमा चेतनामूलक कार्यक्रमको आवश्यकता देखिएको भन्दै स्थानीयवासीले पनि सरोकारवाला निकायसँग तत्काल ध्यान दिन माग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप