बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरेन्द्रनगरले ल्यायो ४ अर्ब ३८ करोडको बजेट, भेरीको पानीदेखि नगर बससम्मका योजना

मङ्गलबार, १० असार २०८२, १६ : ४८
मङ्गलबार, १० असार २०८२

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ३८ करोड २७ लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार सम्पन्न नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख निलकण्ठ खनालले उक्त बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आर्थिक वर्षको भन्दा ७९ करोड ९ लाख १५ हजार रुपैयाँले बढी हो । 

नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५९ करोड १८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

कुल बजेटमध्ये चालूतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार (३६.३७ प्रतिशत) र पूँजीगततर्फ २ अर्ब ७८ करोड ८४ लाख ८५ हजार (६३.६३ प्रतिशत) विनियोजन गरिएको खनालले बताए ।

आगामी आर्थिक वर्षको बजेट व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिका सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा सबैभन्दा बढी निर्भर छ । कुल बजेटको खर्च व्यहोर्न सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त अनुदान र राजस्व बाँडफाँड गरी कुल २ अर्ब ६४ करोड ८९ लाख ९३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी, प्रदेश सरकारबाट समानीकरण र सशर्त अनुदानमार्फत ४० करोड ९५ लाख ८९ हजार रुपैयाँ स्रोत जुटाइने छ । नगरपालिकाले आन्तरिक आयबाट ५१ करोड ६३ लाख ५० हजार सङ्कलन गर्ने लक्ष्य लिएको छ भने चालु आर्थिक वर्षबाट ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ बैंक मौज्दात सर्ने अनुमान छ ।

यसका साथै, सामाजिक सुरक्षा भत्ताका लागि ४० करोड रुपैयाँ छुट्टै अनुदान प्राप्त हुनेछ ।

‘बजेटले ‘शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर’ को सोचलाई साकार पार्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘वीरेन्द्रनगरलाई व्यवस्थित राजधानीका रूपमा विकास गर्न पूर्वाधार निर्माण, खानेपानी, सहरी सौन्दर्य र सार्वजनिक यातायातलाई प्राथमिकतामा राखिएको छ ।’

मुख्य कार्यक्रम तथा प्राथमिकताहरू

नगर उपप्रमुख खनालका अनुसार उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लागि सङ्घीय र प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइएको भेरी पम्पिङ आयोजनाका लागि ११ करोड ६० लाख रुपैयाँ म्याचिङ फन्ड छुट्याइएको छ ।

सहरी पूर्वाधार र सौन्दर्यतर्फ राजधानी केन्द्रित पूर्वाधारहरू जस्तै ट्राफिक लाइट, रोड मार्किङ, फुटपाथ व्यवस्थापन, सीसी क्यामरा र हाईमास्ट लाइट जडानका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै, घण्टाघर पार्क लगायत अन्य पार्क निर्माण र क्रमागत आयोजनाका लागि २२ करोड ३४ लाख बजेट राखिएको छ ।

नगरको यातायातलाई सर्वसुलभ बनाउन नगर बस खरिद गरी सञ्चालन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

प्रत्येक वडामा कम्तीमा एउटा ५० लाखभन्दा ठुलो ‘नगर गौरवको पूर्वाधार आयोजना’ सञ्चालन गरिनेछ, जसका लागि १९ करोड २८ लाख रुपैयाँ वडास्तरमा पठाइने  पनि उनको भनाइ छ । 

राजस्व लक्ष्य

आगामी आर्थिक वर्षमा करको दायरा विस्तार गरी ५१ करोड ६३ लाख ५० हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । कर सङ्कलनलाई प्रभावकारी बनाउन टोल विकास संस्था र निजी क्षेत्रसँग सहकार्य गरिने उपप्रमुख खनालले बताए ।

बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि ४० करोड र विकास साझेदारबाट प्रस्तावित ४० करोड बराबरका कार्यक्रमलाई पनि स्वीकृतिका लागि पेस गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप