कति बन्यो नारायणगढ–बुटवल सडक ? कहिले सकिन्छ काम ?
सारांश
- नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ।
- सडक विस्तारको म्याद साउन ८ गते सकिँदैछ, तर निर्माण कार्य ६९ प्रतिशत मात्रै पूरा भएको छ।
- यो सडकखण्डको विस्तार एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको छ, र यसको लागत १६ अर्ब ९९ करोड ५२ लाख छ।
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भइरहेको ढिलाइका कारण सास्ती खेपिरहेका सर्वसाधारण तथा यात्रुले तत्काल राहत नपाउने भएका छन् । तेस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिने छ । म्याद सकिनै लाग्दा भौतिक प्रगति जम्मा ६९ प्रतिशतमा सीमित भएपछि सरकारले चौथो पटक म्याद थपको तयारी गरेको छ ।
जसले आयोजनाको अनिश्चितता र नागरिकको हैरानी थप लम्बिने देखिएको छ । ३१ प्रतिशत काम बाँकी नै रहँदा यसकाे म्याद भने तीन साता मात्रै बाँकी छ । यो अवधिमा निर्माण सम्पन्न नहुने भएपछि चौथो पटक म्याद थप गर्ने तयारी भइरहेको आयोजनाले जनाएको छ ।
‘देशकै लाइफ लाइन’ सडकका रूपमा रहेको यसको २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । २०७९ साउन २२ भित्र सम्पन्न गर्ने सम्झौतासहित चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले यस सडककाे ठेक्का लिएको थियो । तर पहिलो म्यादभित्र निर्माण सम्पन्न हुन सकेन ।
कोरोना संक्रमण, निर्माण सामग्री अभावको कारण देखाएर निर्माण कम्पनी पन्छिन खोज्यो । सो अवधिमा विस्तार कार्य सम्पन्न हुन नसकेपछि २०८० साउन ११ गतेसम्मका लागि पहिलो म्याद थप गरिएको थियो । पहिलो पटक थपिएको म्यादमा पनि सम्पन्न हुन नसकेपछि दोस्रो पटक २०८१ साउन ८ सम्म म्याद थप गरियो । दोस्रो म्यादमा पनि काम सम्पन्न नभएपछि तेस्रो पटक २०८२ साउन ८ गतेसम्मका लागि थप भएको थियो ।
तर यो म्यादभित्र पनि निर्माण सम्पन्न नहुने देखिएको छ ।
यो नारायणगढ–बुटवल १ सय १४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाख लागतमा यो सडक खण्डको विस्तार भइरहेको छ । एक सय १४ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटर चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा भने १४ किलोमिटर तीन लेनको सडक हुने भनिएको छ ।
पूर्वी खण्डमा कति प्रगति ?
नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर नारायणगढ–बुटवल सडकको पूर्वी खण्ड हो । सात वर्षअघि विस्तार कार्य सुरु भएको पूर्वी खण्ड विस्तार कार्य हालसम्म करिब ७० प्रतिशत सम्पन्न भएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।
साथै म्याद थपका लागि छलफलको चरणमा रहेको खनालको भनाइ छ । ‘यसको अन्तिम म्याद साउन ८ गतेसम्म हो । यो अवधिमा सकिने सम्भावना न्यून छ । अर्को म्याद थप गर्ने प्रक्रियामा छ ,’ खनालले भने, ‘थपिन्छ कि थपिँदैन, छलफल हुँदैछ ।’
पश्चिम खण्ड ६८ प्रतिशत प्रगति
नारायणगढ–बुटवल सडकको पश्चिम खण्ड दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर सडक हो । यो सडक करिब ६८ प्रतिशत विस्तार कार्य सकिएको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले जानकारी दिए ।
मिश्रकाअनुसार यस सडक खण्डमा निर्माण गर्नुपर्ने कुल नौ वटा पुलमध्येबाट आठ वटा पुल निर्माण सम्पन्न भएर यातायात नै सञ्चालन भइसक्यो । एउटाको डेक स्ल्याब बन्न मात्र बाँकी छ ।
‘बुटवलदेखि बर्दघाटसम्म करिब करिब यात्रा सहज भइसकेको छ, गाह्रो भनेको त दाउन्ने सेक्सन हो,’ आयोजना प्रमुख मिश्रले भने, ‘दाउन्ने सेक्सनमा अहिले मर्मत गरेर यात्रा सहज पार्ने प्रयास गरिएको छ ।
मिश्रका अनुसार दाउन्ने खण्ड कुल १४ किलोमिटर छ । यसमध्ये चार किलोमिटर पूर्वी खण्डमा र बाँकी १० किलोमिटर पश्चिमी खण्डमा पर्छ । पश्चिमी खण्डमा पर्ने सडकमध्ये खुर्सानी खोलासम्म ७२ मिटर कालोपत्र भइसकेको छ । करिब अर्को ५०० मिटर अर्को रिजिड पेमेन्ट पनि भइसकेको छ । र अरू बाँकी ठाउँमा ग्राभेलहरू गरेर यातायात सहज नै हुने गरी मर्मत गरिएको उनको भनाइ छ ।
तर सरकारले तोकेको म्यादभित्र सम्पन्न नहुने उनी बताउँछन् । 'म्यादभित्र सकिँदैन । अब म्याद सकिन १५ दिन बाँकी छ । अब १५ दिनभित्र योजना सम्पन्न हुन्छ भनेर अपेक्षा गर्ने कुरा हुँदैन,’ मिश्रे भने, ‘करिब ७० प्रतिशतको हाराहारीमा काम भएको छ ।' बाँकी ३० प्रतिशत काम १५ दिनभित्र सकिनेमा उनले आशंका व्यक्त गरे ।
साथै म्याद थप गर्ने विषयमा सरकारले निर्णय गरेपछि मात्रै थाहा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण