शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
पालिका बजेट

विराटनगर, इटहरी र धरानले कतिको ल्याउँदैछन् बजेट ?

सोमबार, ०९ असार २०८२, १८ : ०६
सोमबार, ०९ असार २०८२

सारांश

  • विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट असार १० गते ल्याउने तयारी गरेको छ, जसको आकार ४ अर्बको हाराहारीमा हुने अनुमान छ। बजेटमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइनेछ।
  • इटहरी उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ, तर गत वर्षको लक्ष्य अनुसार आम्दानी नहुँदा नयाँ कार्यक्रम थप्न नसकिने अवस्था छ।
  • धरान उपमहानगरपालिकामा भने बजेटको मिति अझै अनिश्चित छ, मेयर र उपमेयरबीचको विवादका कारण कार्यपालिका बैठक बस्न सकेको छैन र बजेट निर्माण प्रक्रिया सुरु हुन सकेको छैन।

विराटनगर । कोशी प्रदेशको एक मात्रै महानगरपालिका विराटनगरले कानुनी व्यवस्था अनुसार असार १० गते (भोली) बजेट ल्याउने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था अनुसार सबै पालिकाले बजेट ल्याउनु पर्ने अन्तिम समयसीमा असार १० गते हो । 

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मंगलबार ल्याउने तयारी गरेको छ । महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा बजेट तर्जुमा तथा राजश्व दर पुनरावलोकनको सबै तयारी सकिएको छ । महानगरपालिकाले गत वर्षको तुलनामा बजेटको आकार केही बढाउने तयारी गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा विराटनगरले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।आगामी आर्थिक वर्षमा भने महानगरले झन्डै ४ अर्ब हाराहारीमा बजेट ल्याउने गरी छलफल गरिरहेको जनाइएको छ । महानगरपालिकाले बजेटका सम्बन्धमा सोमबार कार्यपालिका बैठक बसेको छ । उक्त बैठकले मंगलबार बिहान ११ बजे आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ । 

बजेटको आकार चालु वर्षको तुलनामा केही बढ्न सक्ने उपप्रमुख शिल्पा निराला कार्कीले सङ्केत गरेकी छन् । उनले भनिन्, ‘बजेटको आकार गत वर्षको भन्दा केही बढ्न सक्छ तर अङ्कको बारेमा भने अहिले सार्वजनिक गर्न मिलेन ।’ महानगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा केही नयाँ सुरुवात गर्ने जनाएको छ । नमुना विद्यालयहरूको बारेमा केही फरक स्वरूप र मापदण्ड बनाउने गरी बजेटको तयारी अन्तिम चरणमा पुगेको कार्कीले बताइन् । बजेटको मुख्य प्राथमिकता भने भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य नै हुने जनाएको छ । 

विराटनगर महानगरपालिकाले आगामी वर्ष बजेटको आकार बढाउने तयारी गरिरहेको भए पनि चालु वर्षमै लक्ष्य अनुसार आम्दानी भने गर्न नसकेको पाइएको छ । एक अर्ब १० करोड रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको महानगरपालिकाले आर्थिक वर्ष सकिन २१ दिन (तीन साता) मात्र बाँकी रहँदासम्म ४७ करोड ५० लाख रुपियाँ आम्दानी गरेको छ । यो अनुमानित आन्तरिक आयको ४३.५७ प्रतिशत मात्र हो ।

वर्षको अन्तिमसम्म पुग्दा ५० प्रतिशत अर्थात ५५ करोड रुपैयाँ आम्दानी गर्न सकिने अनुमान गरेर महानगरले बजेट बनाइरहेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, राजश्व बाँडफाँडबापतको रकम, विशेष अनुदान र सशर्त अनुदान सबैतिर लक्ष्यको तुलनामा कम आम्दानी गरेको छ । त्यससँगै  महानगरको आन्तरिक आम्दानी पनि ५० प्रतिशत भन्दा बढी सङ्कलन हुने अवस्था छैन । महानगरपालिकाको चालु खर्च झन्डै ८० करोड रुपैयाँ हाराहारी रहेको छ । 

उता सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको लागि मंगलबार नै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि सोमबार दिउँसो कार्यपालिकाको बैठक बसेको छ । विगतका बजेटको लक्ष्य अनुसार आम्दानी नहुँदा भुक्तानी दायित्व थाम्नै नसक्ने अवस्थामा पुगेको इटहरी उपमहानगरपालिकाले नयाँ कार्यक्रम थप्न नसक्ने जानकारहरू बताउँछन् ।

चालू आर्थिक वर्षका लागि इटहरी उपमहानगरपालिकाले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । उक्त रकममध्ये आन्तरिक स्रोतबाट ९६ करोड आम्दानी हुने अनुमान गरिएको थियो ।

अन्य बजेट सङ्घीय सरकार र प्रदेश सरकारको चालू र पूँजीगत अनुदान, समानीकरण, समपूरक अनुदान र नगद मौज्दातबाट व्यहोर्ने उल्लेख थियो । जसबाट चालू खर्चका लागि १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार, वित्तीय व्यवस्था अन्तर्गत ९० लाख र पुँजिगत खर्च २ अर्ब १५ करोड ६० लाख १३ हजार रुपैयाँ विनियोजन भएको थियो । उक्त लक्ष्यको तुलनामा आन्तरिक आम्दानी लक्ष्यको ५० प्रतिशत पनि पुग्न सकेको छैन । यस पटक चालू आर्थिक वर्षको भन्दा बजेटको आकार नबढ्ने बरु घट्ने सो पालिकाले जनाएको छ । 

उता, स्वतन्त्र हैसियतमा निर्वाचन जितेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भने बजेट आउने भएपनि कुन मितिमा आउने भन्ने विषय स्पष्ट खुलाउन सकेका छैनन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले बजेट आउने र कसैले पनि रोक्न नसक्ने बताएका छन् । ‘धेरैले सोचिरा र सोधिरा होला बजेट बनेन भने के हुन्छ ? जसरी पनि बजेट बन्छ ! जनताको विकास र सेवा सुविधालाई कसैले रोक्न सक्दैन ! म ल्याउनेछु बजेट जसरी पनि !’ उनले भनेका छन् । 

धरानका उपप्रमुख आइन्द्र विक्रम बेघा र प्रमुख साम्पाङबीच केही समयदेखि विवाद चर्किँदा कार्यपालिका बैठक बस्न पनि सकेको छैन । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौंलागाईले बजेट निर्धारित समयमै आउने नआउने भन्ने विषयमा अन्योल रहेको बताए । ‘भोलीसम्ममा बजेट ल्याउनु पर्ने त हो । तर, अहिलेसम्म कुनै प्रक्रिया सुरु भएको छैन,’ उनले भने, ‘कार्यपालिकाको बैठक बस्ने, बजेट तर्जुमा तथा राजश्व दर पुनरावलोकन गर्ने, बजेटको सीमा निर्धारण गर्ने कुनै पनि काम भएको छैन ।’

धरानले चालू आर्थिक वर्षका लागि एक अर्ब ८९ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमा आन्तरिक राजस्व ९३ करोड ६१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप