कांग्रेस बैठकमा किन भएन तीन भ्रातृसंस्थाको महाधिवेशन मिति प्रस्ताव ?
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको महाधिवेशन मंसिर २६-२८ गते गर्ने निर्णय गरेको छ।
- किसान महासंघ, थारु संघ र लोकतान्त्रिक खेलकुद संघले महाधिवेशनको मिति प्रस्ताव गरे, तर नेविसंघ, महिला संघ र दलित संघमा विवाद देखिएको छ।
- नेविसंघ, महिला संघ र दलित संघका नेताहरूबीचको विवादका कारण महाधिवेशनको मिति प्रस्ताव हुन सकेन।
काठमाडौँ । सोमबारदेखि नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा छैटौँ नम्बरको एजेन्डा ‘केही भ्रातृसंस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय’ भनेर राखिएको छ । यो एजेन्डा महामन्त्री गगन थापाले बैठक सुरु हुँदाको दिनमै केन्द्रीय समितिमा प्रस्ताव गरेका थिए ।
‘केही भ्रातृसंस्था’ भन्नाले गत चैत मसान्तसम्म महाधिवेशन सम्पन्न गर्न समयावधि पार्टीले दिएका तर, गर्न नसकेका सात भ्रातृसंस्था हुन् । ती भ्रातृसंस्था तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ हुन् ।
तीमध्ये सोमबार नै केन्द्रीय समितिमा चार भ्रातृसंस्थाका तर्फबाट ती भ्रातृसंस्थालाई हेर्न पार्टीले बनाएको निर्देशन समितिले महाधिवेशनको मिति प्रस्ताव गरेका छन् ।
महामन्त्री थापाले नेपाल किसान महासंघ, थारु संघ, लोकतान्त्रिक खेलकुद संघ र तरुण दलका निर्देशन समितिले महाधिवेशन गर्नका लागि प्रस्ताव गरेको मिति बैठकमा प्रस्तुत गरेका थिए ।
महामन्त्री थापाले पार्टीमा किसान महासंघले भदौ ३ गते, थारु संघले असोज २५ गते, लोकतान्त्रिक खेलकुद संघले भदौ २०–२१ र तरुण दलले मंसिर २६–२८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव निर्देशन समितिमार्फत प्रस्तुत गरेका थिए ।
प्रस्तावित मिति अनुरूप नै बुधबारको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तरुण दलको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ नेतृत्वको निर्देशन समितिलाई दिने निर्णय गरेको छ । बैठकपछि केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल तरुण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरूप २०८२ मंसिर २६–२८ मा अनिवार्य सम्पन्न गर्ने गरी त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवं तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरुण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय गरेको छ । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।’
सातमध्ये तीन भ्रातृसंस्थाको महाधिवेशनको मिति निर्देशन समितिले पार्टीलाई प्रस्ताव पनि गरेको छैन । पार्टीमा प्रस्ताव नभएपछि महामन्त्री थापाले बैठकमा प्रस्तुत पनि गरेका छैनन् । महाधिवेशनको मिति प्रस्ताव नहुने भ्रातृसंस्थामा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ र नेपाल दलित संघ छन् ।
नेविसंघको निर्देशन समितिका संयोजक सहमहामन्त्री किशोरसिंह राठोर र तदर्थ समितिका अध्यक्ष दुजाङ शेर्पाबिच विवाद छ । उनीहरूबिच स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका तर्फबाट उम्मेदवार चयन गर्ने विषयमा विवाद भएको थियो ।
त्यसपछि उनीहरूबिच भेटघाट नै नभएको नेताहरू बताउँछन् । सभापति शेरबहादुर देउवाले नेविसंघबारे छलफल गर्न असार २ गते बोलाएको बैठकमा पनि निर्देशन समितिका सदस्य र तदर्थ समितिका अध्यक्ष शेर्पा आए पनि संयोजक राठोर आएका थिएनन् ।
दलित संघका निर्देशन समितिका संयोजक सहमहामन्त्री जीवन परियार र तदर्थ समितिका संयोजक लोकबहादुर विश्वकर्माबिच विवाद चरमोत्कर्षमा पुगेको छ । अध्यक्ष विश्वकर्मा आफूले बोलाएको बैठकमा नआएको भन्दै सहमहामन्त्री परियारले कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवासँगै गुनासो गरेका थिए ।
महिला संघमा निर्देशन समितिका संयोजक पार्टी प्रवक्ता डा. प्रकाशशरण महत र तदर्थ समितिका अध्यक्ष उषा राउतले एकलौटी गरेको भन्दै तदर्थ समितिका दुई दर्जन सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
यी विषयका विवाद नमिल्दा निर्देशन समितिले महाधिवेशनको मिति प्रस्ताव गर्न नसकेको र पार्टी बैठकमा पेस नभएको नेताहरू बताउँछन् ।
पार्टी पदाधिकारी बैठकमा अन्तिम पटक निर्देशन समितिमार्फत महाधिवेशनको मिति पेस गर्ने, त्यो मितिमा महाधिवेशन गर्न नसके स्वतः भङ्ग गर्ने सहमति बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण