चरम द्विविधाको भूराजनीति र दिशाविहीन ट्रम्प
२१औँ शताब्दीको प्रारम्भिक दशकहरूमा विश्व राजनीतिले जुन दिशाहीनता, अन्योल र विभ्रमको अवस्था अनुभव गरिरहेको छ, त्यसको मूल जड २०औँ शताब्दीमा स्थापित भएका दुई प्रभावशाली ज्ञान प्रणालीहरू (उदारवाद र मार्क्सवाद)को विफलता र पतनसँग गाँसिएको छ ।
युरोपियन ज्ञानोदयपछि मानव मुक्ति, स्वतन्त्रता र प्रगतिका नाममा निर्माण गरिएका यी विचारधाराले प्रारम्भमा ठुलो आशा जगाए पनि आज ती आफैँले सिर्जना गरेको पुँजीको लोभ, उपभोगको उन्माद र संसाधनको दोहनका कारण मानव जातिलाई नै अस्तित्वगत संकटमा पुर्याएका छन् ।
उदारवादले खुला बजारको नाममा बहुराष्ट्रिय निगमहरूको सर्वसत्ता निर्माण गर्यो, जसले लोकतान्त्रिक संस्थाहरूको अवमूल्यन मात्र गरेन राष्ट्रिय राज्यहरूको आत्मनिर्णय नै कुण्ठित गर्यो । अर्कोतर्फ मार्क्सवादले वर्ग मुक्तिको नारा दिएर औद्योगिक उत्पादन र श्रमको केन्द्रीकरणलाई प्राथमिकता दिँदा प्रकृतिप्रतिको सम्बन्ध बिगारेको छ । यो दुईवटै ध्रुवीय ज्ञान प्रणालीको असफलताले आज विश्वलाई एक यस्तो मोडमा ल्याइपुर्याएको छ, जहाँ न वर्तमान स्थिर छ न भविष्य स्पष्ट ।
- आज मानव समाज जुन संकटको गहिराइमा फसेको छ, त्यसको समाधान आधुनिक विचारधाराको परिधिभित्र नभएकामा हाल आएर संसार भरका चिन्तक एकमत देखिन्छन् । त्यसको उत्तर संसारभरि छरिएका आदिवासी समाजहरूको जीवन दर्शनमा र सनातन प्रज्ञामा पाइन्छ, जहाँ प्रकृति र मानवको सम्बन्ध सहअस्तित्वमा आधारित छ, जहाँ केवल इन्द्रिय भोग मात्र होइन सन्तुलनको मूल्य बोध हुन्छ र जहाँ ‘वसुधैव कुटुम्बकम्’ भन्ने धारणा सैद्धान्तिक होइन व्यावहारिक जीवनको हिस्सा हो । जब पश्चिमा ज्ञान प्रणालीहरू विफल हुँदै छन्, तब ‘डी–वेस्टनाइज’ एक बौद्धिक विकल्प होइन व्यावहारिक आवश्यकता बन्दै गएको छ ।
पछिल्लो दशकमा पश्चिमा शक्ति केन्द्रहरू विखण्डनको प्रक्रियामा प्रवेश गरिरहेका छन् । बेलायतको ब्रेक्जिटले युरोपेली एकताको सम्भावना नै प्रश्न चिह्नमा राखिदिएको छ । फ्रान्स, जर्मनी लगायत देशमा बढ्दो आन्तरिक ध्रुवीकरण र अतिवादको पुनरुत्थानले पश्चिमी लोकतन्त्रको सुदृढतामा गम्भीर आघात पुर्याएको छ । अमेरिकामा त स्थिति झन् विचलित छ, जहाँ जनसंख्या विभाजित, व्यवस्था अस्थिर र नेतृत्व दिशाहीन छ । यिनै अवस्थाबिच शक्ति सन्तुलन क्रमशः पूर्वतर्फ सर्दै गएको छ, जहाँ चीन र भारतले विश्व प्रणालीमा वैकल्पिक गहिरो उपस्थितिको दावा गर्न थालेका छन् ।
चीनले बीआरआईमार्फत विश्वमा आफ्नो रणनीतिक प्रभुत्व विस्तार गरिरहेको छ भने भारत डिजिटल आत्मनिर्भरता, रक्षा क्षमताको सुदृढीकरण तथा वैचारिक नेतृत्वद्वारा एक नयाँ ग्लोबल साउथको प्रवक्ता बन्दै छ । यी दुई मुलुकहरू न केवल अर्थतन्त्रमा वृद्धि गर्दै छन् बरु सभ्यतागत पुनरुत्थानको आधारमा विश्व शक्तिको पुनर्संरचना पनि गरिरहेका छन् । यस्तो संक्रमणकाल भने शान्त हुँदैन । शक्ति प्रतिस्थापनको यो फेजमा युक्रेन र मध्यपूर्वजस्ता क्षेत्रहरू द्वन्द्वको केन्द्र बनेका छन् । युक्रेन युद्धले नेटोको सीमा मात्र देखाएको छैन यो पश्चिमी सैन्य रणनीतिक योजना विफलताको द्योतक पनि हो । गाजा–इजरायल युद्ध, इरानमाथिको अमेरिकी आक्रमण, हुथी विद्रोहको सन्दर्भ— यी सबै परिवर्तनशील विश्व संरचनामा हुने अनिवार्य झट्का हुन् ।
आज मानव समाज जुन संकटको गहिराइमा फसेको छ, यसको जवाफ संसारभरि छरिएका आदिवासी समाजहरूको जीवन दर्शनमा र सनातन प्रज्ञामा पाइन्छ, जहाँ प्रकृति र मानवको सम्बन्ध सहअस्तित्वमा आधारित छ, जहाँ केवल इन्द्रिय भोग मात्र होइन सन्तुलनको मूल्य बोध हुन्छ
यसै परिवेशमा डोनाल्ड ट्रम्पको अमेरिकी राजनीतिमा पुनः आगमन गम्भीर चिन्ता र आलोचनाको विषय बनेको छ । ट्रम्पले ‘अमेरिका फर्स्ट’को नारा दिएर आत्मनिर्भरताको आशा जगाए पनि उनको कार्यकाल कूटनीतिक गम्भीरता होइन लफ्फाजी, आत्मकेन्द्रित र अस्थिरतामा बित्ने देखिन्छ । मध्यपूर्वबाट सेना फिर्ता गर्ने घोषणा गर्दै इरानमाथि प्रत्यक्ष हमला गर्नु, युक्रेन संकटमा स्पष्ट नीति नबनाउनु, जलवायु संकटजस्ता गम्भीर विषयमा वैज्ञानिक सुझावको अवज्ञा गर्नु— यी सबै कदमले अमेरिकाको आन्तरिक नीति र वैदेशिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याएका छन् ।
उनले भनेजस्तै अमेरिकी अर्थतन्त्रलाई पुनर्जीवन दिने कुनै ठोस योजना पहिलो कार्यकालमा कार्यान्वयन भएन बरु त्यस अवधिमा आन्तरिक विभाजन, जातीय द्वन्द्व र संस्थागत संकट झनै गहिरियो । अमेरिकी संस्थापकहरूको ट्रम्पप्रति कुनै स्पष्ट र एकीकृत समर्थन छैन बरु समर्थन र विरोधको गहिरो विभाजन चर्किएको छ । अन्तर्राष्ट्रिय सन्दर्भमा त उनीप्रति विश्वासको स्तर पहिलेभन्दा झन् कमजोर छ । ट्रम्पको पुनरागमनलाई सम्भावित भयको रूपमा हेरिएको छ । यो नवउदारवादी संकटबाट ग्रसित अमेरिकी व्यवस्थाको अर्को चरणको विघटनको संकेत हुन सक्नेछ ।
यस सन्दर्भमा केही विद्वान्को विश्लेषण अत्यन्त सान्दर्भिक देखिन्छ । अमेरिकाको विदेश नीति अब केवल शक्ति प्रदर्शनको थलो बनेको छ, जसमा न दर्शन छ न त दीर्घकालीन सोच । अमेरिकाको युद्धमुखी नीति, कूटनीतिक अहंकार र रणनीतिक अज्ञानताले विश्व समुदायलाई बारम्बार संकटतर्फ धकेलेको छ । प्रोफेसर हन्टिङ्टनले दिएको चेतावनी पनि आज सत्यसिद्ध भइरहेको छ । त्यो चेतावनीलाई अन्धो सभ्यतागत पक्षपातबाट होइन परस्पर–सम्मान र संवादबाट समाधान खोज्नुपर्छ । हन्टिङ्टनले गैरपश्चिमी सभ्यतालाई खतराको रूपमा देखे भने आज ती सभ्यता नै समन्वयको आधार बन्ने सम्भावनामा उभिएका छन् ।
यस समग्र पृष्ठभूमिमा एउटा कुरा प्रस्ट देखिन्छ— अबको युग पश्चिमको होइन एसियाको हुनेछ । विशेषतः भारत र चीन अग्रणी बन्नेछन् । भारतले सनातन मूल्यहरूलाई आधुनिक शासन र विज्ञानसँग जोड्ने कोसिस गरिरहेको छ भने चीनले रणनीतिक स्थिरता, केन्द्रीकृत योजना र प्रविधिमा निर्भर आत्मबलद्वारा अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको छ ।
विश्व अब बहुध्रुवीय हुन लागिरहेको छ, जहाँ पश्चिमी एकाधिकार समाप्त हुनेछ र नयाँ ग्लोबल अर्डरको निर्माण भारत–चीनजस्ता सभ्यतागत राष्ट्रहरूद्वारा हुनेछ । ट्रम्पजस्ता दिशाहीन, लफ्फाजीपूर्ण नेताहरूले यो प्रक्रियालाई रोक्ने नभई झन् तेज बनाउँदै छन् । आजको द्विविधा, अन्योल र द्वन्द्वको अन्त्य त्यतिखेर मात्र सम्भव हुनेछ जब एसियाले नेतृत्वको मोर्चा सम्हाल्नेछ । यो केवल एक भूराजनीतिक शक्ति सिफ्ट मात्र होइन यो एक सभ्यतागत र राज्यविहीन राष्ट्रहरूको पुनरुत्थान हो, जहाँ पृथ्वी, प्रकृति र परम्पराको सन्तुलनमा आधारित विश्वको पुनः कथन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण