बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजस्व अनुसन्धानबाट बिदा भए चण्डी घिमिरे

१० महिने कार्यकालमा विभागको छवि सुधारेको दाबी
शुक्रबार, १३ असार २०८२, १६ : १८
शुक्रबार, १३ असार २०८२

काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी घिमिरेले अवकाश पाएका छन् । शनिबार ५८ वर्षे उमेरहद पूरा गर्दै उनले अनिवार्य अवकाश पाउन लागेका हुन् । शनिबार उमेरहद पूरा हुने भए पनि सो दिन सार्वजनिक बिदा परेपछि आजै (शुक्रबार) उनी बिदा भएका हुन् । 

निजामती सेवामा ४० वर्ष बिताएका घिमिरेले अन्तिम पदस्थापन स्वरुप विभागमा १० महिना ४ दिन काम गरे । गत भदौ ७ गते सरकारले उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको थियो । 

शुक्रबार बिदाइ हुनुअघि घिमिरेले विभागमा रहँदा गरेका कामको फेहरिस्त सार्वजनिक गरे । यो अवधिमा राजस्व चुहावटतर्फ १६० जना प्रतिवादीविरुद्ध ४८ वटा अभियोगपत्र दायर भएको उनले जानकारी दिए । उनीहरूविरुद्ध २ अर्ब ५९ करोड बिगो र सोही बराबरको जरिवाना गरी ५ अर्ब १८ करोड रुपैयाँ बराबरको मागदाबी गरिएको विभागले जनाएको छ । 

यसमध्ये भन्सार चोरी पैठारी तथा गलत रूपमा भन्सारबाट जाँचपास भएका सामानका आयातकर्ता तथा ट्रान्सपोर्ट कम्पनीको निरीक्षण गरी राजस्व चुहावट भएको ठहर गर्दै १ अर्ब १६ करोड धरौटी माग गरिएको छ । त्यस्तै ५५ करोड १८ लाख रुपैयाँ आन्तरिक राजस्व विभाग तथा भन्सार विभागमा राजस्व असुल गर्न लेखी पठाइएको उल्लेख गरिएको छ । 

विदेशी विनियम अपचलनतर्फ यो अवधिमा १६१ जना प्रतिवादीउपर ११७ वटा मुद्दा दायर गरी बिगो रकम १ अर्ब २६ करोड तथा यसको तेब्बर जरिवानासहित ५ अर्बभन्दा बढीको मागदाबी गरिएको जनाइएको छ ।

यसमध्ये विकल्प पौडेलको ६१ करोड रुपैयाँ बराबरको मुद्दाका साथै सर्वाधिक चर्चामा रहेको ‘ट्रकमा हालेर चीन लैजाँदै गरेको अवस्थामा टोखामा समातिएको २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा’ लगायत छन् । 

त्यस्तै, विभागको जिम्मेवारी अन्तर्गत रहेको भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) अन्तर्गत यो अवधिमा १६६० वटा फर्म तथा कम्पनी उपर कारबाही गरी ४ करोड ४४ लाख रुपैयाँ जरिवाना गरिएको जनाइएको छ । 

करछली गर्न नयाँ–नयाँ शैली

विभागका अनुसार पछिल्लो समय कर छली गर्ने नयाँ–नयाँ माध्यम र शैली प्रयोग गरेको पाइएको छ । यो अवधिमा भएको अनुसन्धान तथा अभियोजनमध्ये कुरियर सेवा, भेप, जुत्ता चप्पल, फल्स च्याम्बर बनाउने मात्रै नभएर चकलेटको तौल कम गर्ने, ड्राइपोर्टको कन्दरामा लुकाएर थाहै नदिइ ट्रकमा लोड गर्ने, मात्रा र मूल्य फरक–फरक गर्ने लगायतका विभिन्न शैली प्रयोग भएको पाइएको उनको भनाइ छ । 

विभागले यो अवधिमा दायर गरेको मुद्दाको मागदाबीमध्ये सबैभन्दा धेरै कुरियर सेवामा भएको कर छली रहेको छ । यस अन्तर्गत अष्ट्रेलियामा सर्भर राखेर नेपालका कर छली गरेको आरोपमा नेपाल क्यान मुभ प्रालिविरुद्ध १ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको मागदाबी कायम गरिएको छ । 

त्यस्तै, सुनचाँदीको अवैध कारोबार गरी कर छली गरेका अभियोगमा १८ वटा मुद्दा दर्ता गरिएको छ । उक्त मुद्दामा ४७ जनाविरुद्ध कुल १ अर्ब ३३ करोड ९६ लाख बराबरको मागदाबी गरिएको विभागको तथ्याङ्क छ ।  

नक्कली बिलतर्फ ३ वटा मुद्दामा तीन कम्पनीलाई १ अर्ब २८ करोड १२ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दायर गरिएको छ । कपडासम्बन्धी व्यवसायमा कर छलीको अभियोगमा ७ वटा मुद्दामा ४० जनाविरुद्ध ५७ करोड ६० लाखको मुद्दा दायर गरिएको छ । यो अवधिमा पहिलोपटक सिन्धुली लगायतका जिल्लामा विभाग पुगेर राजस्व छलीमाथि अनुसन्धान गरिएको महानिर्देशक घिमिरेको दाबी छ । 

त्यस्तै, विद्युतीय चुरोट (भेप) को अवैध कारोबारमा ४ वटा मुद्दा दायर गरी १९ जनाविरुद्ध २४ करोड ८० लाख रुपैयाँ बराबरको मागदाबी गरिएको छ । यसमा थप अनुसन्धानबाट अन्य निवेदनसमेत गएको भन्दै यसमा अनुसन्धान गरी अभियोजन गर्न लागिएको उनले जानकारी दिए । 

जुत्ताको कारोबारमा एउटा मुद्दामा तीन जनाविरुद्ध १० करोड ८२ लाख रुपैयाँ बराबरको बिगोसहित मुद्दा दायर गरिएको छ । रसुवा भन्सारबाट सिरक र सुटकेश भनेर पास भएर आएको सामान जाँच गरेर हेर्दा ३२०० जोर जुत्ता भेटिएको थियो ।

यो मुद्दामा विभागले गरेको सबै मागदाबीलाई उच्च अदालतले हुबहु सदर गरेको थियो । यो विभागको एउटा ठुलो उपलब्धि भएको महानिर्देशक घिमिरे बताउँछन् । ‘यो मेरै कार्यकालमा मुद्दामा अनुसन्धान भयो, अभियोजन भयो र फैसला पनि आयो,’ उनले भने ।

भारतीय यात्री बसमा फल्स बटम बनाएर औषधि ल्याएर राजस्व छली गरेको अभियोगमा एउटा मुद्दामा ५ जनाविरुद्ध ५ करोड ८ लाख रुपैयाँ बराबरको तथा अन्य १२ वटा मुद्दामा ३५ जनाविरुद्ध कुल २१ करोड ७६ लाख रुपैयाँ बराबरको मुद्दा दायर भएको महानिर्देशक घिमिरेको भनाइ छ । यसको रकम सानो भए पनि यसले अन्य यात्रुवाहक सवारी साधनलाई अनुशासित बनाउन सहयोग गरेको उनले बताए ।

‘निर्दोष व्यापारीले मेरो कार्यकालमा दुःख पाएनन्’

महानिर्देशक घिमिरे आफ्नो कार्यकालमा कुनै पनि निर्दोष व्यापारीलाई दुःख नदिएको दाबी गर्छन् । आफू आउँदा विभागको बारेमा अनेक टिकाटिप्पणी रहेको र खारेजीको बहससमेत चलिरहेको भन्दै उनले १० महिनाको कार्यले यसको छवि सुधार भएको दाबी गरे ।

‘त्यो बिचमा हामीले हाम्रा चार वटा कार्यालय र विभागमा एउटा टिम बनायौँ । विभागमा देखिएका कमी कमजोरीलाई कसरी सुधार गर्न सकिन्छ, चोरी पैठारी नियन्त्रण र व्यापक रूपमा भइरहेका राजस्व चुहावटलाई चाहिँ कसरी निस्तेज पार्ने र विभागप्रतिको दृष्टिकोणमा कसरी परिवर्तन गर्ने भन्नेमा हाम्रो सिङ्गो टिम लाग्यौँ,’ घिमिरेले भने, ‘यसमा हामी केही सफल भयौँ भन्ने पनि लाग्छ । कुनै पनि इमानदार व्यवसायीले मेरो कार्यकालमा राजस्व अनुसन्धान विभागबाट दुःख पाएँ भनेर मैलेचाहिँ सुनेको छैन ।’

अहिलेसम्मको अनुभवले अनलाइन कारोबारमार्फत् हुने कर छलीको सेवा क्षेत्रमै बढी रहेको र विशेषगरी अनलाइन कारोबारमा बढी भएको महानिर्देशक घिमिरे बताउँछन् । अर्थतन्त्रमा करिब ६३ प्रतिशत जीडीपीमा योगदान पुर्‍याएको सेवा सेक्टर एउटा ठुलो मात्रामा कर फ्रड भएको प्रारम्भिक अनुमान आफ्नो रहेको उनको भनाइ छ ।

यसको नियन्त्रणका लागि राजस्व अनुसन्धान विभागले मात्रै हेरेर सम्भव नहुने भन्दै आन्तरिक राजस्व विभाग नै सक्रिय हुनुपर्नेमा जोड दिए ।

‘त्यहाँ सम्पूर्ण राजस्वकै साथीहरू हुनुहुन्छ, माहिर पनि हुनुहुन्छ । काम पनि गरिरहनुभएको होला । तर यो सेक्टरबाट अलि बढी राजस्व चोरी भइरहेको चाहिँ छ कि भन्ने लाग्छ । बाहिर देखिँदा भाडा तिर्नै धौधौ भएको जस्तो देखिने तर भित्रभित्रै करोडौँको ट्रान्जेक्सन हुने अवस्था छ । यसमा ध्यान दिनुपर्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप