मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन

मङ्गलबार, ०५ साउन २०८३, ११ : ४१
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि अस्ट्रेलियाको १३ सदस्यीय टोली घोषणा गरिएको छ, जसमा कप्तान प्याट कमिन्स, जोस हेजलवुड र नेथन लायनको पुनरागमन भएको छ।
  • चोटका कारण बाहिरिएका कमिन्स, हेजलवुड र लायनको पुनरागमनसँगै माइकल नेसर, टोड मर्फी र ब्रेन्डन डगेट वैकल्पिक खेलाडी बनेका छन्।
  • उस्मान ख्वाजाको संन्यासपछि नम्बर ५ को स्थानमा क्यामरुन ग्रिनले ब्याटिङ गर्ने सम्भावना छ भने जोस इङ्ग्लिस वैकल्पिक ब्याटर र विकेटकिपरको भूमिकामा छन्।

सिड्नी । बंगलादेशविरुद्ध अगस्टमा आयोजना हुने दुई खेलको टेस्ट शृङ्खलाका लागि अस्ट्रेलियाको १३ सदस्यीय टोली घोषणा गरिएको छ। 

टोलीमा कप्तान प्याट कमिन्स, जोस हेजलवुड र नेथन लायन पुनरागमन गर्न सफल भएका छन्। गत जनवरीमा सिड्नीमा खेलिएको अन्तिम टेस्टमा यी तीनै खेलाडी चोटका कारण टोलीबाहिर रहेका थिए।

उनीहरूको पुनरागमनसँगै पछिल्ला दुई एसेज टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका माइकल नेसर टोलीबाट बाहिरिएका छन्। नेसरसहित टोड मर्फी र ब्रेन्डन डगेटलाई बंगलादेशविरुद्धको शृङ्खलाका लागि वैकल्पिक खेलाडीको रूपमा राखिएको छ।

मुख्य चयनकर्ता जोर्ज बेलीले कमिन्स, हेजलवुड र लायनको पुनरागमनप्रति खुसी व्यक्त गरेका छन्। बेलीले भनेका छन्, ‘प्याट, जोस र नेथनको पुनरागमनलाई लिएर राष्ट्रिय चयन समिति उत्साहित छ।’ उनीहरूले चोटबाट मुक्त हुन विगत केही महिनामा मेडिकल टोलीसँग कडा मेहनत गरेको उनले बताए।

आगामी ११ महिनामा कम्तीमा २० वटा टेस्ट खेलिने र त्यसपछि इंग्ल्याण्डमा एसेज शृङ्खला हुने भएकाले खेलाडीहरूको कार्यभार व्यवस्थापन महत्त्वपूर्ण हुनेछ। टोलीमा उस्मान ख्वाजाको संन्यासपछि नम्बर ५ को ब्याटिङ स्थान खाली भएको छ। क्यामरुन ग्रिन र ब्यू वेबस्टर टोलीमा रहेकाले ग्रिनले नम्बर ५ मा ब्याटिङ गर्ने सम्भावना छ।

जोस इङ्ग्लिसलाई वैकल्पिक ब्याटर तथा विकेटकिपरका रूपमा टोलीमा समावेश गरिएको छ। ओपनरको रूपमा जेक वेदरल्यान्डले ट्राभिस हेडसँगको साझेदारीलाई निरन्तरता दिनेछन्। मार्नस लाबुसेन र स्टिभ स्मिथ क्रमशः नम्बर ३ र ४ मा ब्याटिङ गर्नेछन्।

तीव्र गतिका बलर स्कट बोल्यान्डले अघिल्ला पाँचै एसेज टेस्ट खेलेका थिए। ३५ वर्षका हेजलवुड र ढाडको चोटबाट फर्किएका कमिन्सको आगमनपछि अन्तिम ११ को छनोट चयनकर्ताहरूका लागि चुनौतीपूर्ण हुनेछ। ३७ वर्षका बोल्यान्डले अहिलेसम्म १९ टेस्टमा ८२ विकेट लिइसकेका छन्।

टोलीमा प्याट कमिन्स (कप्तान), स्कट बोल्यान्ड, एलेक्स केरी, क्यामरुन ग्रिन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इङ्ग्लिस, मार्नस लाबुसेन, नेथन लायन, स्टिभ स्मिथ, मिचेल स्टार्क, जेक वेदरल्यान्ड र ब्यू वेबस्टर रहेका छन्। 

डार्विन र म्याकेमा हुने यी खेलहरूबाट अस्ट्रेलियाको लामो टेस्ट सिजनको सुरुवात हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप