शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य

युवावस्थामै किन बढ्दैछ हृदयाघात ?

सोमबार, २३ असार २०८२, १२ : ००
सोमबार, २३ असार २०८२

काठमाडौँ । शरीरको अति महत्त्वपूर्ण अङ्ग हो मुटु । मुटुविना हामी जीवनको कल्पना पनि गर्न सक्दैनौँ । मुटुले नै शरीरका अङ्ग–अङ्गमा रक्तसञ्चार गर्छ । 

तर यति महत्त्वपूर्ण अङ्गलाई तनावयुक्त अनि व्यस्त जीवनशैलीले निकै ठुलो असर पारेको छ । जसका कारण मुटुरोगीहरूको सङ्ख्या विश्वमै डरलाग्दो तरिकाले बढ्दै जान थालेको छ । 

मुटुरोगी त बढे नै, यो रोग लाग्ने उमेर समूहमा पनि परिवर्तन आएको छ । विगतमा मुटुरोग ४० वर्ष कटेपछि लाग्ने रोगका रूपमा चिनिन्थ्यो । तर अहिले युवाहरूमा यसको समस्या विकराल देखिन थालेको मुटुरोग विशेषज्ञ आनन्द जिसी बताउँछन् ।

मुटुले दिनमा एक लाख रगत पम्प गर्छ । र शरीरको हरेक भागमा रगतसँगै अक्सिजन पुर्‍याउने काम गर्छ । यदि मुटु बिरामी भयो भने रक्तसञ्चारमा बाधा पुग्छ, त्यसपछि तत्काल उपचार आवश्यक हुन्छ । 

मुटुको तौल ३ सय देखि ४५० ग्राम सम्म हुन्छ । यो छातीभित्र छातीको बिच भागदेखि थोरै बायाँतिर अवस्थित हुन्छ । मुटुको ४ वटा कक्ष हुन्छ । तल्लो कक्षलाई भेन्ट्रिकल्स भनिन्छ भने माथिल्लो कक्षलाई एट्रिया भनिन्छ । मुटुले शरीरभरि रक्तसञ्चार गराउनुका साथै अक्सिजन आपूर्ति, शरीरबाट विषाक्त पदार्थ कार्बनडाइअक्साइड लगायत फोहोर पदार्थलाई हटाउने काम गर्छ । 

  • कस्तो हुन्छ लक्षण ?

जब मुटुमा तनाव हुन्छ, टाउको झुम्म हुन्छ । त्यस्तो अवस्थामा शरीरमा एउटा विशेष खालको क्याटेकोलामाइन जस्ता हर्मोनहरू रिलिज हुन्छन् । त्यो हर्मोनले मुटुको चाललाई बढाएर गडबड गर्छ । त्यसपछि बीपी (रक्तचाप) बढाउने काम गर्छ । कहिलेकाहीँ मुटुको रक्तसञ्चार नलीहरूमा एक्कासि खुम्चाइदिन्छ र रगत जम्ने प्रक्रियालाई मद्दत गर्छ । जसका कारण हर्टअट्याक अर्थात् हृदयाघात हुन्छ । 

Blue-Human-Chest-Diagram-with-Bright-Red-Heart-Causes-of-Heart-Failure-Graphic

  • जोगिन के गर्ने ?

तनावलाई गहिरो रूपमा लिनु हुँदैन । तनाव कम गर्न नियमित रूपमा ध्यान, योगा गर्न जरुरी छ ।

मद्यपान धूम्रपान सेवन गर्ने, तनाव लिने, कम सुत्ने, कोलेस्ट्रोल, वंशाणुगत, महिनावारी सुकेपछि, पुरुष ४५ वर्ष कटेपछि मुटु समस्या देखिने गरेको थियो । तर पछिल्लो समय अस्वस्थ जीवनशैली, धूम्रपान, मद्यपानको, खानेकुराहरूमा चिल्लो, डीप फ्राइजस्ता अखाद्य वस्तु बढी खाँदा, धेरै समय घरमा बस्दा, कम्प्युटर, मोबाइल चलाउने, धेरै मोटोपनलगायत कारण ४५–५५ उमेर समूहभन्दा माथिका मात्र नभई कम उमेरकामा पनि मुटुरोगको जोखिम बढेको चिकित्सकहरू बताउने गर्छन् । 

पछिल्ला केही समययता अस्पतालहरूमा २०–२१ वर्षका युवाहरू पनि हृदयाघातका कारण भर्ना भएका उदाहरणहरू प्रशस्त भेटिन थालेका छन् । 

हृदयाघात, उच्च रक्तचाप, ब्लड सुगर प्रायः उमेर ढल्केपछि लाग्ने रोगहरू हुन् । तर अहिले भने त्यस्तो रहेन ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयमा कार्डियोलोजी विभागका मोटोपना र कार्डियोमेटाबोलिक अनुसन्धान निर्देशक डा. चियादी न्दुमेलका अनुसार ९० प्रतिशतभन्दा धेरै वयस्कहरू सीकेएम (कार्डियोभास्कुलर, किड्नी र मेटाबोलिक) स्पेक्ट्रम (प्रायः सबै वयस्कहरूसँग यी रोगमध्ये कम्तीमा एउटा जोखिम भइसकेको अवस्था) मा पर्छन् । 

त्यस्तै रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार अमेरिकामा ४२ प्रतिशत वयस्क र २० प्रतिशत बालबालिकामा अत्यधिक मोटोपनाको समस्या छ भने ३ करोड ७० लाख वयस्कमा मधुमेह छ ।   

  • युवामा किन मुटुरोग ?

हृदयाघात, उच्च रक्तचाप, ब्लड सुगर प्रायः उमेर ढल्केपछि लाग्ने रोगहरू हुन् । तर अहिले भने त्यस्तो रहेन । २०–२१ वर्षका युवा नै हर्ट अट्याकको जोखिममा छन् । उनीहरूमा देखिने गरेको बढ्दो चिन्ता र अस्वस्थ जीवनशैली नै यसको कारक देखिएको छ । युवाहरूमा सही जीवनशैली नहुनु, कुलतमा फस्नु पनि कारण मानिएको छ । 

  • कसरी स्वस्थ राख्ने ?

मुटुलाई स्वस्थ राख्न मुख्यतः योग, ध्यान, शारीरिक व्यायाम आवश्यक पर्छ । यो सबै उमेर समूहले आवश्यकताअनुसार गर्नुपर्छ । धूम्रपान र मदिराजस्ता लत हटाउनुपर्छ । निन्द्रा पुग्ने गरी सुत्नुपर्छ । सलाद, फलफूलहरूको मात्रा बढाउनुपर्छ । यस्तै, नियमित रूपमा स्वास्थ्य जुन कुनै पनि समस्या आएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।    

विश्वभर युवावस्थामै हृदयाघातका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । 
  • हृदयाघातका कारण ज्यान गुमाएका ४० वर्षमुनिका पछिल्ला पाँच घटना 

४० वर्ष मुनिका विश्वका थुप्रै चर्चित व्यक्तिहरूले असामयिक रूपमा हृदयाघातकै कारण ज्यान गुमाइसकेका छन् । 

तीमध्ये २०२४ को जुलाईयता मात्र ४० वर्ष मुनिका पाँच चर्चित युवाले हृदयाघातकै कारण अल्पायुमै जीवन त्यागे । जसमा ३० वर्षीय अमेरिकी टेलिभिजन अभिनेता माइक हेस्लिन छन् । जुलाई २०२४ मा आकस्मिक हृदयाघातका कारण उनको निधन भयो । 

त्यस्तै, अस्ट्रेलियाली फिटनेस इन्फ्लुएन्सर ज्याक्सन टिपेट पनि ३० वर्षकै उमेरमा टर्की भ्रमणका क्रममा नोभेम्बर २०२४ मा हृदयाघातकै कारण बिते । यस्तै ब्राजिलका २८ वर्षीय फिटनेस इन्फुएन्सर जोसे माटेउस कोरेइया सिल्भा पनि व्यायामशालामै कसरत गर्दागर्दै हृदयाघातबाट मृत्युवरण गर्न बाध्य भए । 

यसैगरी २६ वर्षीया केन्याली विद्यार्थी म्याडलिन जेरुटोको अस्ट्रेलियाको अडेलाइडमा अध्ययनका क्रममा हृदयाघातका कारण सन् २०२५ को जुनमा मृत्यु भयो ।

त्यस्तै डोमिनिकन गणराज्यका पूर्वबेसबल खेलाडी तथा एटलान्टा ब्रेभ्स टोलीका पिचर वान जाइम पनि सन् २०२४ को डिसेम्बरमा ३७ वर्षको कलिलो उमेरमै बिते । 

यी घटनाहरूले देखाउँछ– विश्वभर युवावस्थामै हृदयाघातका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप