लुम्बिनी प्रदेशमा ५ स्थानीय तहले निर्धारित समयभित्र ल्याउन सकेनन् बजेट
सारांश
- लुम्बिनी प्रदेशका ५ स्थानीय तहले समयमै आगामी आर्थिक वर्षको बजेट पेश गर्न सकेनन्।
- आन्तरिक विवाद र तयारी अभावका कारण रुपन्देही र कपिलवस्तुका स्थानीय तहले बजेट ल्याउन ढिलाइ गरे।
- बजेट नल्याउने स्थानीय तहलाई अनुदान रकम कटौती हुने प्रावधान रहेको छ।
बुटवल । असार १० भित्र स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने प्रावधान रहे पनि लुम्बिनी प्रदेशका ५ स्थानीय तहले भने नियमित समयभित्र बजेट ल्याउन सकेनन् ।
आन्तरिक विवाद र तयारी अपुग भएको भन्दै ती स्थानीय तहले बजेट ल्याउन नसकेको जनाएका छन् । लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहमध्ये १०४ वटाले नियमित समयभित्रै बजेट ल्याएको जिल्ला समन्वय कार्यालयहरूले जनाएका छन् ।
रुपन्देहीका तीन र कपिलवस्तुका दुई स्थानीय तहले बजेट ल्याउन नसकेका हुन् ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मेयर इश्यिक अहमद खाँले कार्यपालिका बैठक समयमा नतोक्दा बजेट आउन नसकेको हो । सिद्धार्थनगर नगरपालिकाले नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्न नसकेको उपमेयर उमा अधिकारीले जानकारी दिइन् ।
सिद्धार्थनगर नगरपालिकाको मेयर नेपाली कांग्रेसबाट र उपमेयर एमालेबाट जितेका हुन् । यद्यपि मेयर र उपमेयरबिच कुनै प्रकारको विवाद नरहेको नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले बताए । मेयरले समयमा बोर्ड बैठक नबोलाउँदा बजेट ल्याउन ढिला भएको उनको भनाइ छ ।
मेयर खाँ र प्रमुख प्रशासकीय अधिकृत जनक थापासँग यसबारे प्रतिक्रिया लिन खोल्दा दुवै जना रातोपाटीको सम्पर्कमा आउन चाहेनन् ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले तयारी अभावको कारण देखाउँदै बजेट प्रस्तुत गर्न सकेको छैन । लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सुरुद्धिन मुसलमानले तयारी नपुगेको कारण ढिलाइ भएको रातोपाटीलाई बताए । तीनचार दिनमै बजेट ल्याइने उनको भनाइ छ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले अहिलेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । पालिका अध्यक्ष र उपाध्यक्षबिचको मतभेदले गर्दा नीति तथा कार्यक्रम र बजेट ल्याउन ढिला भएको बताइएको छ ।
कपिलवस्तु जिल्लाको शुद्धोदन गाउँपालिकाले पनि नियमित समयभित्र बजेट सार्वजनिक गर्न सकेन । यहाँ पनि पालिका अध्यक्ष र उपाध्यक्षबिच मतभेद रहेको बताइएको छ । यो पालिकाको अध्यक्षमा लोसपा नेपालबाट र उपाध्यक्षमा माओवादी पार्टीबाट प्रतिनिधित्व छ ।
कपिलवस्तु जिल्लाकै मायादेवी गाउँपालिकाले पनि बजेट नियमित समयभित्र ल्याउन सकेन । अध्यक्ष वशिउद्दीन मुसलमानले तयारी अपुग भएकाले बजेट आउन नसकेको बताए ।
बजेट समयमा नल्याउने स्थानीय तहलाई समीकरण अनुदान शीर्षकको रकम कटौती गर्ने व्यवस्था छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा सबै स्थानीय तहले असार १० गतेभित्र गाउँ र नगर सभामा बजेट पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण