बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

...जब टिपर अनियन्त्रित भएर घरभित्र पस्यो

घर ध्वस्त हुँदा घरभित्र बसेका ५ जना घाइते
शनिबार, १४ असार २०८२, १३ : ०१
शनिबार, १४ असार २०८२

सारांश

  • दैलेखको आठबिस नगरपालिकामा अनियन्त्रित टिपर घरभित्र पस्दा एकै परिवारका चार जनासहित पाँच जना घाइते भएका छन्।
  • टिपर दुर्घटनापछि चालक फरार भएका छन्, भने घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
  • दुर्घटनामा घर पूर्ण रूपमा भत्किएको छ र प्रहरीले फरार चालकको खोजी गरिरहेको छ।

सुर्खेत । दैलेखको आठबिस नगरपालिका–१, पाप्नेखोलामा एक अनियन्त्रित टिपर घरभित्र पस्दा एकै परिवारका चार जनासहित पाँच जना घाइते भएका छन् । दुर्घटनालगत्तै टिपर चालक फरार भएका छन् ।

पश्चिम दैलेखको सात्तलाबाट जम्बुकाँधतर्फ आइरहेको बा २ क ९३६९ नम्बरको टिपर सडक छेउमा रहेको स्थानीय (२७) बाले विकको ढुङ्गाले बनेको दुई कोठे घरमा पसेको थियो । टिपरको ठक्करबाट घर पूर्णरुपमा भत्किएको छ भने घरभित्र रहेका व्यक्तिहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार घाइते हुनेहरूमा घरधनी २७ वर्षीय बाले विक, उनकी २५ वर्षीया श्रीमती मनसरा विक, ६ वर्षीय छोरा रोशन विक र १८ महिनाका छोरा नवीन विक रहेका छन् । त्यस्तै उनीहरूका छिमेकी ५६ वर्षीय जङ्गे कामी पनि घाइते भएको सुनारले बताए ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको सातालास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना गराएर फरार भएका चालक सोही नगरपालिकाको वडा नम्बर २ सिस्नेका हर्कबहादुर शाही रहेको खुलेको छ । ‘उनको खोजी कार्य तीव्र भइरहेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप