नन्ग्रेडेड एसईई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई उपप्रमुख डंगोलको आग्रह
सारांश
- काठमाडौँ महानगरपालिकाले एसईई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ।
- उपप्रमुख सुनिता डङ्गोलले नन्ग्रेडेड नतिजा भएका विद्यालयका प्रमुखहरूसँग छलफल गरेकी थिइन्।
- परीक्षामा सहभागी विद्यार्थीमध्ये ९५६ जनाले पुनः परीक्षा दिनुपर्ने भएको छ, तर उच्च जीपीए ल्याउनेको संख्या बढेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नन्ग्रेडेड माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई नन्ग्रेडेड एसईई नतिजाको कारण खोज्न सम्बन्ध भएका विद्यालयका प्रमुखलाई आग्रह गरेकी हुन् ।
गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नन्ग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
‘यसकारण नेतृत्वको खोजी भएको हो’ उनले भनिन्, ‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नन्ग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’
छलफलमा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसईईको नतिजा राम्रो नभएको धारणा राखे ।
छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाए । उनीहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गरे ।
वि.सं. २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कामपाबाट ५८ वटा सामुदायिक विद्यालयबाट चार हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (नन्ग्रेडेड) ले पुनः परीक्षा दिनुपर्ने भएको छ । उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका छन् ।
यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण